

पाँचथर, २ वैशाक ।
विश्वका १६ वटा देशमा मात्रै पाइने चौंरी आम मानिसको सम्पर्कबाट निकै टाढा हुन्छ । चौंरी निश्चित तापक्रम भएका उच्च पहाडी र हिमाली भेगमा मात्रै पाइन्छ, जहाँ सबै मानिस पुग्न सक्दैनन् । त्यसैले मान्छे र चौंरीको सम्बन्ध निकै टाढा हुन्छ ।
यहि नजोडिएको सम्बन्धलाई जोडेर पिरती गाँस्दै चौंरीको जगेर्नामार्फत पर्यटन विकास गर्ने उद्देश्यले पाँचथरमा चौंरी महोत्सव सम्पन्न भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–४ तीनसीमाना क्षेत्रमा नयाँ वर्षको अवसर पारेर हिँजो चौंरी र चौंरीजन्य सामग्रीको प्रदर्शनी गरी महोत्सव सम्पन्न भएको हो ।
नेपालका विभिन्न स्थानहरु सहित भारतको सिक्किम र भुटानबाट ल्याइएका विभिन्न प्रजातिका चौंरीहरु प्रदर्शनीमा राखिएका थिए । महोत्सवमा याक र चौंरीमा चढ्न पर्यटकहरुको भीड लागेको थियो । पहिलो पटक गरिएको याक तथा चौंरी चढ्ने ब्यवस्थाले धेरै आन्तरिक पर्यटकहरु खुशी भएका थिए ।
गोठहरुबाट महोत्सवस्थलमा भेला पारिएका दर्जनौं चौंरीहरुसँग तस्वीर लिन तथा नजिक पुग्न महोत्वसमा सहभागीहरुले प्रयासरत थिए । पहिलो पटक याकमा चढ्ने अवसर पाउनुभएका फालेलुङ–२ का नन्दकुमार आङ्थुपो लोपोन्मुख अवस्थामा पुगेको चौंरीसँग पर्यटकको सम्बन्ध विस्तारमार्फत आयआर्जन वृद्धि र पर्यटन विकासमा लाग्नुपर्ने वताउनुहुन्छ ।

फालेलुङ गाउँपालिकाको सहयोगमा यहाँका दीप ज्योती युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवद्र्धन संस्था र कञ्चनजंघाका चौंरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन् । पर्यटकीय दृष्टि निकै आकर्षक क्षेत्रका रुपमा रहेको तीनसीमानामा आयोजित महोत्सवमा नेपाल र भारतबाट हजारौंको संख्यामा पर्यटकहरु पुगेका थिए । महोत्सवमा चौंरीको घ्यू, छुर्पी लगायत खाद्य परिकार, चौंरीका रौंबाट निर्माण गरिएका टोपी लगायतका विभिन्न सामग्रीहरु प्रदर्शनी तथा विक्रीमा राखिएका थिए ।
चौंरीको माध्यमबाट पर्यटन विकास गर्ने, यहाँको चौंरी पालनलाई विश्वसामु चिनाउने र चौंरी पालनलाई ब्यवस्थित गर्दै लैजाने उद्देश्यले महोत्सव आयोजना गरिएको कञ्चनजंघाका चौंरीपालन तथा संरक्षण संस्थाका अध्यक्ष चन्द्रलाल नेपालको भनाई छ । चौंरी पालकको दीगो आम्दानीका लागि चौंरी गोठमा पर्यटकलाई बसोबासको ब्यवस्था गर्न ‘गोठबास’ निर्माण थालिएको छ भने चौंरी पालकहरुलाई वातावरण तथा जैविक विविधता संरक्षणमा सचेत तुल्याइदै आएको छ । महोत्सवले यस्ता प्रयासलाई अझै सवल बनाउने आयोजकको विश्वास छ ।

