६ वर्षपछि दशरथ रंगशालामा फर्किँदै राष्ट्रिय फुटबल टोली



काठमाडौं । हुन्छ कि हुँदैन भन्ने द्विविधा र अन्योल चिर्दै नेपाली राष्ट्रिय फुटबल टोलीले ६ वर्षपछि दशरथ रंगशालामा बिहीबार पहिलो म्याच खेल्दै छ । थ्री नेसन्स कप अन्तर्गत नेपालको राष्ट्रिय टिम र किर्गिस्तानको यु २३ टिम आमनेसामने हुँदैछन् ।

दशरथ रंगशाला र नेपाली फुटबल एक–अर्काका पर्याय झैं बनेका थिए । तर, २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएपछि पाँच वर्षसम्म रंगशालाले फुटबलको मुख देख्न पाएन । पुनर्निमाणपछि १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन दशरथ रंगशालामा भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीले चाहिँ भूकम्पयता पहिलोपटक रंगशालामा अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको हो ।

सागमा नेपालको यु–२३ फुटबल टोलीले रंगशालामा खेलेको थियो र स्वर्ण पदक जितेको थियो । त्यसयता कोरोना महामारीका कारण रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फेरि बिरानो भयो । त्यसअघि शहीद स्मारक ‘ए’ डिभिजन लिग रंगशालामा भएको थियो । लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्बलले पहिलोपटक लिग जितेको थियो ।

मच्छिन्द्रले लिग जितेकै दिन साँझ तत्कालीन मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको प्रशिक्षणका लागि प्रारम्भिक टोलीसमेत बोलाएका थिए । तर, कोरोना भाइरसको महामारीका कारण ती सबै खेल एक वर्षपछि सरे । र, फेरि पनि रंगशालामा अन्तर्राष्ट्रिय फुटबल भएन ।

त्यसपछिको कोरोना महामारी सम्झिँदा एक वर्षअघि यति छिट्टै रंगशालामा फुटबल फर्कने सम्भव देखिएको थिएन । तर, करिब एक वर्षपछि राष्ट्रिय महिला लिगमार्फत् रंगशालामा फुटबल फर्कियो । त्यसले चाँडै नेपालले अस्ट्रेलिया र चाइनिज ताइपेईविरुद्ध विश्वकप तथा एसियन कप छनोट खेलेको हेर्ने आशा पुनःजिवित गरेको थियो ।

तर, उही कोरोनाको महामारीले फेरि एकपटक ती सबै खेल स्थगित भएपछि नेपाली राष्ट्रिय टोली र दर्शक निराश भए । तर, करिब ६ वर्षको खडेरी तोड्दै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले थ्री नेसन्स कपको आयोजना गर्‍यो ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको अर्को लहर चलेपछि फेरि यो प्रतियोगिता पनि अन्योलमा परेको थियो । तर, हिजो थ्री नेसन्स लिगको पहिलो खेल सम्पन्न भइसकेपछि बिहीबार हुने नेपाल र किर्गिस्तान यु–२३ बीचको खेललाई लिएर फुटबलप्रेमी र समर्थक दुवै उत्साहित छन् ।

कप्तान भन्छन्ः यो दिनका लागि धेरै पर्खिनुपर्‍यो

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ रंगशालामा नेपालको प्रतिनिधित्व गरेर खेल्ने दिन फर्किँदा विछट्टै खुशी लागेको बताउँछन् ।

‘रंगशालामा हामीले अन्तिम पटक २०१५ मा भारतविरुद्ध खेलेका थियौं, त्यसपछि के–के भयो के–के‘। फुटबल हुन्छ भन्यो, फेरि हुँदैन । हुन्छ भन्यो फेरि हुँदैन‘’ उनले भने, ‘तर, अब फाइनल्ली टुर्नामेन्ट सुरु भएको छ । यो दिनका लागि हामीले एकदमै धेरै पर्खिनु पर्‍यो ।’

