दुर्गाप्रसादको सम्पूर्ण उपचार प्रदेश १ सरकारले गरिदिने



इलाम । अदालती सुनुवाइ बिना ४० वर्ष भारतीय जेलमा बसेर शारीरिक तथा मानसिक रुपमा अस्वस्थ भै घर फर्किएका इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) को उपचार प्रदेश १ सरकारले गरिदिने भएको छ ।

प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले दुर्गाप्रसादको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले व्यहोर्ने बताएका हुन । इलामका प्रमुख जिल्ला अधिकारी दुर्गाबहादुर खड्कालाई फोन गरेर उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेको मन्त्री कार्कीले जानकारी दिए ।

प्रजिअ खड्काले पनि उपचारको पहल थालिएको बताएका छन । “दुर्गाप्रसादलाई तत्काल पायक पर्ने जुनसुकै अस्पतालमा उपचार गर्न लैजानुअघि जिल्ला प्रशासनलाई जानकारी गराउन उनका भतिजा गोपाललाई भनिसकें”, प्रजिअ खड्काले भने ।

भारत सरकारसँग क्षतिपूर्ति प्राप्तीका लागि समेत प्रदेश सरकारले तत्काल प्रक्रिया शुरु गर्ने जनाएको छ । भारतसँग क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाउन कागजी प्रक्रिया पूरा गर्न प्रजिअ खड्कालाई आग्रह गरेको मन्त्री कार्कीले जानकारी दिए ।

यसअघि बिनाकसुर लामो समयसम्म जेलमा बिताएको भन्दै सोमबार कोलकाता उच्च अदालतले पनि उनलाई क्षतिपूर्ति उपलब्ध गराउन पश्चिम बंगाल सरकारका नाममा आदेश दिएको थियो ।

शारीरिक तथा मानसिक समस्याबाट ग्रसित दुर्गाप्रसादको नेपाली नागरिकता छैन । नागरिकता बनाउन सबै प्रक्रिया पूरा गरेर पठाइदिन पनि वडाध्यक्षलाई भनि सकिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

६१ वर्षीय दुर्गाप्रसाद सन् १९८० मा हत्या अभियोगमा दार्जिलिङमा पक्राउ परेका थिए । ४० वर्ष जेलमा बिताएका उनलाई कोलकाता उच्च अदालतले गत बुधबारमात्रै रिहा गर्न आदेश दिएको हो । उनी आइतबार इलामस्थित घर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्