थपलियाको अध्यक्षतामा राष्ट्रिय युवा संघको जिल्ला कमिटी निर्वाचित



पाँचथर । राष्ट्रिय युवा संघ पाँचथरको २०१ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएको छ ।

बुधवार फिदिममा आयोजित संघको अगुवा कार्यकर्ता भेला तथा सफत ग्रहण कार्यक्रमबाट कमल थपलियाको अध्यक्षतामा २०१ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएको हो । उक्त कमिटीको उपाध्यक्षमा मणि लिङदेन, सचिवमा देवेन्द्र राई, सहसचिवमा सन्दीपविक्रम नेम्वाङ तथा कोषाध्यक्षमा प्रतिमा पौडेल रानामगर निर्वाचित हुनुभएको संघका केन्द्रीय सदस्य शान्ति राईले जानकारी दिनुभयो ।

उक्त भेला मार्फत राष्ट्रिय युवा संघले ऋतुवर्ण तुम्बापोको अध्यक्षतामा फिदिम नगर कमिटी समेत चयन गरेको छ । जिल्ला कमिटी तथा नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुले आजै सफत ग्रहण समेत गरेका छन् । युवा संघले सात वटै गाउँपालिकामा समेत अध्यक्ष सहितका पदाधिकारी चयन गरेको छ ।

भेलालाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य एवं राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत, संसद्को महिला तथा सामाजिक विकास समितिका सभापति एवं एमाले केन्द्रीय सदस्य निरुदेवी पाल, एमाले केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ, राष्ट्रिय युवा संघका अध्यक्ष वचनबहादुर सिंह, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, राष्ट्रिय युवा संघका सहअध्यक्ष किरण पौडेल, महासचिव रमेश आचार्य लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

राष्ट्रिय युवा संघलाई युवाहरुको सबैभन्दा सशक्त संगठन बनाउने, युवाहरुलाई उत्पादन र श्रममा जोडेर लैजाने, वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा साथ दिने, सरकार र पार्टी विरुद्धका गतिविधि रोक्न सशक्त भई लाग्ने, प्रविधि र सामाजिक सञ्जालको प्रयोगमा जोड दिने, कुलत र विकृतिमा फसेका युवाहरुलाई युवा संघमा संगठित गर्दै मर्यादित बनाउने जस्ता विषयमा वक्ताहरुले जोड दिएका थिए ।

एमाले केन्द्रीय कमिटी सदस्य एवं राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट पुनर्गठित र एकीकृत गर्न युवाहरुले मुख्य भूमिका खेल्नुपर्ने वताउनुभयो । राष्ट्रिय युवा संघका अध्यक्ष वचनबहादुर सिंहले चैत मसान्तभित्र देशभरिका कम्तिमा पाँच लाख युवालाई राष्ट्रिय युवा संघमा आवद्ध गर्न लागिएको भन्दै पाँचथरमा न्यूनतम पाँच हजार युवालाई संघको नयाँ सदस्यता दिलाउन जिल्ला कमिटीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्