आगलागी प्रभावितलाई पाँचथर उद्योग वाणिज्य संघको राहत



पाँचथर । पाँचथर उद्योग वाणिज्य संघले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी प्रभावितहरुलाई राहत रकम प्रदान गरेको छ ।

संघले जिल्लाका उद्योगी ब्यवसायीहरुबाट सङ्कलित रु. १ लाख ११ हजार रकम प्रदान गरेको हो । शनिवार दोभान बजार पुगेको संघका अध्यक्ष दीपक नेपाल नेतृत्वको टोलीले मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूलाई उक्त रकम नगदै हस्तान्तरण गरेको हो ।

नगद हस्तान्तरण गर्दै संघका अध्यक्ष नेपालले विपत्तिमा परेको समयमा उद्योग ब्यवसायीहरुलाई सानो भएपनि राहत दिलाउने प्रयास गरिएको वताउनुभयो । उहाँले आगलागीबाट ब्यवसायविहीन भएका उद्योगी–ब्यवसायीका समस्या समाधान गर्न पाँचथर उद्योग वाणिज्य संघले समेत पहल गर्ने वताउनुभयो । उहाँले बीमा नहुँदा ब्यवसायीहरुले ठूलो घाटा सहनु परेको भन्दै सबै उद्योग ब्यवसायलाई बीमाको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूले गाउँपालिका आगलागीपीडितहरुलाई पूर्ववत अवस्थामा फर्काउन लागिपरेको वताउनुभयो । उहाँले घर निर्माण र ब्यवसाय सञ्चालनका लागि पीडितहरुलाई नगदै राहत उपलब्ध गराउन थालिएको वताउनुभयो ।

मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुशार हालसम्म गाउँपालिकाले करीब ४० लाख रकम पीडितहरुलाई राहत स्वरुप उपलब्ध गराइसकेको छ । यस्तै खाद्यान्न, लत्ता कपडा लगायत सामग्री समेत उपलब्ध गराइएको छ ।

गत फागुन १८ गते दोभान बजारमा आगलागी हुँदा ४९ वटा घर टहरा जलेका थिए । आललागीमा ४० करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट ६३ परिवार ब्यवसायी तथा स्थानीय विस्थापित भएका थिए । अहिले उनीहरु आगलागी भएकै स्थानमा त्रिपालमा बसिरहेका छन् ।

राहत वितरण कार्यक्रममा पाँचथर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुवराज थापा, पूर्व महासचिव रमेश भगत प्रधानाङ्ग, संघका सदस्यद्वय सुवास कान्दु र चन्द्र डाँगी, नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुङ्गाना लगायतको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्