मिक्लाजुङकी एक महिलाद्वारा आगोमा होमिएर आत्महत्या



पाँचथर, २९ चैत । पाँचथरको मिक्लाजुङकी एक महिलाले आगोमा होमिएर आत्महत्या गरेकी छन् ।

मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाको पाङतुवा टोलकी ६५ वर्षीया राधादेवी राईले आज दिउँसो आफैँले आगो बालेर उक्त आगोमा होमिएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार मानसिक समस्या भोगिरहेकी राई विहान वेपत्ता भएकी थिइन् ।

परिवारका सदस्यहरुले खोजी गर्ने क्रममा घरबाट करीब एक किलोमिटर टाढा जङ्गलमा आगोमा जलेको अवस्थामा राईको शव फेला पारेका थिए । उनी जण्डिस लगायत रोगबाट ग्रसित रहेको परिवारजनले प्रहरीलाई वताएका छन् ।

मिक्लाजुङ–५ का वडाध्यक्ष अविसन लावतीका अनुसार मानसिक समस्या भोगिरहेकी राईलाई परिवारले नियमित निगरानी गर्दै आएका थिए । तर आज विहानको खाना खाएपछि उनी वेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा मृतकका श्रीमानले राईलाई जङ्गलमा जलेर मृत अवस्थामा फेला पारेपछि प्रहरीमा खवर गरेका थिए ।

जङ्गलमा दाउरा, सिटा, पातपतिङ्गर भेला पारी राई आगोमा होमिएको प्रहरी र स्थानीयवासीको अनुमान छ । राईका तीन जना छोरा र एक जना छोरी रहेको वडाध्यक्ष लावतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्