पाँचथरमा वाङमय सङ्गोष्ठि, पाँच कृति विमोचन (तस्वीरहरु सहित)



पाँचथर, ७ वैशाक
फिदिममा ‘पाँचथर वाङमय सङ्गोष्ठि–२०७८’ सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र नौलो साहित्यिक विहान समाज पाँचथरको आयोजनामा सुरु भएको सङ्गोष्ठिमा तीन वटा कार्यपत्रमा छलफल भएको छ । सङ्गोष्ठि लक्षामीकुमार शेर्माको ‘किराँत जीवन दर्शन’, मधुराज केरुङको ‘लिम्बू लोक पद्यमा केःसामको परिचय’ र सरस्वती दुमी राईको ‘नेपाली कविताको क्षेत्रमा पाँचथरको योगदान’ शीर्षकमा कार्यपत्रमाथि छलफल भएको हो । यी कार्यपत्रहरु माथि डीक लावती र लालअञ्जान सम्बाहाम्फेले टिप्पणी गर्नुभएको छ ।

प्रतिष्ठानका तर्फबाट दर्शनशास्त्र विभागका प्रमुख एवं सदस्य सचिव जगतप्रसाद उपाध्याय, प्राज्ञ परिषद सदस्य तथा साहित्य पद्य/काब्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल र प्राज्ञ परिषद सदस्य तथा साहित्य विभाग प्रमुख डा. देवी नेपालले टिप्पणी तथा प्रष्तिठानका योजनाबारे धारणा राख्नुभएको थियो ।

टिप्पणी राख्दै प्राज्ञ परिषद सदस्य डा. नेपालले लोकजीवनलाई साहित्यका माध्यमबाट उजागर गर्न नसक्दा पश्चिमा संस्कृति हाबी हुँदै गएको वताउनुभयो । उहाँले नयाँ पुस्तालाई स्थानीय लोकजीवन र संस्कृतिको बोध गराउनु पर्ने तथा सबै जातजातिका लोकसंस्कृतिको उजागरमा प्रतिष्ठान सक्रिय हुने वताउनुभयो ।

सदस्य सचिव उपाध्यायले पूर्वी नेपालमा किराँत धर्मदर्शन, लोकवार्ता र किराँत सभ्यताको खोजी र संरक्षणमा प्रतिष्ठान सहित सबै निकाय सक्रिय हुनुपर्ने वताउनुभयो । उहाँले किराँत समुदाय कला, साहित्य, संगीत, धर्मदर्शन लगायत पुँजीले भरिपूर्ण रहेको भन्दै किराँत सहित सबै पक्षका भाषिक, धार्मिक, साँस्कृतिक पुँजीहरुलाई राज्यले संरक्षण गर्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा नौलो साहित्यिक विहान समाजले पाँचथरका श्रष्टाहरु मीना राई र मलिसा याक्थुङबालाई सम्मान समेत गरेको छ । जिल्लाको साहित्यिक क्षेत्रमा योगदान पुर्‍याउने उहाँहरुलाई जनही रु. पाँच हजार सहित सम्मान गरिएको समाजका महासचिव प्रेम ओझाले जानकारी दिनुभयो ।

सोही अवसरमा यहाँका पाँच जना लेखकहरुका कृति समेत विमोचन गरिएको छ । कार्यक्रममा डि.एम. कन्दङ्वाको कृति ‘प्रेम यसरी टुक्रिन्छ’, रामप्रकाश समथिङको ‘लुङगा माइली’, सन्देश सुब्बाको ‘सम्झनाको आँधी’, मलिसा याक्थुङबाको लिम्बू भाषामा रहेको ‘केयुक्नानु आयुक्ना’ र रविमान लम्जेलको ‘गाउँ भित्रको कथा’ नामक कृतिहरु विमोचन गरिएको थियो ।

कार्यक्रममा जिल्लाका श्रष्टाहरुले आ–आफ्ना धारणा राख्नुका साथै रचना वाचन समेत गरेका थिए । वक्ताहरुले पाँचथरले साहित्यको क्षेत्रमा नयाँ–नयाँ प्रयोगहरु गर्दै योगदान दिएको भएपनि राज्यबाट सधैँ उपेक्षामा परेको, सबै जाति र भाषाका साहित्यको विकासमा सरकारको ध्यान नपुगेको जस्ता गुनासो समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्