भोलिको खेल र समग्र प्रतियोगिताका लागि कप्तान आफू र टोली पनि एकदमै उत्साहित रहेको गोलकिपर किरणको भनाइ छ । ‘हामी एकदमै धेरै उत्साहित छौं । हाम्रा लागि यो एकदमै महत्त्वपूर्ण पनि थियो । किनभने, विश्वकप छनोटअन्तर्गत हामीले अझै तीन खेल खेल्न बाँकी छ । अब सबै खेल नेपालमै होस् भन्ने आशा पनि छ ।’

नेपाली राष्ट्रिय टोलीले गत नोभेम्बरमा बंगलादेशविरुद्ध खेलेका दुई मैत्रीपूर्ण खेलमा एक हार र एक बराबरीको नजिता निकालेको थियो । त्यो नै नेपालले खेलेको अन्तिम अन्तर्राष्ट्रिय खेल हो ।

फिफा बरियताको १७१औं स्थानमा रहेको नेपालले भोलि किर्गिस्तान यु–२३ सँग खेल्दै छ । सिनियरतर्फको बरियतामा नेपालभन्दा ७५ स्थान माथि भएको किर्गिस्तानको यु–२३ टोलीविरुद्ध विजयी सुरुवात चाहन्छ नेपाल ।

‘इलेभेन भर्सेज इलेभेन’को तथ्यायङ्कअनुसार नेपालले यसअघि २००९ र २००३ मा दुईपटक किर्गिस्तानससँग खेलेको छ । तीमध्ये २००३ मा २–० गोलको पराजय भोगेको नेपालले २००९ मा दोस्रो खेलमा १–१ गोलको बराबरी खेलेको थियो ।

तर, ओलम्पिक टोली अर्थात् यु–२३ सँग पहिलो पटक खेल्न लागेको नेपाल ६ वर्षपछि घरेलु समर्थकासामु जितको खुशी साट्न चाहन्छ । ‘हामी लामो समयदेखि तयारी गरिरहेका छौँ,’ नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘त्यसैले खेलाडीहरूले प्रतिस्पर्धामा राम्रो गर्ने विश्वास छ ।’

नोभेम्बरमा भएका खेलमा नेपालको नतिजा सन्तोषजनक नहुनुको कारणमा तयारी नपुगेको र सबै खेलाडी उपलब्ध नभएको उनले औंल्याए । ‘त्यो बेला धेरै खेलाडीले विभिन्न कारणले खेलेका थिएनन् । एक हप्ता मात्रै अभ्यास गरेका थियौं । त्यो पनि पनि राम्ररी गर्न पाएका थिएनौँ । त्यसैले नतिजा राम्रो भएन,’ प्रशिक्षक महर्जनले भने । तर, अहिले अवस्था फरक रहेको र सबै कुरा अनुकुल रहेको उनले दावी गरे ।

बिहीबार साँझ ५ः३० बजे नेपाल र किर्गिस्तान यु २३ टोली भिड्नेछन् । दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले सामान्यतर्फ ७ सय र भीआइपी प्यारापिटतर्फ १ हजार ५ सय गरी १२ हजार टिकट बिक्री गरिरहेको छ ।

नेपाल, बंगलादेश र किर्गिस्तान यु २३ सहभागी प्रतियोगिता राउन्ड रोबिन पद्धतिको हो । र, पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै, मोस्ट भ्यालुएबल प्लेयरले ५०० तथा प्लेयर अफ दी म्याचले २५० डलर प्राप्त गर्नेछन् ।

र, यो प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक महर्जनले २३ जनाको टोली घोषणा गरेका छन् । प्रशिक्षक महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा टोली घोषणा गरेको हो । नेपालको टोलीमा फरवार्ड नवयुग श्रेष्ठ परेका छैनन् । विकाश खवास, विशाल श्रेष्ठ, सन्तोष तामाङ र ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष लामा पनि टोलीमा परेका छैनन् ।

नेपालको टोली

गोलकिपरः किरण लिम्बु, बिकेश कुथु, दीप कार्की

डिफेन्डरः रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डरः त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान

फरवार्डः अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास ।

(नेपाल प्रेसबाट)

प्रतिक्रिया दिनुहोस्