सप्तमीबजारमा एनसेलको टावर छेउमा सकेट बम फेला, सेनाद्वारा निश्क्रिय



पाँचथर, ८ वैशाक ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमीबजारमा एनसेलको टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निश्क्रिय पारेको छ ।

हिँजो साँझ सप्तमीबजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खवर गरेका थिए ।

आज विहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिम स्थित रणशेर गणको टोलीले पुरानो सकेट बम निश्क्रिय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । खिया लागेको पुरानो सकेट बम त्रास फैलाउने उद्देश्यसहित राखिएको हुनसक्ने प्रनाउ थापाको भनाई छ ।

स्थानीयवासीले सकेट बमसँगै हस्तलिखित पर्चा समेत फेला पारेका छन् । उक्त पर्चामा ‘नेपाल कम्युनिष्ट पार्टी (विद्रोही समूह) लेखिएको छ ।

पर्चामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लेखिनुका साथै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न तथा युवाहरुलाई स्वदेशमै रोजगारीको ब्यवस्था गर्न माग गरिएको छ । खिया लागेको पुरानो सकेट बम फेला पर्नुले सशस्त्र द्वन्द्वमा सम्लग्नहरुबाटै उक्त बम राखिएको हुनसक्ने स्थानीयवासीले आशङ्का गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्