अविश्वास प्रस्ताव फिर्ता लिन एमाले संसदीय दलको निर्देशन



बीबीसी । नेकपा एमाले प्रदेश १ को संसदीय दलले मुख्यमन्त्रीविरुद्ध संसदमा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिन सांसदहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।

तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदहरूले गत पुसको दोस्रो साता मुख्यमन्त्री शेरधन राईविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। उक्त समूहले भीम आचार्यलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको थियो।

तीमध्ये केही सांसदले यसअघि नै अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको जानकारी प्रदेश सभालाई दिइसकेको बताइएको छ। प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, “तत्कालीन एमालेबाट निर्वाचित सांसद जसले उक्त प्रस्तावमा हस्ताक्षर गर्नु भएको छ, उहाँहरुलाइ हस्ताक्षर फिर्ता लिन लिखित रूपमै पत्राचार गरिने छ।”

अविश्वासको प्रस्ताव दर्ता गर्न अगुवाइ गरेका सांसद लक्षुमन तिवारीले परिस्थिति परिवर्तन भएकाले उक्त प्रस्ताव फिर्ता लिन आफूहरू तयार रहेको बताए। सबै प्रक्रिया मिलाएर केही दिनमै मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तिवारीले बताए।

कुल ९३ जना सदस्य रहेको प्रदेश १ प्रदेशसभामा एमालेबाट निर्वाचित सांसदको सङ्ख्या ५१ रहेको छ। माओवादी केन्द्रका १६, नेपाली काँग्रेसका २१ जना र अन्य साना दलका पाँच जना सांसद छा ।

प्रतिक्रिया दिनुहोस्