

बीबीसी । नेपालमा कोरोनाभाइरस सङ्क्रमण भई अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या पछिल्ला दिनमा बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। नेपालमा पनि यूके भेरिअन्ट र डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भइसकेको पृष्ठभूमिमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा बढ्न सक्ने सङ्क्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद् बताउँछन्।
गत चैत ३० गतेयताकै तथ्याङ्क हेर्दा अस्पताल पुगेकामध्ये आइसीयूमा भर्ना हुनुपर्ने र भेन्टिलेटरमा राख्नुपर्ने सङ्क्रमतिको सङ्ख्या उकालो लाग्दो देखिन्छ। मन्त्रालयका अनुसार गत चैत ३० गते ९२ (काठमाण्डू उपत्यकामा ४६) जना आइसीयूमा र १५ (काठमाण्डू उपत्यकामा १३) जना भेन्टिलेटरमा थिए।
चैत ३१ गते ९७ (काठमाण्डू उपत्यकामा ३३) जना आइसीयूमा र २० (काठमाण्डू उपत्यकामा १३) जना भेन्टिलेटरमा थिए। वैशाख वैशाख १ गते ८० (काठमाण्डू उपत्यकामा ३३) जना आइसीयूमा र २५ (काठमाण्डू उपत्यकामा १६) जना भेन्टिलेटरमा राखिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
वैशाख २ गते ९१ (काठमाण्डू उपत्यकामा २९) जना आइसीयूमा र ३५ (काठमाण्डू उपत्यकामा २२) जना भेन्टिलेटरमा थिए। त्यसैगरी वैशाख ३ गते १०० (काठमाण्डू उपत्यकामा ३५) जना आइसीयूमा र ३८ (काठमाण्डू उपत्यकामा २०) जना भेन्टिलेटरमा थिए भने वैशाख ४ गते ९४ (काठमाण्डू उपत्यकामा ३५) जना आईसीयूमा र ४५ (काठमाण्डू उपत्यकामा २५) जना भेन्टिलेटरमा रहेको देखिन्छ।
एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन नेपाल अफिनका वरिष्ठ उपसभापति कुमार थापाले पनि पछिल्ला दिनमा आईसीयूमा र भेन्टिलेटरमा राख्नुपर्ने कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको बताए। “त्यसरी भर्ना हुने बिरामीहरूको सङ्ख्या बढ्दो देखिएको छ। तर अहिले नै अस्पतालहरूले थेग्न नसक्ने अवस्था देखिइसकेको छैन” उनले भने।
यसले के सङ्केत गर्छ ?
नेपालमा पछिल्लो सङ्क्रमणको हेर्दा प्रवृत्तिलाई फैलिन लामो समय नलागेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन बताउँछन्। “पछिल्लो समय सङ्क्रमित हुनेहरूको सङ्ख्या धेरै ठूलो नभए पनि आईसीयू वा भेन्टिलेटर राख्नुपर्नेको सङ्ख्या हेर्दा छिटो फैलिने र कडा खालको भाइरस रहेका छन् कि आशङ्कालाई बल पुर्याउँछ”, पुनले भने।
त्यसका साथै अहिले सबै उमेर समूहलाई भाइरसले सङ्क्रमित बनाइरहेको देखिएको र परीक्षणको दायरा बढाइए समुदायमा अझ बढी सङ्क्रमित हुन सक्ने डा. पुन बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार दुई कारणले पछिल्ला दिनमा आइसीयूमा र भेन्टिलेटरमा राख्नुपर्ने कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेको हुन सक्छ।
“पछिल्लो वायु प्रदूषणका कारण सङ्क्रमितहरूमा श्वासप्रश्वास लगायतका समस्था थपिएर अवस्था गम्भीर हुन सक्छ भने पछिल्लो समय कडा खालको कोरोनाभाइरस भएर पनि सङ्क्रमितलाई आइसीयू वा भेन्टिलेटरमा राख्नुपर्ने भएको हुन सक्छ” उनले थपे।
डा. मरासिनीका अनुसार नेपालमा सङ्क्रमण कम देखिएकै बेला सरकारले ‘एक्टिभ सर्भेलिएन्स’ अर्थात् आफैँ सक्रिय भएर कन्ट्याक्ट ट्रेसिङ्ग र परीक्षणको दायरा बढाउनुपर्थ्यो। “त्यसो गरेको भए सङ्क्रमणको हिसाबले अहिलेको जस्तो अवस्था नदेखिन सक्थ्यो।”
अझ पनि सङ्क्रमण नियन्त्रण तथा रोकथामको दिशामा प्रभावकारी कदम नचालिए भारतमा जस्तै अवस्था आउन सक्नेतर्फ उनी सचेत गराउँछन्। “बढी सङ्क्रमण देखिएको ठाउँमा परीक्षण बढाउने कुरा त छँदैछ नदेखिएका ठाउँमा पनि एक्टिभ सर्भेलिएन्सको नीति लिएर कन्ट्याक्ट ट्रेसिङ्ग र परीक्षण गर्न सकिएन थप फैलिनबाट रोक्न सकिन्छ” पूर्वनिर्देशक मरासिनीले थपे, “निश्चित ठाउँहरूमा लकडाउन गरेर पनि नियन्त्रण गर्न सकिन्छ” उनले सुझाए।