याक्थुङ युवा मञ्चको दोश्रो महाधिवेशन सम्पन्न



फिदिम । याक्थुङ युवा मञ्चको दोश्रो महाधिवेशन आज (आइतवार) पाँचथरको फिदिममा सम्पन्न भएको छ ।

शनिवार सुरु भएको महाधिवेशनले सुसन हुक्पाचोङबाङ (काठमाण्डौं)को अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रज्ञा इजम (ताप्लेजुङ) तथा उपाध्यक्षहरुमा कमल हाङसरुम्बा (पाँचथर), मणि विक्रम योङहाङ (इलाम), राजेन्द्र इधिङ्गो (झापा) र रञ्जुला लिम्बू (काठमाण्डौं) निर्वाचित हुनुभएको छ ।

यस्तै समितिको महासचिवमा मनिष आङ्बो (काठमाण्डौं), सचिवहरुमा गणेश तुम्रोक (पाँचथर), नारायण आङखेवा (तेह्रथुम), सुवास लुम्फुङ्वा (भक्तपुर) र ऋतुराज तेयुङ (काठमाण्डौं) चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा घनश्याम थेबे (सुनसरी) तथा सदस्यहरुमा प्रेम शेर्मा (झापा), मनकुमार आङदेम्बे (पाँचथर), राजन याक्सो (ललितपुर), हेमन्त लिम्बू (सुनसरी), मनोज साँवा (इलाम) र नवीन ताक्मादेन (ताप्लेजुङ) निर्वाचित हुनुभएको मञ्चले आज फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाधिवेशनपछि मञ्चले सुम्हात्लुङ घोषणा पत्र समेत जारी गरेको छ । नौं बुँदे घोषणापत्रमा याक्थुङ (लिम्बु) युवाहरुको ब्यक्तित्व विकासका माध्यमबाट आत्मनिर्भर स्वाबलम्बी बनाउन अभिप्रेरित गर्ने, विदेश पलायनलाइृ निरुत्साहित गर्न गरिखाने नागरिक बन्न अभिप्रेरित गर्ने, अरुण पूर्वका नौ जिल्ला स्वायत्ततासहितको लिम्बुवान प्रदेश स्थापनाको माग गर्ने, भूमि र प्राकृतिक स्रोत साधनमाथिको सामूहिक अधिकार प्रणाली पुनस्र्थापित गर्न माग गर्ने, याक्थुङ (लिम्बु) भाषालाई प्रदेश नं. १ को सरकारी कामकाजको भाषा बनाउन माग गर्ने र लिम्बू भाषा बोल्ने अभियान चलाउने उल्लेख छ ।

यस्तै ज्ञानको विकासमार्फत लिम्बू समुदायको समग्र उन्नति र रुपान्तरणको पहल गर्ने, याक्थुङ (लिम्बु) समुदायका ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक तथा आध्यात्मिक स्थलहरुमा विकासका नाममा अतिक्रमण नगर्न माग गर्ने तथा तिनको संरक्षण गर्न सरकारसँग माग गर्ने, साँस्कृतिक पुनर्जागरणको माध्यमबाट मौलिक संस्कार संस्कृति पुनस्र्थापित र पुनर्जिवित गर्न पहल गर्ने, याक्थुङ (लिम्बु) समुदायसँग जोडिएका स्थलहरुको पुरातात्विक महत्वमा आँच आउन नदिने तथा नाम परिवर्तन विरुद्ध लाग्ने उक्त घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्