शिक्षक अभावमा संयुक्त कक्षा चलाइदै, शिक्षण सिकाई प्रभावित



पाँचथर, ३ फागुन । फिदिम नगरपालिका–११ फलाँटेमा रहेको पाथीभरा आधारभूत विद्यालयको कच्ची भवनका चार मध्ये दुई वटा कोठामा पठन–पाठन हुन्छ । पहिलो कोठाको ढोकामाथि लेखिएको छ ‘कक्षा ४ र ५’, दोश्रोको ढोकामाथि लेखिएको छ ‘कक्षा २ र ३’ ।

सोमवार दोश्रो कोठामा ११ जना विद्यार्थीहरुलाई पढाउँदै हुनुहुन्थ्यो शिक्षक चेतन न्यौपाने । “हाम्रो कक्षा दुईमा ‘रोग लाग्न नदिऔं’ भन्ने शीर्षक छ होइन् ?”, कक्षा दुईका विद्यार्थीलाई उहाँले सोध्नुभयो । विद्यार्थीले उत्तर दिए – “हो, सर ।” “अनि हाम्रो कक्षा तीनमा के छ भन त नानीहरु ?”, शिक्षक न्यौपानेले सोधेपछि विद्यार्थीले पढ्दै गरेको पाठको शीर्षक भने “रोगका कारण र लक्षण ।”

स्वास्थ्य विषयको कक्षा दुई र तीनको संयुक्त कक्षा चलाइरहनु भएका शिक्षक न्यौपानेले दुवै कक्षाका विद्यार्थीहरुलाई स्पष्टसँग बुझाउने उद्देश्यसहित रोग लाग्ने कारण, रोगका प्रकार, रोग लाग्न नदिने उपाय र रोगका लक्षणबारे विस्तृतमा ब्याख्या गर्नुभयो ।

दुई वटा कक्षाका दुई वटा पाठहरुमा धेरै विषयवस्तु फरक भएकाले विस्तृत ब्याख्या र लामो समयको कक्षामार्फत विद्यार्थीहरुलाई बुझाउने प्रयत्नमा शिक्षकहरु देखिन्थे । अर्को कोठामा पनि यसरी नै कक्षा ४ र ५ को गणित विषयको पठन–पाठन भइरहेको थियो ।

पाथीभरा आधारभूत विद्यालयमा एक दिन मात्रै होइन् सधैँ यसरी नै पढाई हुन्छ । पूर्व प्राथमिक कक्षादेखि कक्षा पाँचसम्म पढाई हुने यस विद्यालयमा ४० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा दुई शिक्षक दरबन्दीमा प्रधानाध्यापक चित्रकला घिमिरे र शिक्षक न्यौपाने हुनुहुन्छ ।

एक जना सहयोगी कर्मचारीले पूर्वप्राथमिक कक्षा सञ्चालन गरिरहनु भएको छ भने कार्यालय सहयोगी पदमा विभिन्न स्रोतहरुबाट तलब खुवाई एक जना शिक्षक राखिएको छ । दैनिक छ वटा कक्षा सञ्चालन गर्नुपर्ने भएपनि चार जना मात्रै शिक्षक हुँदा यस विद्यालयमा कक्षा दुई र तीनलाई एउटा तथा कक्षा चार र पाँचलाई अर्को संयुक्त कक्षामा परिणत गरी पठन–पाठन गराइदै आएको छ ।

“कक्षा दुईमा ‘क ख’ र ‘ए बी सी डी’ सिकेर आएका विद्यार्थी हुन्छन् । उनीहरुलाई पाठ पढाउँदा त्यहि किसिमले सिकाउनु पर्ने हुन्छ”, शिक्षक न्यौपानेले अनुभव सुनाउँदै भन्नुभयो, “कक्षा तीनमा थोरै परिपक्व र बुझ्ने भइसकेका हुन्छन् । एउटा कक्षालाई अगाडि लैजाँदा अर्कोलाई अगाडि बढाउन गाह्रो हुन्छ ।”

संयुक्त कक्षा सञ्चालन गर्दा विद्यार्थीहरुलाई बुझ्न र शिक्षकलाई बुझाउन निकै कठिन पर्ने गरेको शिक्षक न्यौपानेको अनुभूति छ । दुई वटा कक्षालाई संयुक्त कक्षामा पढाउन सामान्य विषय नभपनि असम्भव भने नरहेको उहाँ वताउनुहुन्छ ।

“विषयवस्तु एकअर्को कक्षामा केही त मिल्दाजुल्दा नै हुन्छन् । हामीले पाठहरुलाई सँगसँगै लगेर माथिल्लो कक्षालाई पुनःस्मरण गराउने र तल्लो कक्षालाई बुझाउने प्रयास गर्छौँ”, न्यौपानेले भन्नुभयो, “एउटा छुट्टै कक्षालाई शिक्षण सिकाई गरेजस्तो सहज छैन् र यसले विद्यार्थीको सिकाइमा थोरबहुत असर भने पारिरहेकै छ ।”

प्रधानाध्यापक चित्रकला घिमिरे संयुक्त कक्षा सञ्चालन गर्न निकै कठिन रहेको र यसले विद्यार्थीको सिकाइलाई प्रभाव पार्ने गरेको वताउनुहुन्छ । एउटा कक्षालाई बुझाउन लाग्दा अर्कोले हल्ला गर्ने, पढाइमा ध्यान तानिरहन नसकिने तथा शिक्षकले कक्षा कोठालाई आफ्नो नियन्त्रणमा राख्न नसक्ने अवस्था आउने गरेको उहाँको भनाई छ ।

