म्यान्मारमा एकै दिन मारिए ५० जना प्रदर्शनकारी, सैन्य कानून लागू



फिदिम, २ चैत । म्यान्मारमा सैन्य ‘कू’ विरुद्ध भएको प्रदर्शनका क्रममा आइतबार एकै दिन कम्तिमा ५० प्रदर्शनकारी मारिएका छन् । बीबीसी हिन्दीका अनुसार सेना तथा प्रहरीले गोली चलाउँदा धेरै प्रदर्शकारीको ज्यान गएको छ ।

यस घटनालाई गत महिना सैन्य ‘कू’ भएयताकै सबैभन्दा घातक र रक्तपातपूर्ण घटनाको रुपमा हेरिएको छ । म्यान्मारका नागरिकले सैन्य कूको विरोध गर्दै लोकतन्त्र पुनर्स्थापना हुनुपर्ने माग गर्दै शुरुवातदेखि प्रदर्शन गरिरहेका छन् ।

यस दौरान यसअघि पनि एकै दिन १८ र ३८ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । आइतबारको हिंस्रक घटनापछि म्यान्मारमा सैन्य कानुन कडा रुपमा लागू भएको छ । प्रदर्शनकारीले लोकतान्त्रिक नेतृ आङ साङ सूची, राष्ट्रपति विन मिन्टसहितका शीर्ष नेताहरुको रिहाइको माग गरिरहेका छन् ।

हाल जहाँ–जहाँ सैन्य कानुन लागू गरिएको छ त्यहाँ प्रदर्शन भए उनीहरुमाथि सेनाको कानुनअनुसार मुद्दा चल्ने छ । बीबीसीका अनुसार याङ्गुनमा प्रदर्शनकारीहरूले चिनियाँ उद्योग तथा कारखानाहरुमा आगजनी गरेका छन् ।

चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन् । त्यसकारण त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायीमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको हो ।

झडपका क्रममा औद्योगिक क्षेत्रमा सुरक्षा फौजले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए । म्यान्मारका सेनाले गत फेब्रुअरीदेखि सत्ता हातमा लिएका छन् । सेनाले गत नोभेम्बरको चुनावमा सुचीको पार्टीले धाँधली गरेर बहुमत ल्याएको आरोप लगाएका छन् । त्यसयता लगातार प्रदर्शन जारी छ ।

म्यान्मारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन् । अमेरिकाले राजनीतिक संकटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति नै दिने भएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्