तीन ठूला सडक आयोजनाको ठेक्का स्वीकृत



फिदिम । राष्ट्रिय योजना आयोगले पाँचथर, तेह्रथुम र ताप्लेजुङ समेट्ने तीन ठूला सडक आयोजनाको ठेक्का स्वीकृति दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको पहलमा मन्त्रालयले आयोगमा विभिन्न मितिमा स्वीकृतिका लागि गरेको पत्राचार बमोजिम आयोगले करीब चार अर्ब १५ करोड रुपैयाँ लागतका आयोजनाहरुको ठेक्का स्वीकृत गरेको हो ।

आयोगले चैत १२ गते मन्त्रालयलाई गरेको पत्राचारअनुसार प्रत्येक वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रदान गर्ने बजेट सिलिङमा समावेश गर्ने गरी आयोजनाहरुको बहुवर्षीय ठेक्का स्वीकृत भएको हो । उक्त स्वीकृतिसँगै अब यी आयोजनाहरुमा बजेट सुनिश्चित भई ठेक्का लाग्ने निक्र्यौल भएको छ ।

मन्त्रालयले पाँचथर जिल्लाभित्र मात्रै सञ्चालन हुने अमरपुर–हिलिहाङचोक–मेची राजमार्ग–जोरपोखरी हुँदै ताङलेपा–फालोट जोड्ने सडकको ठेक्काका लागि स्वीकृति दिएको छ । वैकल्पिक राजमार्गको रुपमा राखिएको यस सडकको विस्तार र स्तरोन्नति (कालोपत्रे)का लागि रु. एक अर्ब ५५ करोड २८ लाख बहुवर्षीय बजेट सीमा तय भएको छ । यस सडकले उत्तरी क्षेत्रका नागरिकलाई केही घण्टामा जिल्ला सदरमुकाम तथा प्रदेश राजधानी विराटनगरसम्मको पहुँच स्थापित गर्न सहयोग गर्नेछ ।

यस सडकले मुख्यतः भारतसँगको सीमाना फालोटसम्म सहज सडक पहुँच स्थापित गर्नेछ । भारतले ब्यापारिक नाका विस्तार गरेको अवस्थामा अमरपुरबाट तमोर कोरिडोर जोड्ने यस सडकले ब्यापारिक मार्गको समेत काम गर्नेछ । यससँगै पाँचथर भित्रैबाट उत्तरमा चिवाभञ्ज्याङ र दक्षिणमा फालोटबाट नेपालले भारतलाई कालोपत्रे सडकले जोड्नेछ ।

यस्तै उत्तरे–यासोक–लुमुघाट–म्याङलुङ (तेह्रथुम) सडकका लागि रु. ७९ करोड ९४ लाख बहुवर्षीय बजेट सीमा सहित ठेक्का स्वीकृत भएको छ । यासोक क्षेत्रबाट कालोपत्रे निर्माणाधीन राँके–भेडेटार सडक पुग्न, तेह्रथुमवासीलाई लुमुघाटबाट तमोर कोरिडोरमा जोड्न तथा पाँचथर र तेह्रथुमवीच सबैभन्दा छोटो सडक पहुँच स्थापित गर्न यो सडकले भूमिका खेल्नेछ ।

यस्तै तमोर कोरिडोर सडक (चतारा–मुलघाट–माझीटार–दोभान–ओलाङचुङगोला) अन्तर्गत पाँचथरको सुभाङ खोलादेखि ताप्लेजुङको थिंवासम्म सडक ग्रावेल (स्तरोन्नति)को ठेक्का समेत स्वीकृत भएको छ । यस आयोजनाका लागि रु. एक अर्ब ८० करोड बहुवर्षीय बजेट सीमा तोकिएको छ । उत्तर–दक्षिण रणनीतिक सडक आयोजनाअन्तर्गत तमोर कोरिडोरलाई छिटो पूर्णता दिन स्तरोन्नतिका लागि प्राप्त बजेटले सघाउ पुर्‍याउनेछ ।

प्रतिक्रिया दिनुहोस्