नयाँ वर्षमा घुम्नलाई पाँचथरका ‘तीन गन्तब्य’



पाँचथर । तपाईं पूर्वी नेपालमा हुनुहुन्छ र नयाँ वर्षमा घुम्न जाने ठाउँ खोज्दै हुनुहुन्छ भने तपाईंका लागि पाँचथरका तीन वटा एकदमै सहज गन्तब्य छन् । गुराँस र चाँपको फूलले रङ्गीन डाँडाहरुमा तपाईंले नयाँ वर्षलाई पूरापूर आनन्ददायक बनाउन सक्नुहुन्छ ।

जसका लागि तपाईंलाई धेरै खर्च लाग्ने वा कसैको माध्यम खोजिरहनु पर्ने बाध्यता हुदैन् । नयाँ गन्तब्यमा पुग्ने तपाईंलाई प्रकृतिको उपहार र स्थानीयवासीको ब्यवहारले घुमिरहौँ लाग्नेछ ।

पूर्वका पर्यटकीय क्षेत्र भन्नेवित्तिकै सबैको नजर पर्ने इलाम र ताप्लेजुङको बीचमा खुम्चिएको पाँचथरमा पर्यटक रमाउने त्यत्ति धेरै गन्तब्य छैनन् । भएका गन्तब्यमा पूर्वाधार बनिनसक्नु तथा प्रचारको अवस्था दयनीय हुनुले पर्यटकहरुले ‘पाँचथर कहाँ निर पर्छ ?’ भन्ने अवस्था कायमै छ । तर वसन्त ऋतुको आगमनसँगै उच्च पहाडको रुप बदलिन्छ ।

एकै ठाउँबाट हिमाल र तराई देखिने डाँडाकाँडा गुराँसको फूलमाथि पाइला चाल्दै पुग्नुपर्छ । चिसो सिरेटोसँगै कोइलीको कुहुकुहुदेखि चौंरी र भेडाका घण्टीहरुको ‘टिङटिङ’ आवाजले आनन्दको चरमोत्कर्षमा पु¥याउँछ । त्यसैले नयाँ वर्षमा यहाँले पाँचथरका तीन गन्तब्यमा रमाइलो गर्न सक्नुहुन्छ ।

पहिलोः लब्रेकुटीदेखि लोहाकिलसम्म

झापाको विर्तामोडबाट ट्याक्सी चढेर करीब चार घण्टाको यात्रापछि ८२०० फिटमा रहेको पौवाभञ्ज्याङ बजार आइपुगिन्छ । सिजनअनुसारका स्थानीय उत्पादनको स्वाद लिन पाइने पौवाभञ्ज्याङमा अडिएर स्थानीयवासीसँग कुरा गरेपछि तपाईंलाई पहिले कता जाऔँ भन्ने हुटहुटी हुन्छ ।

किनकी वरिपरी सबै घुम्ने ठाउँमात्रै भेटिन्छन् । तपाईंले मेची राजमार्गमै पर्ने कान्छीदोकान बजार पुगेर घुमघामको सुरुआत गर्नु सबैभन्दा सहज हुन्छ ।

यहाँबाट करीब दुई किलोमिटर यात्रापछि लब्रेकुटी पुगिन्छ । किराँत धर्मगुरु फाल्गुनन्दले साधना र ध्यानबाटै पानी उमारेको विश्वास गरिने यो पवित्र स्थलमा किराँत धर्मावलम्बीका मौलिकतासँगै अध्यात्म र रमणीय प्रकृतिको सुगन्ध भेटिन्छ ।

लब्रेकुटी माङहिम (मन्दिर) र माङहिममाथि रहेको गुराँसको जङ्गल घुम्दा यहाँले दिन वितेको पत्ता पाउनुहुन्न । गुराँसका स–साना बोटले बनेको स्वागतद्वारले यहाँलाई सधै कुरिरहेको छ ।

समय रहेमा फाँटिलो चौरबाट निर्माणाधीन सिंढीमार्ग हुँदै तपाईं सिलौटी लाग्नुहोस् । सिलौटी महागुरु फाल्गुनन्दको समाधी भएको अग्लो डाँडो हो । किराँतीहरुले कुम्भकर्ण (फक्ताङलुङ)लाई मोक्षस्थल मान्दछन् । तर फक्ताङलुङ पुग्न नसक्नेहरु सिलौटीबाटै फक्ताङलुङ दर्शन गरी मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ । त्यहि कारण यहाँ फाल्गुनन्दको समाधी समेत रहन गएको हो ।

लब्रेकुटी वा सिलौटी घुमेपछि कान्छीदोकान बजार हुँदै केही किलोमिटर यात्रा गरेर लालीखर्क आउनुहोस् । जहाँ घरबास (होमस्टे)ले तपाईंका प्यासहरुलाई स्थानीय उत्पादनका मिठा परिकारले मेटाइदिन्छ । अनि फर्केर पौवाभञ्ज्याङ पुग्नुहोस् । जहाँबाट उत्तर लागे साधुटार पुगिन्छ, पूर्व लागे लोहकिल, अनि दक्षिणपूर्व लागे सिलौटी ।

साधुटारको सानो पोखरी अहिले सबैको रोजाईमा पर्न थालेको गन्तब्य हो । कुम्भकर्ण र कञ्चनजंघा हिमालको छायाँ डाँडामा रहेको सानो पोखरीमा पर्दा देखिने दृश्यमा मोहित नहुने शायदै कोही हुदैन् । छोटो समयमा धेरै आनन्द लिन सकिने साधुटारबाट बचेको समय लिएर तपाईं लोहाकिलतर्फ लाग्नुहोस् ।

