१२५ कृषकलाई एक लाखका दरले पुरस्कार



पाँचथर, २१ फागुन

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले १२५ जना कृषकहरुलाई रु. एक लाखका दरले पुरस्कार प्रदान गरेको छ ।

गाउँपालिकाले तय गरेको मापदण्ड पूरा गरेका धान र मकै उत्पादक कृषकहरुलाई विहीवार आयोजित गाउँपालिकाको नवौं गाउँसभाको अवसरमा रु. एक लाख पुरस्कारले पुरस्कृत गरिएको हो । गाउँपालिकाको ‘कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्यदउपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ अनुसार मापदण्ड पुगेका कृषकहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

गाउँपालिकाले ४० मुरी वा सोभन्दा बढी धान फलाउने तथा कम्तिमा २० फिट लम्बाई र चार फिट चौडाईको मकैँको थाङ्ग्रो राख्ने कृषकहरुलाई उक्त पुरस्कार प्रदान गरेको हो । कृषक प्रोत्साहन कार्यविधिअनुसार यत्तिका कृषि उपज एकै परिवारले उत्पादन गर्नुपर्ने ब्यवस्था थियो ।

कृषि उपज उत्पादनको मात्रा वृद्धि गर्न गाउँपालिकाले तय गरेको नीतिअनुसार पुरस्कार दाबी गर्नेमध्ये १२५ जनाले मापदण्ड पूरा गरेपछि नगद पुरस्कार सहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिनुभयो ।

पुरस्कृत मध्ये ५९ जना मकै उत्पादक कृषकहरु छन् भने ६६ जना धान उत्पादन कृषक छन् । सबैभन्दा बढी मिक्लाजुङको वडा नं. ८ का २७ जना कृषकहरुले तोकिएको मात्रामा मकै उत्पादन गरेका छन् ।

मकै उत्पादकतर्फ वडा नं. १ का तीन जना, वडा नं. २ का चार जना, वडा नं. ३ का १० जना, वडा नं. ५ का तीन जना, वडा नं. ६ का पाँच जना, वडा नं. ७ का सात जना र वडा नं. ८ का २७ जना कृषकहरुले पुरस्कार पाएका हुन् । यस्तै धान उत्पादकतर्फ वडा नं. २ का सात जना, वडा नं. ३ का १४ जना, वडा नं. ४ का १४ जना, वडा नं. ५ का १८ जना, वडा नं. ६ का सात जना र वडा नं. ७ का सात जना कृषकहरुले पुरस्कार पाएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले वताउनुभयो ।

कोभिड—१९ सङ्क्रमणको महामारी र बन्दाबन्दीसँगै कृषकहरुलाई कृषि उपज उत्पादनमा प्रोत्साहित गर्न गाउँपालिकाले मापदण्ड तय गरी पुरस्कारको दिने नीति लिएको थियो । गत वैशाक अन्तिम साता बसेको गाउँ कार्यपालिकाको बैठकले मापदण्ड पूरा गर्ने कृषकहरुलाई पुरस्कार दिने निर्णय गरेपछि कृषकहरु परम्परागत बालीका रुपमा रहेका धान र मकैको उत्पादन वृद्धिमा जुटेका थिए ।

एकै परिवारले भाडा वा अन्य सर्तमा अर्काको जमिनमा तोकिएको मात्रामा धान र मकै उत्पादन गरेपनि पुरस्कार दिने गाउँपालिकाको निर्णयले कृषकहरुलाई हौस्याएको थियो ।

गाउँपालिकाले ३५ मन (प्रतिमनमा ४० किलो) भन्दाबढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु. २० पुरस्कार दिइने निर्णय समेत गरेको थियो । उक्त मापदण्डअनुसारका दाबीको गाउँपालिकाको अनुगमन समितिले अनुगमन गरिरहेको वताइएको छ ।

वास्तविक उत्पादकहरुले मात्रै पुरस्कार प्राप्त गर्ने ब्यवस्थाका लागि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा प्राविधिकहरु सम्मिलित अनुगमन टोलीहरु निर्माण गरेको थियो । नियमित अनुगमनमा तोकिएको मात्रामा अन्न उत्पादन गर्न सफल भएका कृषकहरुलाई पुरस्कृत गर्न सिफारिस गरिएको थियो ।

सोही सिफारिसका आधारमा गाउँपालिकाले कृषकहरुलाई पुरस्कृत गरेको हो । आगामी आर्थिक कृषक प्रोत्साहन पुरस्कारसम्बन्धी मापदण्डलाई थप परिमार्जित गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको कृषक प्रोत्साहन नीतिले कृषकहरुलाई दोहोरो फाइदा भएको छ । पुरस्कार प्राप्त गर्न कृषकहरु उत्पादन वृद्धिका लागि लागिपर्दा उनीहरुका परिवारलाई वर्षभरी खान पुग्ने अन्न उत्पादन भएको छ भने १२५ जनाले रु. एक लाख रकम प्राप्त गरेका छन् ।

एकैपटक रु. एक करोड २५ लाख कृषकहरुका हातमा पुगेको छ । अधिकांश क्षेत्र खेतीयोग्य जमिन रहेको मिक्लाजुङमा अन्य स्थानीय तहहरुको तुलनामा सिँचाइको समेत राम्रो व्यवस्था छ । तर खेतीयोग्य जमिन बाँझिदै गएकाले गाउँपालिकाले प्रोत्साहनको ब्यवस्था गरेको गाउँपालिका अध्यक्ष अमरराज माखिमले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्