सडकले नेपालसँग जोडियो भारतको सिक्किम



पाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ ।

पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङ स्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दू चिवाभञ्ज्याङमा सिक्किमबाट समेत सडक विस्तार भएपछि सडक मार्गबाट आवत–जावत सम्भव भएको छ । सिक्किम राज्य सरकारले नेपालको सीमासम्म सडक विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको थियो ।

सोहीअनुसार सिक्किम पहिलो पटक सडक मार्गले नेपालसँग जोडिएको हो । सिक्किम (भारत)ले माघको अन्तिम साता सडकको ट्र्याक चिवाभञ्ज्याङमा दशगजासम्म विस्तार गरेको हो । सडकको ट्र्याक खोलिएपछि सिक्किमका स्थानीय सरकारी अधिकारी, जनप्रतिनिधिहरु तथा निर्माण ब्यवसायीहरुले चिवाञ्ज्याङ क्षेत्रको अवलोकन समेत गरेका थिए ।

नेपालले वि.सं. २०७० सालमा चिवाभञ्ज्याङसम्म सडकको ट्र्याक विस्तार गरेको थियो । भारततर्फ पश्चिम सिक्किमको उत्तरे बजारसम्म वर्षौंअघि सडक आइपुगेको थियो । सिक्किमले सन् २०१९ मै चिवाभञ्ज्याङसम्म सडक विस्तार गर्ने चर्चा चलेपनि निर्माणको कार्यले गति लिन सकेको थिएन ।

भौगोलिक कठिनाईका कारण उत्तरेबाट सीमा क्षेत्रसम्म सडक विस्तार कार्यमा ढिलाई हुँदै आएको थियो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेको सरकारले सीमासम्म सडक विस्तार गर्ने तथा उत्तरे बजारलाई ब्यापारिक रुपमा विकास कार्यलाई प्राथमिकता राखेअनुसार पछिल्लो पटक निकै द्रूत गतिमा सडक निर्माण भएको सीमा क्षेत्रका नेपालीहरुको भनाई छ ।

विगतमा चिवाभञ्ज्याङबाट करीब चार घण्टा पैदल यात्रापछि उत्तरे पुग्न सकिन्थ्यो । सडक विस्तारपछि करीब डेढ घण्टामा चिवाभञ्ज्याङ–उत्तरे यात्रा हुनसक्ने सिक्किमको ‘सिक्किम न्यूज’ ले जनाएको छ । उत्तरे बजारबाट सोकपाखा, जरिबुटे, भालुवाले हुँदै सडकको ट्र्याक सीमासम्म विस्तार गरिएको हो । पछिल्ला केही वर्षमा निकै दूर्गम भूगोलमा करीब २५ किलोमिटर नयाँ ट्र्याक खोलिएको हो हो ।

नेपालले चिवाभञ्ज्याङसम्म सडक पु¥याएपछि पनि भारततर्फ सडक विस्तार नहुँदा सीमा क्षेत्रका नेपाली चिन्तित थिए । तर सीमासम्म भारतले सडक ल्याएपछि उनीहरु खुशी देखिन्छन् । अब चिवाभञ्ज्याङमा ब्यापारिक नाका खोलिनुपर्ने तथा ब्यापारिक सम्बन्ध स्थापित हुनुपर्ने उनीहरुको माग छ ।

“उत्तरेको विकास गर्ने भनेर सिक्किम सरकार लागिपरेको सुनेका छौँ”, याङवरक–२ का स्थानीयवासी सन्त बेघाले भन्नुभयो, “एकापट्टि मात्रै काम गरेर पुग्दैन् । दुवैतर्फ ब्यवस्थित सडक निर्माण र ब्यापारिक नाका स्थापना हुनुपर्छ ।”

पदयात्रा सहयोगी एवं गोठ सञ्चालक डिकबहादुर राई पनि नाका खोलिनुपर्ने, आवत–जावत र ब्यापार सहज हुर्नेमा जोड दिनुहुन्छ । “सिमित भएपनि सीमा क्षेत्रका हामी अधिकांश सामग्री सिक्किमबाट खरिद गर्छौँ”, राईले भन्नुभयो, “नाका खोलियो भने नागरिकलाई सुविधा त हुन्छ नै सरकारलाई समेत ठूलो फाइदा मिल्छ ।”

अहिले भारतबाट खरिद गरिने सामग्री यहाँसम्म ल्याइपु¥याउन ढुवानीमा धेरै खर्च हुने गरेको छ । सिक्किमबाट खरिद गर्न सके छोटो दूरी हुने हुँदा सामग्री कम मूल्यमा नेपाली उपभोक्ताले प्राप्त गर्न सक्दछन् ।

यस्तै सीमा क्षेत्रका पर्यटकीय स्थलहरु भ्रमण गर्ने भारतीय पर्यटकको संख्या उल्लेख्य हुने गरेको छ । सडकको सुविधा नहुँदा पर्यटकको संख्या कम हुने गरेको पदयात्रा सहयोगी राईको भनाई छ । अहिले पनि भारततर्फ सडकको ट्र्याक मात्रै खोलिएको छ ।

सवारी सञ्चालनका लागि सडक कठीन भएकाले घुम्न आउनेको संख्या वृद्धि हुन सकेको छैन् । ब्यापारिक नाका स्थापित हुनसके भारततर्फ समेत पूर्वाधार निर्माणले गति लिने भएकाले यसका लागि कुटनीतिक पहल गरिनुपर्ने स्थानीयवासीको माग छ । नेपालतर्फ भने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड ५१ किलोमिटरको कालोपत्रेको ठेक्का लागिसकेको छ ।

दुवै देशका सीमा क्षेत्रका स्थानीयवासीवीच बिहेवारी हुने गरेको छ । विगतमा गोठबाट गाँसिएको साइनो पारिवारीक सम्बन्ध हुँदै दुई देशवीचको मैत्री सम्बन्धमा परिणत हुने गरेको छ । यसकारण चिवाभञ्ज्याङ नाका हुँदै आवत–जावत गर्नेको संख्या समेत उल्लेख्य हुन्छ ।

पारिवारीक सम्बन्ध भएपनि यातायातको सुविधा नहुँदा कयौं सर्वसाधारणले आफन्त भेट्न पाएका थिएनन् । दुवै देशतर्फ सडकको स्तरोन्नति हुनसके दैनिक आवागमन अझै बढ्ने स्थानीयवासी बताउँछन् । सिक्किमको नेपालको पाँचथर र ताप्लेजुङ जिल्लासँग सीमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्