मध्यपहाडीको पूर्वी खण्ड कालोपत्रेको चरणमा



पाँचथर, ३ चैत । पुष्पलाल (मध्यपहाडी) राजमार्गको पूर्वी खण्ड कालोपत्रेको चरणमा पुगेको छ ।

कूल ३८३ किलोमिटर लम्बाईको पूर्वी खण्डको सबै भाग ट्र्याक खोलिएको १० वर्षपछि कालोपत्रेको चरणमा पुगेको हो । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पाँचथरका अनुसार पूर्वी खण्डमा पर्ने सबै उपखण्डहरुमा कालोपत्रेका लागि ठेक्का लागेको छ । सरकारी लक्ष्यअनुसार आगामी आर्थिक वर्षमा पूर्वी खण्डको कालोपत्रे सम्पन्न हुनुपर्ने भएपनि उद्गम उपखण्ड कालोपत्रेको गत माघमा मात्रै ठेक्का लागेकाले कालोपत्रे पूरा हुन अबको दुई वर्ष लाग्नेछ ।

पूर्वी खण्डमा ट्र्याक खोलिएपनि कतिपय उपखण्डहरु वर्षौंदेखि ट्र्याकमै सिमित थिए भने कतिपय उपखण्डहरुको मर्मत तथा स्तरोन्नतिका कार्य हुँदै आएका थिए । तर चालु आर्थिक वर्ष २०७७÷०७८ मा सरकारले सबै उपखण्डहरु कालोपत्रेका लागि बजेट सुनिश्चित गर्दै ठेक्का लगाएपछि पूर्वी खण्ड नै कालोपत्रेको चरणमा पुगेको हो ।

पूर्वी खण्ड राजमार्गको उद्गम विन्दू पाँचथरको चिवाभञ्ज्याङदेखि भोजपुरको चखेवासम्म रहेको छ । पूर्वी खण्ड पाँचथरमा १११ किलोमिटर, तेह्रथुममा ११६ किलोमिटर, धनकुटा ४८ किलोमिटर र भोजपुर १०८ किलोमिटर पर्छ । यस खण्डमा कालोपत्रे भएका तीन वटा सडक समेत समेटिएका छन् । जसको लम्बाई १२८ किलोमिटर रहेको छ ।

जसमा पाँचथरमा पर्ने मेची राजमार्गको जोरसाल (फिदिम)–गणेशचोक ४० किलोमिटर, तेह्रथुम र धनकुटामा पर्ने वसन्तपुर–हिले सडक २२ किलोमिटर र धनकुटा र भोजपुरमा पर्ने लेगुवा–भोजपुर ६६ किलोमिटर छन् । यस बाहेकको २५५ किलोमिटर सडक राजमार्ग आयोजनाअन्तर्गत कालोपत्रेको काम अगाडि बढेको हो ।

आयोजनाबाटै ७७ किलोमिटर कालोपत्रे सम्पन्न

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको यस राजमार्गको पूर्वी खण्डमा आयोजनाबाटै हालसम्म ७७ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पाँचथर प्रमुख सुरेश न्यौपानेका अनुसार पूर्वी खण्ड अन्तर्गत पाँचथरमा पर्ने दारिम्बा–गणेशचोक नौ किलोमिटर तथा जोरसाल–माझीटार ११ किलोमिटर तीन वर्षअघि नै कालोपर्ने सम्पन्न भइसकेको छ ।

तेह्रथुममा पर्ने माझीटार–सक्रान्तिबजार २५ किलोमिटर समेत दुई वर्षअघि निर्माण सम्पन्न भएको छ । भोजपुरमा भोजपुर–चखेवा उपखण्डको ४२ किलोमिटर मध्ये ३२ किलोमिटर कालोपत्रे पूरा भएको छ । उक्त उपखण्डको बाँकी १० किलोमिटर समेत कालोपत्रे सुरुआत हुने अवस्थामा पुगेको न्यौपानेले जानकारी दिनुभयो ।

बाँकी खण्ड दुई वर्षभित्र

पूर्वी खण्डमा १७८ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । यद्यपी कालोपत्रे हुन बाँकी सबै उपखण्डहरुलाई कालोपत्रेका लागि ठेक्का लगाइसकिएको योजना कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

कालोपत्रे हुन बाँकी उपखण्डहरुमा पाँचथरमा पर्ने चिवाभञ्ज्याङ–दारिम्बा ५१ किलोमिटर, तेह्रथुममा पर्ने सक्रान्तिबजार–म्याङलुङ ६५ किलोमिटर र म्याङलुङ–बसन्तपुर २६ किलोमिटर छन् । यस्तै धनकुटामा पर्ने हिले–लेगुवा २६ किलोमिटर र भोजपुरमा पर्ने भोजपुर–चखेवाको १० किलोमिटर कालोपत्रे हुन बाँकी छ ।

योजना कार्यालयका प्रमुख न्यौपानेका अनुसार कालोपत्रे हुन बाँकी सबैभन्दा लामो उपखण्ड सक्रान्तिबजार–म्याङलुङ उपखण्डलाई नौ वटा प्याकेजमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइएको छ । जसमध्ये पञ्चमीबजार आसपासको १५ किलोमिटर सडक निर्माणमा ढिलाई भइरहेको छ ।

“उक्त प्याकेजलाई अरु प्याकेजसँगै कालोपत्रेको चरणमा पु¥याउन कठिन पर्छ कि भनेर ताकेता गरिरहेका छौँ”, न्यौपानेले भन्नुभयो । यसै आर्थिक वर्षमा उक्त उपखण्डको आधाभन्दा बढी हिस्सालाई कालोपत्रे गर्ने कार्यालयको लक्ष्य छ ।

म्याङलुङ–वसन्तपुर उपखण्ड चालु आ.व.मै कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । तीन खण्डमा विभाजन गरी निर्माण भइरहेको यो उपखण्डको १० किलोमिटर कालोपत्रेको काम सुरुआत भएको न्यौपानेले जानकारी दिनुभयो । हिले–लेगुवा खण्डलाई दुई प्याकेजमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ भने भोजपुर–चखेवा उपखण्डको १० किलोमिटर यसै आ.व.मा कालोपत्रे पूरा हुनेछ ।

आयोजनाको उद्गम उपखण्ड चिवाभञ्ज्याङ–दारिम्बा भने गत माघमा मात्रै ठेक्का प्रकृयामा गएको थियो । तीन प्याकेजमा विभाजन गरी यस उपखण्डलाई कालोपत्रे गर्न लागिएको छ । पूर्वी खण्डमा सुरुआतमै ट्र्याक खोलिएको भएपनि कालोपत्रेका लागि बजेट सुनिश्चित नहुँदा सबैभन्दा ढिलो गरी यो उपखण्ड कालोपत्रेको चरणमा पुग्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्