उद्योग, ब्यवसायको विकासमा उत्कृष्ट हुँदै पाँचथर उद्योग वाणिज्य संघ सम्मानित



फिदिम । पाँचथर उद्योग वाणिज्य संघ उद्योग, ब्यापार तथा ब्यवसायको विकास र प्रवर्द्धनमा उत्कृष्ट हुँदै सम्मानित भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभाका अवसरमा संघलाई उक्त सम्मान प्रदान गरिएको हो । संघका अध्यक्ष दीपक नेपाललाई साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०७७ को अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सम्मान प्रदान गर्नुभयो ।

उद्योग, ब्यापार तथा ब्यवसायको विकास र प्रवर्द्धनमा प्रदेश नं. १ मा ‘ग’ वर्गबाट पाँचथर उद्योग वाणिज्य संघ उत्कृष्ट हुँदै सम्मानित भएको हो । पाँचथर उद्योग वाणिज्य संघले स्थानीय तहसँगको सहकार्यमा उद्योग, ब्यापार तथा ब्यवसायको सहज सञ्चालनका लागि दर्ता, नवीकरण जस्ता कार्यमा सहजिकरण गर्नुका साथै घुम्ती शिविर समेत सञ्चालन गर्ने गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा उत्कृष्ट कार्य गर्ने जिल्ला, नगर संघहरु, वस्तुगत संघहरुलाई सम्मानित गर्दै आएको छ । पहाडी जिल्लाका संघहरु ‘ग’ वर्गमा रहने भएअनुसार पाँचथर उद्योग वाणिज्य संघले प्रदेश नं. १ मा उक्त वर्गमा उत्कृष्ट हुने अवसर पाएको हो ।

सामाजिक क्षेत्रको समेत अगुवाई गर्ने निजी क्षेत्रको छाता संगठन पाँचथर उद्योग वाणिज्य संघमा जिल्लाका दुई हजारभन्दा बढी उद्योग, ब्यवसायीहरु आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्