भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या जनवरी यताकै उच्च



एजेन्सी, नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४ सय ५९ जनाको मृत्यु भएको छ ।

एकै दिनमा कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु हुनु यसवर्ष सुरु भएयताको नै सबभन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बुधबार कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६२ हजार ९ सय २७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ ।

गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजारभन्दा कम भएको थियो । जनवरी २५ र २६ का दिनमा भारतमा २४ घन्टामा कोरोना भाइरस संक्रमित संख्या करिब ९ हजार १ सय भएको थियो । कोरोना संक्रमितको उक्त संख्या यसअघिका २ सय ३७ दिनहरुका सबभन्दा कम थियो ।

हालका केही दिनयता भारतमा कोरोना संक्रमित र सक्रमणबाट मृत्यु हुने व्यक्तिको सख्या बढ्न थालेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घन्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड २२ लाख २१ हजारभन्दा बढी पुगेको छ ।

कुल सङ्क्रमितमध्ये पाँच लाख ८४ हजार ५ सय ६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्