छिमेकीबाट पाठः कोभिड–१९ को घातक दोस्रो लहर रोक्न भारत कसरी असफल भयो ?



बीबीसी । भारतमा २४ घण्टामा दुई लाख ७० हजार जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क सोमवार बिहान सरकारले सार्वजनिक गरेको छ। सो अवधिमा १,६१९ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको बताइएको छ।

अहिलेसम्म भारतमा डेढ करोडभन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भइसकेको छ। तीमध्ये एक लाख ७८ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका एक सांसद तथा पूर्वमन्ती डा. मेवालाल चौधरीको पनि कोभिडकै कारण मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

भारत सरकारको तथ्याङ्कअनुसार अहिले देशभरि पुष्टि भएका १९ लाख २९,००० भन्दा बढी सक्रिय सङ्क्रमित छन्। भारतमा कोरोनाभाइरस महामारीको अवस्थाबारे बीबीसी संवाददाता सौतिक बिश्वासले गरेको विश्लेषण यहाँ प्रस्तुत गरिएको छ।

मार्च महिनाको सुरुतिर भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले आफ्नो मुलुक कोरोनाभाइरस महामारीको ‘अन्तिम चरण’मा रहेको घोषणा गरेका थिए। उनले ‘अन्तर्राष्ट्रिय सहकार्यका विषयमा विश्वमै उदाहरणीय’ भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको पनि प्रशंसा गरेका थिए।

ज्यानुअरी महिनाबाट भारतले विभिन्न देशमा कोभिड–१९ विरुद्धको खोप निर्यात गर्न थाल्यो जसलाई ‘खोप कूटनीति’ का रूपमा प्रशंसा गरिएको थियो।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या तीव्र गतिमा घटेका कारण हर्षवर्धन आशावादी देखिएका थिए।

गत सेप्टेम्बर महिनाको मध्यतिर भारतमा एकैदिन ९३,००० भन्दा बढी सङ्क्रमित भइरहेका थिए। पछि भने सङ्क्रमित हुनेहरूको सङ्ख्या लगातार घटिरहेको थियो। फेब्रुअरी महिनासम्म आइपुग्दा भारतमा प्रतिदिन औसतमा ११,००० नयाँ सङ्क्रमित थपिएका थिए।

भाइरसलाई नियन्त्रण गर्न सफल भएको विषयको उत्साह गत वर्षबाटै बढिरहेको थियो। राजनीतिज्ञ, नीतिनिर्माताहरू र सञ्चारमाध्यमहरूको एउटा समूहले भारत साँच्चै खतराबाट बाहिरिएको विश्वास गरेका थिए।

फेब्रुअरी महिनाको अन्त्यतिर भारतका पाँचवटा प्रमुख राज्यमा निर्वाचनको घोषणा गरियो जहाँ ८२४ सीटमा प्रतिनिधि चुन्नका लागि मतदान गर्न १८।६ करोडभन्दा बढी नागरिक योग्य छन्। मार्च २७ तारिखबाट सुरु भएको निर्वाचन सम्पन्न हुन एक महिनासम्म लाग्नेछ। पश्चिम बङ्गालमा निर्वाचन आठ चरणमा सम्पन्न हुनेछ।

निर्वाचनको प्रचारप्रसार सुरु हुँदा सुरक्षा मापदण्ड अनि सामाजिक दूरी कायम गरिएको थिएन। मार्च महिनाको मध्यतिर क्रिकेट बोर्डले १,३०,००० जनाभन्दा बढी मानिसलाई भारत र इङ्ग्ल्यान्ड बीच आयोजित दुईवटा खेल हेर्न दिएको थियो। अधिकांश दर्शकले मास्क लगाएका थिएनन्। उक्त खेल गुजरात राज्यको नरेन्द्र मोदी रङ्गशालामा सम्पन्न भएको थियो।

एक महिनाभन्दा कम समयमा कोरोनाभाइरसको प्रकोप पुरानै अवस्थामा फर्किन थाल्यो। भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरमा प्रवेश गरिसकेको थियो। विभिन्न सहरहरूमा लकडाउन लागु गरिएको थियो। एप्रिल महिनाको मध्यतिर भारतमा औसतमा प्रतिदिन एक लाख नयाँ सङ्क्रमित बढिरहेका थिए। एप्रिल १५ तारिखमा भारतमा एकैदिन दुई लाख सङ्क्रमित थपिए जुन एकैदिन थपिएको सर्वाधिक सङ्ख्या थियो। औसतमा प्रत्येक दिन ६६० भन्दा बढीले ज्यान गुमाइरहेका थिए।

द लान्सिट कोभिड–१९ कमिशनका अनुसार सङ्क्रमण फैलिने क्रम नियन्त्रण गर्न नसके जुन महिनाको पहिलो हप्तासम्ममा भारतमा प्रत्येक दिन २,३०० जनाभन्दा बढी मानिसको मृत्यु हुन सक्छ।

सङ्कटको अवस्था

भारत अहिले जनस्वास्थ्यका हिसाबले सङ्कटकालीन अवस्थामा छ। अस्पतालमा चाप बढेको छ।अस्पतालमा बिरामी राख्ने शय्या, औषधि, अक्सिजन र परीक्षणका लागि सर्वसाधारणहरूले सङ्घर्ष गर्नु परिरहेको छ।

औषधिको कालोबजारी भइरहेको छ भने परीक्षणको नतिजा आउन कैयौँ दिन लागिरहेको छ। “मेरो बच्चाको मृत्यु भएको उनीहरूले मलाई तीन घण्टासम्म भनेनन्” आइसीयूबाहिर एक शोकाकुल आमाले भनिरहेको एउटा भिडिओमा देख्न सकिन्छ।