चार जनामध्ये एक जना शिक्षक नभएको दिनमा भने पठन–पाठन नै प्रभावित हुने गरेको र यस्तो दिन विद्यार्थी रुघ्ने काम मात्रै हुने प्रअ घिमिरेको भनाई छ । “पढाइलाई प्रभावकारी बनाउन पाठ्यभार मिलाएर दैनिक तीन वटासम्म विषयहरु पढाउँछौ”, प्रअ घिमिरेले भन्नुभयो, “दुई वटा पिरियडलाई एकै बनाएर विस्तृतमा बुझाउने प्रयास गर्छौँ ।”

शिक्षक अभावले संयुक्त कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता पाथीभरा आविको मात्रै होइन् । कक्षा छ सम्म पठन–पाठन भइरहेको फिदिम–४ को जागृति आधारभूत विद्यालयमा समेत प¥याप्त शिक्षक छैनन् । विद्यालयसँग निजी स्रोतमा शिक्षक राख्नसक्ने आर्थिक स्रोत छैन् । उक्त विद्यालयले समेत पूर्वप्राथमिक कक्षा र कक्षा एकलाई संयुक्त कक्षामा राखी पढाउँदै आएको छ ।

“खेलाउनु पर्ने नानीहरु र पढाउनु पर्ने विद्यार्थीहरुलाई एकै कक्षामा राखेर पढाउन समस्या पर्छ नै”, यो विद्यालयका प्रअ डिल्लीराम लुइटेलले भन्नुभयो, “माथिल्ला कक्षाहरुमा राम्रो मेहनत गरेर पढाउन सकियोस् भनेर कक्षा एक र पूर्वप्राथमिक तहलाई संयुक्त कक्षा बनाएका हौँ ।”

फिदिम–४ मै रहेको तिरतिरे आधारभूत विद्यालयमा समेत शिक्षक अभावको समस्या छ । जसकारण कक्षा चार र पाँचलाई संयुक्त कक्षाका रुपमा पठन–पाठन गराउने गरिएको छ । उक्त विद्यालयका शिक्षक सन्तोष भण्डारी संयुक्त कक्षाले शिक्षण सिकाइ प्रभावकारिताको अवस्था निकै कमजोर हुने गरेको वताउनुहुन्छ ।

“दुवै कक्षालाई आधा–आधा समय दिनुपर्ने हुन्छ । आधा समयमा पढाइएको पाठका सबै विषयवस्तुहरुलाई समेट्न सकिन्न । यसरी पढाउँदा कोर्स पनि पूरा गर्न सकिँदैन्”, भण्डारीले भन्नुभयो, “विद्यार्थीले सबै ज्ञान पाउन सकेका छैनन् । गृहकार्य दिन र गृहकार्य हेर्न सकिँदैन् ।”

उक्त विद्यालयले केही वर्षदेखि निजी स्रोतमा एक जना शिक्षक थपेपछि केही सहज भएको शिक्षक भण्डारीको भनाई छ । “अहिले अभिभावकहरुको जागरुकताले एक जना शिक्षकलाई निजी स्रोतमा राखेका छौँ”, भण्डारीले भन्नुभयो, “अन्य स्रोत नहुँदा विद्यालय सञ्चालनमा समस्या छ ।”

संयुक्त कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता यी विद्यालयहरुको मात्रै होइन् । जिल्लाका दर्जनौं विद्यालयहरुले यस प्रकारको अभ्यास गरेर विद्यार्थीहरुलाई शिक्षाको ज्योती दिँदै आएका छन् । फिदिम नगरपालिकाको शिक्षा शाखाकी प्रमुख निर्मला दाहालका अनुसार फिदिम भित्रै दर्जनौं विद्यालयहरुमा शिक्षक अभावका कारण संयुक्त कक्षा सञ्चालन भइरहेका छन् ।

सरकारी मापदण्डअनुसार न्यून विद्यार्थी संख्या भएका विद्यालयहरुलाई प¥याप्त शिक्षकको ब्यवस्था गर्नसक्ने अवस्था नरहेको दाहालको भनाई छ । “प्रस्तावित विद्यालयहरुमा त यस्तो समस्या हुन्छ नै, अनुमति पाएका विद्यालयहरुमा समेत शिक्षक अभाव छ”, दाहालले भन्नुभयो, “माथिल्लो कक्षाको अनुमति लिँदा विद्यालय आफैँले शिक्षकको ब्यवस्था गर्ने दाबी गर्छन् । अनुमति पाएपछि शिक्षक राख्न सक्दैनन् ।”

फिदिम नगरपालिका भित्रै कतिपय विद्यालयहरुमा शून्य दरबन्दीमा माथिल्ला तहहरु सञ्चालनमा छन् । “प्राथमिक तहमा मात्रै दरबन्दी भएका विद्यालयले निमावि तथा निमावि तहमा मात्रै दरबन्दी भएकाले मावि तह चलाइरहेका छन्”, दाहालले भन्नुभयो, “तहमै शून्य दरबन्दी भएका विद्यालयहरुमा नगरपालिकाले स्वयंसेवक शिक्षकको ब्यवस्था गरेको छ ।”

फिदिम नगरपालिकाले माध्यमिक तहमा चार जना तथा आधारभूत तहमा नौ जना स्वयंसेवक शिक्षक खटाएको दाहालले जानकारी दिनुभयो । फिदिमका कालिका मावि, भगवती मावि, सिद्धकाली मावि र जनता माविमा माध्यमिक तहको दरबन्दी शून्य छ ।

प्रतिक्रिया दिनुहोस्