फ्रान्समा कोरोना संक्रमण तीव्र भएपछि चार साता लकडाउन, विद्यालय पनि बन्द



एजेन्सी । कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएपछि फ्रान्समा चार साताका लागि लकडाउन गरिएको छ ।

लकडाउनका क्रममा विद्यालयहरु पनि बन्द हुने घोषणा गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले आउँदो शनिवारदेखि चार हप्ता लकडाउन र विद्यालय बन्दको घोषणा गरेका हुन् ।

राष्ट्रपति म्याक्रोनले एक टेलिभिजन सम्बोधनका क्रममा लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताए । लकडाउनको अवधिभर मानिसहरुले घरमै बसेर काम गर्नु पर्ने खबर बीबीसीले लेखेको छ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने बताइएको छ ।

म्याक्रोले कोरोनाको सङ्क्रमण बढे पनि यसलाई नियन्त्रण गर्न सकिने भएकाले डराउनु नपर्ने बताएका छन। उनले कोरोनाविरुद्धको खोप दिने कामलाई तिव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप दिने पनि बताए ।

फ्रान्समा गएको २४ घण्टामा ४१ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म फ्रान्समा ४६ लाख ४४ हजार बढीलाई कोरोना सङ्क्रमण भएको छ भने ९५ हजार ६ सय बढीको मृत्यु भइसकेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्