ब्राजिलमा कोरोनाको संक्रमण बढ्दो, एकैदिन ३ हजार बढीको मृत्यु



एजेन्सी । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण झन् बढेको देखिएको छ । यहाँका अधिकारीले दिएको जानकारीअनुसार मंगलबार मात्र त्यसअघिको २४ घन्टा भित्रमा मृत्यु हुनेको संख्या तीन हजारभन्दा बढी पुगेको जनाइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार यहाँ कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २ सय ५१ जना पुगेको बताएको समाचारमा उल्लेख गरिएको छ । योसँगै यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार मंगलबार सम्ममा ब्राजिलका २ लाख ९८ हजार भन्दा बढी व्यक्तिले यसबाट ज्यान गुमाएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ९८ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ । ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् ।

यसअघि यही मार्चको २८ तारिखका दिन यहाँ कोरोना भाइरसबाट २ हजार ८४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकैदिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो ।

ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलमा गत २४ घन्टामा ८० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित बिरामी भेटिएका पनि सो समाचारमा जनाइएको छ । गत सातादेखि नै यहाँका कोरोना संक्रमितको संख्या ५० हजार नाघेको बताइएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश पनि ब्राजिल नै हो ।

पछिल्लो पटक यहाँ भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा संक्रमित भेटिन थालेको समाचारमा जनाइएको छ । यहाँका अस्पतालहरुमा निकै ठूलो संख्यामा संक्रमित रहेका छन् भने पछिल्ला दिनहरुमा आइसियूमा रहेका नागरिकको संख्या पनि ठूलो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्