जडिबुटी सहकारी जिल्ला संघ गठन



फिदिम । पाँचथरमा जिल्ला जडिबुटी सहकारी संघ गठन भएको छ ।

यहाँ सक्रिय रहेका जडिबुटी सहकारीहरुको विहीवार फिदिममा भएको भेलाले पेम्बा शेर्पाको अध्यक्षतामा जिल्ला संघ गठन गरेको हो । जिल्लामा क्रियाशील रहेका १३ वटा जडिबुटी सहकारीहरुको सहभागितामा संघ गठन भएको हो । संघमा जम्मा १९ सदस्य निर्वाचित भई सदस्यहरुबाट कार्यसमिति चयन गरिएको नवनिर्वाचित अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

जिल्ला संघ गठन कार्यक्रममा ११ वटा सहकारीका प्रतिनिधि सहभागी भएका थिए । नवगठित संघको उपाध्यक्षमा तेजबहादुर आङथुपो, सचिवमा डिल्लीप्रसाद मुखिया र कोषाध्यक्षमा स्मृति शेर्मा निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा अनिल केरुङ, गुनेन्द्र सम्बाहाम्फे, अनिता इजम र चिरञ्जिबी आङ्देम्बे रहनुभएको छ । एक जना सदस्य मनोनयन गर्न बाँकी रहेको नवनिर्वाचित समितिले जनाएको छ ।

विहीवार जडिबुटी सहकारी संघ केन्द्रीय समितिका अध्यक्ष इश्वरी पाण्डेको प्रमुख आतिथ्यतामा संघको जिल्ला संघ घोषणा गरिएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य समेत रहनुभएका संघका अध्यक्ष पाण्डेले जडिबुटी सहकारीहरुको सम्वद्र्धनमार्फत जडिबुटी उत्पादन वृद्धि गरी जडिबुटी उत्पादकहरुको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिनुभयो । जडिबुटी क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई सदुपयोग गर्न संघले निरन्तर भूमिका खेल्ने उहाँको भनाई थियो ।

जडिबुटी सहकारी संघका केन्द्रीय सदस्य शङ्खध्वज नेम्वाङको अध्यक्षतामा आयोजित घोषणा कार्यक्रममा डिभिजन वन कार्यालय पाँचथरका प्रमुख उपेन्द्रप्रसाद पटेल, पाँचथर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रयागराज सुवेदी, जिल्ला सहकारी संघका सदस्य महेन्द्रप्रसाद लुइटेल, जिल्ला जडिबुटी सञ्जालका अध्यक्ष होमराज थाम्सुहाङ, वन पैदावार ब्यवसायी संघका कार्यालय ब्यवस्थापक वेनु तिम्सिना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका रिता खत्री, आयुर्वेद स्वास्थ्य केन्द्र फाल्गुनन्दका डा। राजु पराजुली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

वक्ताहरुले जडिबुटी सहकारी संघ स्थापना भएपछि जडिबुटी उत्पादन तथा प्रशोधनको कार्यमा वृद्धि हुने, जडिबुटीमा आधारित अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुग्ने तथा जडिबुटीमा आधारित उद्योग धन्दा र रोजगारी सिर्जनामा सघाउ पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

संघमा तीनचुले जडिबुटी सहकारी संस्था फाल्गुनन्द, तुम्बेवा जडिबुटी सहकारी संस्था तुम्बेवा, सेहोनाम्लाङ जडिबुटी सहकारी संस्था कुम्मायक, दाजुभाइ जडिबुटी कृषि सहकारी संस्था फाल्गुनन्द, फाल्गुनन्द जडिबुटी कृषि सहकारी संस्था फाल्गुनन्द, कमलपोखरी जडिबुटी कृषि सहकारी संस्था मिक्लाजुङ, फक्ताङलुङ जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था फालेलुङ, तीनसीमाना जडिबुटी कृषि सहकारी संस्था फालेलुङ, दोङसोच जडिबुटी कृषि सहकारी संस्था फिदिम, सेवा जडिबुटी कृषि सहकारी संस्था, जोरपोखरी जडिबुटी कृषि सहकारी संस्था मिक्लाजुङ लगायतका जडिबुटी सहकारी आवद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्