प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छः बस्नेत



पाँचथर, १८ चैत । पूर्व मन्त्री एवं नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमको विस्तारै औचित्य पुष्टि हुँदै जाने वताउनुभएको छ ।

संसद् कामै गर्न नसक्ने अवस्थामा पुगेको वताउँदै नेता बस्नेतले घटनाक्रमहरुले प्रतिनिधि सभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने वताउनुभयो ।

प्रेस चौतारी पाँचथरले आज विहान फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि सभा सदस्य बस्नेतले तीन दर्जनभन्दा बढी विधेयकहरुले पेश हुने ‘लाइन’मा रहेपनि संसद्मा पेश हुन नसक्ने अवस्थाले संसद्ले प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्ने पुष्टि भएको वताउनुभयो ।

पछिल्लो पटक विकसित भएका घटनाक्रमहरुले वर्तमान सरकारले परिवर्तन नहुने देखिएको बस्नेतले वताउनुभयो । “कि त यो सरकार नै बाँकी दुई वर्ष चल्छ, वा नयाँ निर्वाचनमा जाने अवस्था बन्छ”, बस्नेतले भन्नुभयो, “मुलुकको राजनीति फेरी पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरी घुम्छ ।”

बस्नेतले सरकार विरुद्ध अविश्वासको प्रस्ताव आउन नसक्ने तथा नेकपा (माओवादी केन्द्र)ले विश्वासको मत फिर्ता लिन नसक्ने अवस्थाले वर्तमान सरकारको निरन्तरता निश्चित देखिएको वताउनुभयो ।

फरक प्रसङ्गमा बस्नेतले अब अदालतले एमाले र माओवादी केन्द्रको एकता गराउन नसक्ने भन्दै एमालेमाथि षड्यन्त्र र जालझेल गर्ने सपना नदेख्न चेतावनी दिनुभयो । उहाँले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरुको अन्त्का लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरुलाई कारबाही गर्ने, स्पष्टिकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको वताउनुभयो ।

“जनवादका नाममा अराजकता स्वीकार्न सकिन्न”, बस्नेतले भन्नुभयो, “कारबाहीमा पर्नुभएका नेताहरुलाई सच्चिएर पार्टीको मूल नेतृत्वमा फर्कने अवसर दिइएकै छ ।”

पत्रकार भेटघाटमा राष्ट्रिय युवा संघका अध्यक्ष बच्चनबहादुर सिंहले संघले युवाहरुलाई उत्पादनमा जोड्ने कार्यक्रम अगाडि बढाउने वताउनुभयो । ब्यवस्थित संगठन निर्माणका लागि चैत मसान्तसम्ममा १० लाख युवालाई युवा संघको सदस्यता दिलाउने दाबी गर्दै अध्यक्ष सिंहले सरकार र पार्टीका धारणा सामाजिक सञ्जालबाट प्रचार गर्न ‘साइबर सेना’का रुपमा युवाहरुलाई परिचालन गरिएको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्