चौथो पटक फालेलुङ गाउँपालिकामा यो महोत्सव आयोजना गरिएको हो । महोत्सवलाई फालेलुङ गाउँपालिकाले मात्रै नभई समग्र मुलुकले पहिचानको रुपमा अगाडि बढाउनुपर्ने गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङको माग छ । “चौंरी पालनको दीगो ब्यवस्थापन गर्दै यहाँ पर्यटन विकासमा लाग्नुपर्ने आवश्यकताले महोत्सव आयोजना गरेर संघीय सरकारलाई घच्घच्याइरहेका छौँ”, अध्यक्ष केरुङले भन्नुभयो, “समग्र रुपमा यस क्षेत्रको विकास र स्थानीयवासीको आयआर्जन बढाउन सबैको सहयोग आवश्यक छ ।”
फालेलुङ–४ का चौंरी पालक श्रीप्रसाद रिजाल गोठको ब्यवस्थापन, चौंरीबाट उत्पादित सामग्रीको राम्रो मूल्य तथा सहुलियत ऋणका लागि सरकारले सहयोग गर्नुपर्ने माग गर्नुहुन्छ । “महोत्सवले यहाँ हामीले चौंरी पालेर देशको सीमानाको रक्षा र पर्यटक आउने वातावरण बनाइरहेका छौँ भन्ने सन्देश दिने गरेको छ”, रिजालले भन्नुभयो, “अब सरकारले पनि उचित सहयोग गर्नुपर्छ ।” याङवरक गाउँपालिका–१ का चौंरी पालक किपा भुटिया आफूहरुले दुःख गरेअनुसार सरकारले चौंरीको संरक्षणमा सहयोग गर्नुपर्ने वताउनुहुन्छ ।

महोत्सव आयोजक शिल्प साम्पाङ महोत्सवले चौंरीको संरक्षणमा सरकारको ध्यान गएको र अन्तर्राष्ट्रिय स्तरसम्म सन्देश पुगेको वताउनुहुन्छ । महोत्सवले दिएको सकारात्मक परिणामअनुसार महोत्सव वर्षेनि गर्दै जाने आयोजकको लक्ष्य छ ।
महोत्सवमा सहभागी हुन आउनुभएका १ नं. प्रदेश योजना आयोजका सदस्य डा. पूर्ण लक्सम नवीनत प्रविधिबाट पर्यटन प्रवद्र्धन गर्न चौंरी महोत्सव महत्वपूर्ण कदम भएको वताउनुहुन्छ । “विशेष प्रकृतिका प्रयासबाट पर्यटन प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय अभ्यासअनुसार यो महोत्सव एकदमै अनुकरणीय काम हो”, डा. लक्समले भन्नुभयो, “यसले अन्तर्राष्ट्रिय क्षेत्रमा जैविक, वातावरणीय, प्राकृतिक सम्पदालाई प्रचारमा लैजान र पर्यटक भित्र्याउन सहयोग गर्छ ।” पश्चिमा पर्यटकहरु प्राकृतिक पर्यापर्यटनमा रमाउने रुचाउने भएकाले यस प्रकारका महोत्सवले पर्यटन विकासमा ठूलो योगदान दिनसक्ने डा. लक्समको भनाई छ ।

महोत्सवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले चौंरी महोत्सव र चौंरीको संरक्षणको विषय अव स्थानीयवासी र स्थानीय तहको मात्रै नभएको वताउनुभयो । “यहाँका थुम्का–थुम्का पहाडहरुमा पर्यटक राख्ने र आम्दानी गर्ने स्थिति बनाउनुपर्छ”, नेम्वाङले भन्नुभयो, “यसका लागि सडक र हिल स्टेशन निर्माणका योजनाहरु कार्यान्वयनको चरणमा गइसकेका छन् ।”

पर्यटकको आकर्षणअनुसार चौंरीको संख्यालाई बढाउन सरकारी स्तरबाट पहल थालिने आश्वासन दिँदै मन्त्री नेम्वाङले विश्वबाट चौंरी खोज्न फालेलुङ आउने अवस्था बनाउनु नै देशको हितमा हुने वताउनुभयो । चौंरीलाई मौलिक पहिचानका रुपमा विकास गर्दै जान उहाँले स्थानीयवासीलाई आग्रह गर्नुभयो । फालेलुङ गाउँपालिकामा वि.सं. २०७५ सालबाट चौंरी महोत्सव आयोजना गर्न थालिएको हो ।

महोत्सवमा चौंरी प्रदर्शनीमा राखी उत्कृष्ट बनेका कृषकहरु किपा भुटिया, श्रीभक्त राई र राजकुमार राईलाई सम्मान गरिएको थियो । यस्तै फालेलुङ र याङवरक गाउँपालिकाका चौंरी पालक कृषकहरुलाई समेत सम्मान गरिएको थियो । महोत्सवमा साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।