भारतको खोप अभियान पनि यतिखेर समस्यामा छ। प्रारम्भिक दिनहरूमा भारतमै विकासित खोपको प्रभावकारिताबारे विवाद उत्पन्न भयो। भारतमा खोप अभियानलाई तीव्रता दिँदै गत हप्तासम्ममा १० करोड जनाभन्दा बढीलाई खोप दिँदा समेत खोपको अभाव भइरहेको बताइएको छ।

विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक भारतको सीरम इन्स्टिट्यूट अफ इन्डियाले आफूसँग आवश्यक रकमको अभाव रहेकाले जुन महिनाअघि खोप उत्पादन बढाउन सक्ने अवस्था नरहेको जनाएको छ। भारतमै आवश्यकता बढेपछि सरकारले आस्ट्राजेनेका खोपको निर्यातमा अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ भने अन्य देशहरूमा उत्पादन गरिएका खोपहरूको आयात पनि खुला गरेको छ। माग धान्न अक्सिजन समेत आयत गर्नुपर्ने सम्भावना बढेको छ।

अनि यी सबै कुराबीच आर्थिक हिसाबले विश्वकै सबैभन्दा व्यापक व्यावसायिक क्रिकेट प्रतियोगिता प्रत्येक साँझ बन्द रङ्गशालामा भइरहेको छ, दशौँ हजार कार्यकर्ता निर्वाचनको प्रचारप्रसारमा जुटेका, हजारौँ मानिसहरू कुम्भमेलामा सहभागी भइरहेका छन्। “जे भइरहेको छ त्यो कल्पनातीत छ” समाजशास्त्र विषयका प्राध्यापक शिव विश्वनाथनले भने।

गत फेब्रुअरी महिनाको मध्यतिर द इन्डियन एक्सप्रेसकी पत्रकार तबस्सुम बरनागरवालाले महाराष्ट्र राज्यका केही स्थानमा कोरोनाभाइरस सङ्क्रमणमा सातगुना वृद्धि देखिएको विषयमा ध्यानाकर्षण गराएकी थिइन्। फ्रेब्रुअरीको अन्त्यतिर बीबीसीले वृद्धिबारे रिपोर्ट गरेको थियो जसमा के भारत दोस्रो लहरमा पुगेको हो भनेर प्रश्न गरिएको थियो।

“सङ्क्रमण के कारण बढिरहेको छ हामीलाई थाहा छैन। चिन्ताको विषय के छ भने पूरा परिवार नै सङ्क्रमित भइरहेका छन्। यो पूर्ण रूपमा नयाँ प्रवृत्ति हो”, महाराष्ट्रको एउटा प्रभावित जिल्लाका एक सरकारी चिकित्सक श्यामसुन्दर निकामले त्यस बेला भनेका थिए।

भारतको दोस्रो लहर बेवास्ता, विवाह र अन्य सामाजिक कार्यक्रम जानु अनि राजनीतिक र्‍याली र धार्मिक भेला गर्न दिएको सरकारको दोहोरो अर्थ लाग्ने खाले सन्देशका कारण बढेको हो। सङ्क्रमण घटेसँगै खोप लगाउनेहरूको सङ्ख्या पनि घटेको थियो। जुलाई महिनासम्ममा २५ करोड मानिसलाई खोप लगाउने लक्ष्य लिएको अभियानको गति पनि सुस्त पारिएको थियो।

कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर अपरिहार्य रहेको भए पनि भारतले त्यसलाई ‘सार्न वा त्यो आउने समय ढिला गराउन सक्ने र त्यसको प्रभाव कम गराउन सक्ने’ भौतिक शास्त्र र जीवविज्ञान विषयका प्राध्यापक गौतम मेनन ठान्छन्। “हामीले नयाँ प्रकारबारे महाराष्ट्रको रिपोर्टबाट गत फेब्रुअरीमै थाहा पाएका थियौँ। अधिकारीहरूले त्यसलाई प्रारम्भिक दिनहरूमा अस्वीकार गरे” मेननले भने, “यो नै महत्त्वपूर्ण मोड थियो।”

यो सङ्कटबाट कस्तो पाठ ?

भारतले समयअगावै भाइरसमाथि विजय प्राप्त गरेको घोषणा नगर्न सिक्नुपर्छ। सर्वसाधारणहरुले पनि भविष्यमा हुन सक्ने सङ्क्रमणको वृद्धिका कारण छोटा स्थानीय स्तरमा गरिने लकडाउन स्वीकार्न सिक्नुपर्छ। हर्ड इम्यूनिटी अर्थात् सामुदायिक प्रतिरोध क्षमताभन्दा धेरै पर रहेको र खोप अभियानको गति पनि सुस्त रहेका कारण भारतमा थप लहरहरू पैदा हुन सक्ने विज्ञहरूको धारणा छ।

“हामी जनजीवन ठप्प पार्न सक्दैनौँ” पब्लिक हेल्थ फाउन्डेशन अफ इन्डियाका प्राध्यापक पी श्रीनाथ रेड्डीले भने “भिडभाड हुने सहरहरूमा हामीले मानिसहरूलाई भौतिक रूपमा दूरी कायम गराउन नसके पनि सबैले सही रूपमा मास्क लगाएका छन् भन्ने कुरा भने हेर्न सक्छौँ। यो ठूलो माग होइन।”

प्रतिक्रिया दिनुहोस्