शेरधनका सारथीः जनयुद्धका कमाण्डरदेखि संविधानसभा सदस्यसम्म



फिदिम । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले दुई मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई ९ सदस्यीय बनाएका छन् । अझै दुईजना थपेर ११ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी छ ।

आफूविरुद्धको अविश्वास प्रस्ताव कायमै रहेका बेला राईले माओवादी केन्द्रबाट एमाले भएका नेतालाई समेत समेटी मन्त्रिपरिषद् विस्तार गरेका हुन् । राईको मन्त्रिपरिषद्‍मा दुई महिला समेटिएका छन् ।

यसअघि राज्यमन्त्री रहेका रामबहादुर मगर र अम्बिरबाबु गुरुङलाई विभागीय मन्त्री बनाइएको छ । राईको टिमका मन्त्रीहरू को हुन् ? त एकपटक चिनौं ।

हिक्मतकुमार कार्की

हिक्मतकुमार कार्की शुरूदेखिनै शेरधनको टिमका दोस्रो वरियताको मन्त्री हुन् । आन्तरिक मामिला तथा कानूनमन्त्री कार्की नेकपा एमालेको केन्द्रीय सदस्य हुन् । अनेरास्ववियूका पूर्वअध्यक्ष कार्की प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता हुन् ।

उनी झापाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कार्की नेपाल ल क्याम्पसको २०५३ को स्ववियू सभापतिसमेत निर्वाचित भएका थिए ।

टंक आङ्बुहाङ

नेकपा माओवादीका केन्द्रीय सदस्य तथा तत्कालीन संसदीय दलका नेता टंक आङ्बुहाङ जनयुद्धकालमा कमाण्डर थिए । उनी एमाले माओवादी एकीकरणपछि नेकपा केन्द्रीय सदस्य बने ।

मन्त्री बन्नेमा उनको नाम अगाडि थियो । तर, इन्द्र आङ्बोले बाजी मारेपछि उनी पार्टी संसदीय दलको उपनेता थिए । आङबुहाङ क्रिकेट संघका पूर्वअध्यक्ष पनि हुन् ।

नेकपा विभाजनपछि शुरूमा प्रचण्ड–माधव पक्षमा रहे पनि उनी पछिल्लो समय तटस्थ थिए । सर्वोच्च अदालतले एमाले माओवादी ब्युँताउनुअघिनै उनी र केन्द्रीय सदस्य पासाङ शेर्पा सुवास नेम्वाङलाई भेटेर ओली पक्षमा खुलेका थिए ।

हाल एमालेको केन्द्रीय सदस्यसमेत रहेका आङ्बुहाङ ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनले आफ्नो पद गए पनि ओलीको साथ नछाड्ने बताएर एमाले बनेका हुन् । उनी अर्थमन्त्री बनेका छन् ।

जगदिश कुसियैत

नेकपा एमालेको केन्द्रीय सदस्य रहेका जगदिशप्रसाद कुसियैत वामदेव गौतम निकट मानिन्थे । तर, संसदीय दलको निर्वाचनमा गौतमले भीम आचार्यलाई सघाउन दबाब दिएपछि उनले वामदेवको साथ छाडेर राईलाई साथ दिए ।

शुरूदेखि नै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रहेका कुसियैत २०५१ सालको उपनिर्वाचतमा सुनसरीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । कुसियतले गिरिजाप्रसाद कोइरालासँग पनि चुनाव लडेका थिए ।

उषाकला राई

उषाकला राई नेकपा एमालेकी प्रभावशाली महिला नेता हुन् । पति शेरबहादुर तामाङ र उनले प्रतिनिधिसभा पुनःस्थापनाभन्दा केही दिनअघि माधव नेपाल समूह छाडेर केपी ओलीलाई साथ दिएका थिए । उषाकला नेकपा विवादमा तटस्थ रहे पनि भित्रभित्रै मुख्यमन्त्री शेरधन राईको पक्षमा खुलिरहेकी थिइन् ।

खोटाङबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य निर्वाचित राई संविधानसभा सदस्य समेत हुन् । प्राध्यापन समेत गरेकी राई लैंगिक समानताको पक्षमा उभिने अभियन्ता पनि हुन् । नवनियुक्त मन्त्रीमध्ये उनी सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा छिन् ।

रामबहादुर मगर

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर नेकपा एमालेको इलामको अध्यक्ष भइसकेका नेता हुन् । झलनाथ खनालको निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्य निर्वाचन भएका राना अनेरास्ववियूको राजनीतिबाट उदाएका हुन् । उनी २०४३ सालको महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा सभापति निर्वाचित भएका थिए ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक मंगलबारे गाविसको अध्यक्षसमेत उनी एमालेको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै जिल्ला अध्यक्ष बनेका हुन । उनी नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वसचिव समेत हुन् । राजनीतिक परिर्वतनको लागी उनले ३ वर्ष जेल जिवनसमेत विताएका थिए ।यसअघि राज्यमन्त्री रहेका उनले झलनाथ–माधव नेपाल गुट छाडेर केपी ओलीलाई साथ दिएका थिए ।

अम्बिरबाबु गुरुङ

ओखलढुंगाबाट निर्वाचित प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्रीबाट फुलमन्त्री बनेका छन् । विकासप्रेमी नेताका रुपमा ओखलढुंगामा स्थापित हुँदै गएका गुरुङ नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुन् ।

गुरुङ २०५४ सालमा एमाले विभाजन हुँदा बामदेव गौतम नेतृत्वको नेकपा मालेबाट ओखलढुंगाको उम्मेदवार बनेका थिए । प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलको निकट रहेका गुरुङ मुख्यमन्त्री शेरधन राईलाई सफल पार्ने टिमको एक प्रमुख सदस्य हुन् ।

कला घले

उदयपुर निर्वाचन क्षेत्र २ ख बाट प्रदेशसभा सदस्य निर्वाचत भएकी कला घले निर्मल लामा नेतृत्वको कम्युनिस्ट पार्टीबाट राजनीतिमा लागेकी हुन् । २०५१ सालमा नेकपा एमालेमा प्रवेश गरेकी घलेसँग अनेमसंघ जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष र नेकपा एमाले जिल्ला कमिटीमा दुई कार्यकाल सदस्य भएर काम गरिसकेको अनुभव छ।

उनी करिब तीन दशकदेखि नेपाली राजनीतिमा सक्रिय छिन् । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरे पनि तत्कालै फिर्ता लिएर उनी नेकपा विभाजनको बेला केपी ओली पक्षमा लागेकी थिइन् । उनलाई भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनाइएको छ ।

राजकुमार ओझा

उद्यो, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा मोरङ ३ ख बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । सुन्दरहरैचा निवासी ओझा सो नगरपालिकाको मेयरका दावेदार थिए । माधव नेपाल पक्षका उनी भीम आचार्यसँग असन्तुष्ट भएर शेरधन राईको पक्षमा उभिएका थिए ।

२०४९ सालबाट नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरेका ओझा २०५१ सालदेखि ३ कार्यकालसम्म सुकुना बहुमुखी क्याम्पसको स्ववियू सभापति भएका थिए ।

ओझा अनेरास्ववियूको २ पटक जिल्ला अध्यक्ष हुँदै तत्कालीन अञ्चल कमिटीको २ कार्यकालमा समेत अध्यक्ष भएका हुन । उनी अनेरास्ववियूको पूर्वाञ्चल क्षेत्रीय प्रमुखका साथै केन्द्रीय सचिवालय सदस्य भएर २०६३ सालमा पार्टीको जिल्ला कमिटी सदस्य भएका थिए । ओझा पार्टीको जिल्ला कमिटी सचिवालय सदस्यसमेत हुन् । (नेपाल प्रेसबाट साभार)

प्रतिक्रिया दिनुहोस्