बारीमा सुकेका झिक्रा डढाउन गएकी थिइन्, आफैं जलिन्



तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–३ नागदह बस्ने ७२ वर्षीया फूलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको छ।

सोमबार बिहान साढे ९ बजे उनी घर नजिकैको बारीमा सुकेको झ्यास, झिक्रा डढाउन पुगेकी थिइन्। आगो फैलिएर नजिकैको बास झ्याङमा पनि आगलागी भएको थियो। आगलागी हुँदा उनको जलेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

बासझ्याङमा आगलागी भएपछि स्थानीय किशोरप्रसाद सिग्देल र फूलमायाकी जेठी बुहारीले निभाउने खोजेका थिए। त्यसबेला उनीहरूले फूलमायालाई जलेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। यस घटनामा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्