अख्तियारको टोलीको हेलिकोप्टरले धुलो उडाएपछि …



पाँचथर, १२ चैत ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली चढेको हेलिकोप्टर पाँचथरको फिदिममा ल्याण्ड गर्ने क्रममा अत्यधिक धुलो उडाएपछि उक्त विषयले सामाजिक सञ्जालदेखि सार्वजनिक समारोह समेतमा स्थान पाएको छ ।

आयोगका आयुक्त किशोरकुमार सिलवाल, केन्द्रीय कार्यालयका प्रवक्ता नारायणप्रसाद रिसाल, आयोगका इटहरी कार्यालयका प्रमुख बावुराम खतिवडा लगायत चढेको हेलिकोप्टर विहीवार विहान फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा ल्याण्ड भएको थियो । रङ्गशालाको रुपमा निर्माणाधीन उक्त खेलमैदानको डिलमा धुलो माटो थुपारिएको थियो । हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा धुलो र माटो उठाएको थियो ।

खेलमैदान पानीले नभिजाइएको तथा थुपारिएको माटो समेत सुक्खा हुनाले हेलिकोप्टर ल्याड गर्ने क्रममा खेलमैदान क्षेत्र धुलोमय देखिएको थियो । हेलिकोप्टर ल्याण्ड हुने क्रममा धुलो उडेका तस्वीरहरु सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । यस्तै आयोगले विहीवार नै फिदिममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका र सार्वजनिक निकायको दायित्व’ विषयक अन्तरक्रियामा समेत उक्त विषयले प्रवेश पाएको थियो ।

कार्यक्रममा पत्रकार लक्ष्मी गौतमले निर्माणाधीन खेलमैदानमा हेलिकोप्टर ल्याण्ड गर्दा उडेको धुलोले स्थानीयवासीलाई मर्का पारेको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो । “धोएर सुकाएका कपडादेखि पकाएर खान तयार पारेको खाना समेत धुलोले पुरेको स्थानीयवासीले गुनासो गर्नुभयो”, कार्यक्रममा गौतमले भन्नुभयो, “अन्य दुई वटा हेलिप्याड हुँदा हुँदै खेलमैदानमै ल्याण्ड गर्ने कुराले ‘तलाई अख्तियार लगाइदिन्छु’ भन्ने खालको भय र नकारात्मक सन्देश दियो ।”

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले अरु हेलिप्याडको प्रयोग नहुनु तथा सुरक्षाकर्मी आगलागी नियन्त्रणमा खटिएकोले खेलमैदान पानीले भिजाउन नसक्दा समस्या आएको भन्दै आउँदा दिनमा यस्तो समस्या हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले नगरपालिकाले आफ्नै लगानीमा फिदिम–२ ओदिनमा हेलिप्याड निर्माण गरेपनि प्रचार गर्न नसक्दा जिल्ला बाहिरबाट आएको टोलीले प्रयोग गर्न नपाएको र बजारबासीले समस्या भोग्नु परेको वताउनुभयो ।

आयोगको टोलीमा रहनुभएका आयुक्त किशोरकुमार सिलवाल, केन्द्रीय कार्यालयका प्रवक्ता नारायणप्रसाद रिसाल र आयोगका इटहरी कार्यालयका प्रमुख बावुराम खतिवडाले आफूहरुलाई खेलमैदान बाहेक अन्य हेलिप्याडबारे जानकारी नहुँदा यस्तो स्थिति आएको भन्दै दुःख ब्यक्त गर्नुभयो ।

आयोगको टोली निजी कम्पनीको हेलिकोप्टरमा फिदिममा ल्याण्ड भएको थियो । आयोगको इटहरी कार्यालयको आयोजनामा जिल्लाका स्थानीय तहका प्रमुखहरु, उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा अन्तर्क्रिया समेत सम्पन्न गरेको छ ।

(तस्वीर सौजन्यः लक्ष्मी गौतम ।)

प्रतिक्रिया दिनुहोस्