काखमा रहेको सुकेपोखरी र आसपासका घरबासमा विश्राम गरेपछि सूर्योदय र सूर्यास्त हेर्ने, गुराँसै–गुराँसको जङ्गलमा लुकामारी खेल्ने, इलामपट्टिको पाटेनागी र कुहिभीरमा पिकनिक खाने, ग्याङफायर गर्ने वा दिनभर रमाउने । इच्छानुसारको रमाइलो लोहाकिलले दिन सक्छ र यहाँ एक दिनभन्दा बढी समय घुम्न पुग्ने ठाउँहरु छन् ।

दोश्रोः लामपोखरीको सेरोफेरो

फिदिम झरेर अलि टाढा जाने र अझै धेरै रमाइलो गर्ने मन भए तपाईं पुग्न सक्नुहुन्छ लामपोखरी । फिदिमबाट जोरपोखरी–थर्पू–च्याङथापू हुँदै कच्ची सडकबाट लामपोखरी पुग्न झण्डै पाँच घण्टा लाग्छ । तर एक दर्जन भन्दा बढी प्रजातिका गुराँस पाइने लामपोखरीमा साना र ठूला गरी आधा दर्जन पोखरीहरु छन् ।

लामपोखरीमा खाने बस्ने सुविधा छैन् । करीब एक घण्टा तल झरेर यहाँले बस्तीमा वा नजिकैको च्याङथापू बजारमा रमाइलो गरी बस्न सक्नुहुन्छ । वरपर गए भेडा र गाई गोठमा तपाईंलाई स्वागत गर्न गोठाला दाजुभाइहरु तम्तयार हुनुहुन्छ ।

हरियो घना जङ्गलको बीचमा डाँडामाथि फाँटिलो क्षेत्र अनि पोखरी नै पोखरी । गुराँस र चाँपको फूलको सुगन्ध । लामपोखरी एकछिन घुमेर सकिने ठाउँ छैन् । यहाँ गत वर्षमात्रै सडक पुगेको हो । बाहिरका पर्यटकहरु आउन थालेका छैनन् । स्थानीयवासीहरु लामपोखरी क्षेत्र गुराँसको राजधानी तीनजुरे मिल्के जलजले जत्तिकै अब्बल रहेपनि पूर्वाधार र प्रचारको अभावले ओझेलमा परेको ठान्छन् ।

हुन पनि गुराँसका फूलको मैदान र पोखरीहरुको मनोरमले तीनजुरे जत्तिकै आनन्द दिन नसक्ने ठाउँ नै रहेन । त्यसैले यो ‘कुमारी गन्तब्य’ पुगेर भविश्यको चर्चित ठाउँमा सुरुआतमै पुगेको दाबी गर्ने र सुरुआतकै आनन्द लिने मौका यहाँले नचुकाउनुहोस् ।

तेश्रोः फालोट

नयाँ वर्षमा नेपाल–भारत सीमावर्ती क्षेत्र फालोट पनि घुम्न उपयुक्त स्थान हो । यो सिजनमा सफा मौसम र चिसो मध्यम मात्रै हुन्छ । नयाँ वर्षकै अवसरमा यहाँ चौंरी महोत्सव आयोजना गरिएको छ । नेपाल, भारत र भुटानका हिमालहरुको दृश्यावलोकन गर्न सकिने फालोट क्षेत्रबाट तल डाँडाहरु गुराँसले राताम्य देखिन्छन् ।

गोठबास (गोठस्टे)को आनन्दले घर फर्कौँ लाग्दैन् । फालोटका चारराते, तीनसीमाना, गोर्खेपानी लगायत स्थान पुग्न फिदिमबाट कच्ची बाटोको यात्रा गर्नुपर्छ । सडक केही असहज भएपनि गन्तब्यमा पुगेपछि प्राप्त हुने आनन्दले सबै पीडाहरु भुलाउन सहयोग गर्छ । फालोटबाट पदयात्रा गर्दै इलाममा पर्ने चर्चित पर्यटकीय गन्तब्य सन्दकपुर पुग्न सकिन्छ ।

फालोटमा चौंरी र भेडाका गोठहरु छन् । यीनै गोठमा बसोबासको प्रवन्ध मिलाइएको छ । दीप ज्योती युवा क्लब सहित विभिन्न निकायहरुले गोठलाई पर्यटकको बासस्थान बनाउन गोठबासको अवधारणा ल्याएका हुन् । फालोट पुगेपछि एकै दिनमा सबै ठाउँ घुमेर नसकिने हुँदा बास बस्नुपर्ने बाध्यता हुन्छ ।

गोठबासमा चौंरीको दूधका विभिन्न परिकारहरुदेखि रैथाने खानेकुराको स्वाद चाख्न पाइन्छ । कोरोनाभाइरस सङ्क्रमणको महामारी तथा पश्चिम बङ्गालको दार्जिलिङ क्षेत्रमा चुनाव रहेकाले यस पटक नयाँ वर्षमा फालोटमा भारतीय पर्यटकको संख्या कम हुन्छ ।

जसकारण नेपाली पर्यटकहरुले विना भीडभाड घुम्ने मौका पाउन सक्छौँ । वर्षेनि हजारौं भारतीय पर्यटकहरुले झण्डै एक हप्ताको पदयात्रा गर्ने सन्दकपुर–तिम्बुपोखरी रुटमा रमाउन नेपाली पर्यटकहरुले सिक्न मात्रै थालेका छन् । नयाँ वर्षमा यहाँ पुग्नेहरुले नेपालीका लागि नयाँ गन्तब्यको रुपमा प्रचार गर्न समेत सक्दछौँ । त्यसैले आउनुहोस्, यी ठाउँ घुमेर आनन्द लिऔँ ।

प्रतिक्रिया दिनुहोस्