‘हिँजो बाटोमा लगानी गरियो अब माटोमा गरौँ’



पाँचथर, १६ चैत

कृषकहरुले सङ्घीय संरचनाले सरकारी लगानी गाउँसम्म पु¥याएपनि विगतमा बाटोमा मात्रै लगानी भएको भन्दै अब माटोमा लगानी गर्न माग गरेका छन् ।

बाटोमा गरिएको लगानीले प्रतिफल दिन नसकेको वताउँदै यहाँका अगुवा कृषकहरुले उत्पादनशील क्षेत्रमा लगानी गरी बाटोमा गरिएको लगानी समेत उकास्नुपर्नेमा जोड दिएका हुन् । बाटोमा गरिएको लगानी बाटो छेउकै माटोमा गर्न सकिए प्रतिफल प्राप्त हुने र यसले सवल अर्थतन्त्रको विकास गर्ने कृषकहरुको भनाई छ । यसका लागि कृषि क्षेत्रमा गरिने लगानी वृद्धि हुनुपर्ने कृषकहरुले माग गरेका हुन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको चिया विस्तार आयोजना कार्यालय पाँचथरले हिँजो फिदिममा आयोजना गरेको ‘चिया तथा कफीको एकीकृत विकासका लागि बोर्ड र स्थानीय तहवीच समन्वय तथा अन्तरक्रिया कार्यक्रम’मा बोल्दै कृषकहरुले अब माटोमा लगानी गर्न तीनै तहका सरकार तयार भएमात्रै आर्थिक समृद्धि सम्भव भएको दलील पेश गरे ।

चिया र कफी सहित कृषि क्षेत्रमा सरकारी लगानी कमजोर भएको, वास्तविक कृषकहरुले सरकारी लगानी, ऋण, कर्जा तथा अनुदान प्राप्त गर्न नसकेको, यान्त्रिकीकरण, प्राविधिक ज्ञान र शीपको विस्तार हुन नसकेको कृषकहरु भनाई थियो ।

“हिँजोसम्म बाटोमा लगानी गरियो । न एक पटकको लगानीले बाटो गाडि चल्ने नै भयो न त प्रतिफल नै आयो”, कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेशप्रसाद पोखरेलले भन्नुभयो, “अब माटोमा लगानी गरौँ । कृषिलाई आधुनिक र ब्यवसायिक बनाऔँ ।” पोखरेलले कृषिमा लगानी थप्ने, युवा पुस्तालाई कृषिमा आकर्षण गर्ने, कृषिलाई यान्त्रिकीकरण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने वताउनुभयो ।

चिया कृषक टङ्कबहादुर राईले प्रशस्त सम्भावना भएपनि सरकारले सहयोग र उत्प्रेरणा प्रदान नगर्दा पाँचथरमा चिया र कफीको विस्तार एवं विकास हुन नसकेको वताउनुभयो । प्रतिफल लिन लामो समय लाग्ने भएकाले गरीब किसानहरुले चिया र कफीको खेती विस्तार गर्न नसकेको वताउँदै राईले सरकारले कृषकहरुलाई अतिरिक्त लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्का कृषक पेम्बा शेर्पामाले चिया र कफीको प्रशोधन र बजारिकरणका लागि उद्योग स्थापना हुन नसक्दा कृषकहरु अर्को नगदेवालीतर्फ लागेको वताउनुभयो । कृषक मोतीराज नेम्वाङले पहुँचवालाले कृषिको अनुदान, सहयोग तथा ऋण लिएको र सामान्य कृषक सधैँ ठगिनुपरेको वताउँदै अब सिधै कृषकको पहुँचमा पुग्ने नीति निर्माण गर्न माग गर्नुभयो ।

जिल्ला चिया उत्पादन सहकारी संघका अध्यक्ष नन्दकुमार आङथुपोले चिया र कफीको खेती विस्तार र फस्टाउने प्रशस्त आधारहरु रहेकाले सरकारले नर्सरीदेखि बजारिकरणसम्म सहयोग गर्नुपर्ने वताउनुभयो ।

