

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पूर्वाधार विकासका कार्यमा राजनीतिक अन्यौलको प्रभाव पर्न नदिइने वताउनुभएको छ ।
सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने तर प्रधानमन्त्रीको राजीनामा मागिरहने प्रवृत्तिले राजनीतिमा अन्यौलको स्थिति देखिएको भन्दै मन्त्री नेम्वाङले अन्यौलले पूर्वाधार विकासमा प्रभाव नपार्ने स्पष्ट पार्नुभयो । प्रेस चौतारी नेपाल पाँचथरले आज फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले नयाँ संविधान जारी भएपश्चात जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न सरकार हरबखत सचेत भई प्रयत्नशील रहेको वताउनुभयो ।

विकास निर्माण, सेवा प्रवाह तथा पूर्वाधारका योजनाहरु स्थानीय स्तरदेखि केन्द्रीय स्तरसम्म द्र्रूत गतिमा अघि बढिरहेको वताउँदै मन्त्री नेम्वाङले पछिल्ला वर्षहरुमा प्राप्त उपलब्धिहरुको समीक्षा गर्न आग्रह गर्नुभयो । पाँचथरमा सडक, विद्युत, खानेपानी लगायत क्षेत्रमा थालिएको पूर्वाधार निर्माणले जिल्लाको रुप बदल्न र जनताले सहज सेवा र सुविधा पाउन महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।
मन्त्री नेम्वाङले वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पबाट कहिल्यै बिमुख नहुने वताउँदै मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको वताउनुभयो । उहाँले माओवादी केन्द्रले सरकारले विश्वासको मत दिइरहेर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद रहेको वताउनुभयो ।

“विश्वासको मत फिर्ता भई अल्पमतमा परे पुनः संसद् फेस गरेर विश्वासको मत लिन्छु भनेर प्रधानमन्त्रीले भन्नुभएकै छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “बहुमतका प्रधानमन्त्रीको दैनिक रुपमा राजीनामा मागेर मुलुकमा के प्रगति गर्न खोजिएको होला ?”
प्रदेश सरकार अन्तर्गत पाँचथरमा सञ्चालित धेरै आयोजनाहरु आर्थिक विश्रृङ्लताका कारण वित्तिय स्रोत अभावको सङ्कटमा परेकाप्रति चिन्ता ब्यक्त गर्दै मन्त्री नेम्वाङले आगामी दिनमा यसमा सुधार आउने विश्वास ब्यक्त गर्नुभयो ।
“अर्थतन्त्रको प्रक्षेपण गर्न नसकी सस्तो लोकप्रियताको होडबाजीले प्रदेश १ मा डामाडोलको स्थिति आयो”, उहाँले भन्नुभयो, “तर अब अर्थतन्त्र सन्तुलनमा ल्याई प्रभावित आयोजनाहरुलाई सुधारमा लगिने मेरो विश्वास छ ।”
