नयाँ वर्षमा तीनसीमानामा चौंरी महोत्सव हुने



पाँचथर । नयाँ वर्षको अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ तीनसीमानामा चौंरी महोत्सव हुने भएको छ ।

विगत चार वर्षयता आयोजना भइरहेको महोत्सव यस वर्ष पनि नेपाल–भारत सीमावर्ती क्षेत्र तीनसीमानामा आयोजना गरिएको हो । फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा यहाँका दीप ज्योती युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवद्र्धन संस्था र कञ्चनजंघाका चौंरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन् ।

महोसत्व एक दिन आगामी ०७८ बैशाक १ गते सञ्चालन हुनेछ । महोत्सवमा चौंरीका विभिन्न प्रजाति तथा चौंरीसँग सम्बन्धित सामग्रीको प्रदर्शनी मुख्य आकर्षण रहने महोत्सव आयोजक समितिका सचिव सुनिल बान्तवाले जानकारी दिनुभयो ।

परम्परागत चौंरी पालनलाई ब्यवस्थित र ब्यवसायिक बनाई दीगो आयस्रोत बनाउने, चौंरीमा आधारित पर्यापर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने, जैविक विविधता, दुर्लभ वनस्पति तथा जीवजन्तु संरक्षणको सन्देश दिने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा चौंरी तथा याकका विभिन्न प्रजातिहरुको प्रदर्शनी, चौंरीजन्य उत्पादनहरुको प्रदर्शनी, भुटानबाट ल्याइएका याकको प्रदर्शनी, घोडाचढी तथा याकचढी मुख्य आकर्षण रहेका छन् ।

यस्तै उच्च पहाडी क्षेत्रमा पाइने जडिबुटीको प्रदर्शनी, स्थानीय संस्कारमा आधारित खाद्यान्नका परिकार, भेडाको उनबाट निर्मित सामग्रीहरु, गोठबासमा बसोबास जस्ता आकर्षणहरु रहने आयोजक समितिका सचिव बान्तवाले वताउनुभयो ।

तीनसीमानाबाट नेपाल, भारत र भुटानका हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने यहाँ प्रसिद्ध तीर्थस्थल गोर्खेधाम समेत रहेको छ । विगतमा फालेलुङ–४ चाररातेमा चौंरी महोत्सव आयोजना गर्ने गरिएको थियो ।

तर चारराते पुग्न भारतीय बाटोको प्रयोग गर्नुपर्ने, सुरक्षाको अभाव जस्ता कारणले महोत्सव स्थल तीनसीमाना निर्धारण गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष एवं फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनले वताउनुभयो ।

तीनसीमाना नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको, गोठबासको प्रवन्ध भएको, सहज सडक पहुँच भएको तथा तीनसीमानालाई पर्यटक गन्तब्य बनाउन प्रचारमा जोड दिनुपर्ने भएकाले यहाँ महोत्सव आयोजना गरिएको अध्यक्ष सावदेनको भनाई छ । महोत्सव सम्पन्न गर्न मूल आयोजक समिति तथा चार वटा उपसमितिहरु गठन गरिएको अध्यक्ष सावदेनले वताउनुभयो ।

दुई दर्जनभन्दा बढी चौंरी गोठ रहेको फालेलुङको फालोट क्षेत्रमा पर्यटन विकास गर्ने, चौंरीजन्य सामग्रीको प्रचार र बजारको खोजी गर्ने, चौंरी पालनलाई ब्यवस्थित गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित ०७४ बाट महोत्सव आयोजना गर्न थालिएको हो ।

गत वर्ष भने कोभिड–१९ को महामारी तथा बन्दाबन्दीका कारण चौंरी महोत्सव हुन सकेन । हालसम्म कोरोनाभाइरस सङ्क्रमणको अवस्था सामान्य रहेकाले प्रशासनको अनुमतिले यस वर्ष महोत्सव आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

विगतका वर्षहरुमा महोत्सव सम्पन्न गर्न इसिमोड, रिकास्ट, टीएमआई, रेडपाण्डा नेटवर्क लगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, विभागीय सरकारी निकायहरु, जिल्लाका अन्य स्थानीय तहहरुले समेत सहयोग गरेका थिए । यस वर्ष गाउँपालिका र कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहलको लगानीमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा पाँचथरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्