चिया उत्पादक मुक्तिनाथ आचार्यले कृषकहरुलाई शीप सिकाई प्राविधिक ज्ञान दिई चिया खेती विस्तारमा लगानी गर्न सके पाँचथरमा इलाममा जत्तिकै चिया फस्टाउन सक्ने वताउनुभयो । उहाँले बैङ्कहरुबाट सहुलियत र सहज पहुँचमा कृषि कर्जा प्राप्त गर्न सकेमात्रै पनि कृषि क्षेत्रले फड्को मार्ने वताउनुभयो ।

चिया र कफीको क्षेत्रमा काम गर्दै आएका स्थानीय तहहरुले समेत माथिल्ला सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कफी ब्लक घोषणा भएको जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष दिलेन्द्रकुमार शेर्माले सुक्खा प्रभावित गाउँपालिकामा कफीमा धेरै लगानी भइसके पनि बजारको सुनिश्चितता र विपन्न कृषकहरुलाई सरकारले सहयोग गर्न सकेमात्रै लगानीले प्रतिफल दिनसक्ने वताउनुभयो ।

कृषि उपजको मूल्य र बजारबारे कृषकहरुलाई विश्वस्त तुल्याउनुपर्ने आवश्यकता रहेको वडाध्यक्ष शेर्माको भनाई छ । कफीमै लगानी गर्दै आएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बाँझिएका जग्गाहरुमा कफी खेती विस्तारमा तीन तहका सरकारवीच समन्वय आवश्यक रहेको वताउनुभयो ।

उहाँले कृषकहरुलाई आफ्नो लगानी र श्रम खेर जाँदैन भन्ने विश्वास दिलाउनुपर्नेमा जोड दिनुभयो । यस्तै चियामा लगानी गर्दै आएको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले हाताहाती प्रतिफल प्राप्त हुदैन् तर भावी पुस्ताले समेत चिया र कफीबाट आम्दानी लिन सक्छन भन्ने बुझाउनु आवश्यक रहेको वताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय बजारमा चिया र कफीको माग पूरा गर्न नसकिएको भन्दै उत्पादन बढाउन बोर्ड लागिपरेको वताउनुभयो ।

यी उत्पादनले राम्रो मूल्य पाउने हुँदा ग्रामीण अर्थतन्त्रलाई सबल बनाई समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै डा. भट्टराईले चिया र कफीका विकासमा रहेका परम्परागत धारणाहरु बदल्ने र ऐन तथा कानूनहरुलाई सहज बनाउनेतर्फ बोर्ड क्रियाशील रहेको वताउनुभयो ।

इतिहासमै पहिलो पटक चिया निर्यात नयाँ उचाईमा पुगेको भन्दै कार्यकारी निर्देशक डा. भट्टराईले यसले नेपालमा चियाको भविश्य छ भन्ने देखाएको वताउनुभयो ।

चिया र कफीको अन्तर्राष्ट्रिय ब्यापार सुरक्षित गर्न चीन, रुस, आयरल्याण्ड, संयुक्त अरब इमिरेट्स (युएई) लगायत मुलुकसँग सरकार–सरकारवीच ब्यापारका लागि समझदारीको प्रयास भइरहेको उहाँले वताउनुभयो । चिया र कफीको अन्तरिक खपत वृद्धिका लागि प्रदेशमा चिया प्रवद्र्धन केन्द्र स्थापना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

कृषि नीतिमा चिया र कफीलाई समेट्ने प्रयास भइरहेको जानकारी दिँदै डा. भट्टराईले चिया र कफीको खेतीमा लाग्ने हरेक कृषकहरुलाई बोर्डले सहयोग गर्ने भएकाले खेतीमा लाग्न आह्वान गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले सीमा जोडिएको इलाम चियाले विश्वमै परिचित भएपनि उस्तै भूगोल भएको पाँचथर छाँयामा परेको भन्दै अब चिया र कफीको खेती विस्तारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व गृह राज्यमन्त्री एवं पाँचथरको फिदिममा रहेको कञ्चनजंघा टी स्टेटका सञ्चालक दीपकप्रकाश बाँस्कोटाले खाली रहेका जग्गाहरुको सदुपयोग गरी चिया र कफीको विस्तार गर्ने तथा सरकारले बजार सुनिश्चित गर्नेतर्फ लाग्नुपर्ने वताउनुभयो । पाँचथरमा चियाको ब्यवसायिक उत्पादन हुँदै आएको छ भने कफी खेतीको विस्तार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्