काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन



फिदिम । नेपाल काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज (शुक्रबार) निधन भएको छ ।

फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहनुभएका नेता जोशीको आजसाँझ ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ । मष्तिष्कघातपछि उहाँलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो ।

भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताउनुभयो ।

“नेता जोशीको निधनप्रति नर्भिक अस्पताल दुःख प्रकट गर्दछ । शोकाकूल परिवारमा समवेदनाका साथमा दिवंगत आत्माको चिरशान्तिको समेत कामना गर्दछौं” अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद हुनुहुन्छ । उहाँ प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उद्योग मन्त्री हुनुभएको थियो ।

को हुन् स्वर्गीय जोशी ?

बुवा गजेन्द्रराज जोशी र आमा गीता जोशीबाट २०१८ साल असार ३ गते काठमाडौंमा जन्मनुभएको थियो । जोशीले काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गर्नुभएको थियो । त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव हुनुभएको थियो । उहाँ नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह महामन्त्री र महामन्त्री बन्नुभएको थियो ।

जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्ष पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति प्रवेश गर्नुभएको थियो। नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गर्नुभएका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर समेत हुनुभएको थियो ।

पछि २०५६ सालमा युवा स्वरोजगारका कार्यकारी उपाध्यक्ष (राज्यमन्त्री सरह) हुनुभएको थियो । जोशीले त्यसै बखतमा युवा स्वरोजगारका क्षेत्रमा थुप्रै नीतिगत काम गर्नुभएको थियो । जोशीले २०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोल्नुभयो र गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गर्नुभएको थियो।

जोशीले २०६४, ७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी हुनुभएको थियो । उहाँ पहिलो संविधानसभामा नेपाली काँग्रेसका प्रवक्ता र सीमा अध्ययन समितिको संयोजक बन्नुभएको थियो । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री हुनुभएको थियो ।

अबको यात्रा आर्थिक समृद्धि भन्दै जोशीको अथक पहलमा २५ वर्षपछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन नेपालमा आयोजना भएको थियो । मन्त्री हुँदा जोशीले बन्द उद्योग खोलाउने, उद्यमशीलता युवा, उद्योगको विकास लगायत थुप्रै राम्रो काम गर्नुभएको थियो ।

उद्योग मन्त्री हुँदा जोशीले रुग्ण र बन्द अवस्थामा रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाउनुभएको थियो । उहाँका पालामा थुप्रै औद्योगिक अवरोधहरू हटाइ कानुनी सुधार पनि गरिएको थियो।

दुईपटक पार्टी केन्द्रीय सदस्य बन्नुभएका जोशी हाल पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । आगामी महाधिवेशनमा पार्टी महामन्त्रीमा उम्मेदवारी दिने गरी गृहकार्य अगाडि बढाइरहनुभएका जोशी फागुन १४ मा मष्तिष्कघात भएर उपचाररत रहेकै अवस्थामा दिवङ्गत हुनुभएको हो । मिजासिला, बौद्धिक र क्षमतावान् नेता जोशी नेपाली काँग्रेसमा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्