भद्रपुर भन्सारबाटै तस्करी, प्रहरीले पक्रियो दुई करोडको मोबाइल सामग्री



फिदिम । तेस्रो मुलुकबाट आयातित कम्तीमा दुई करोडको मोबाइल सामग्री झापा प्रहरीले बरामद गरेको छ।

झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार भद्रपुर भन्सारबाट छुटेका तीन वटा मालबाहक सवारीसाधनबाट सो बराबरका मोबाइल सामग्री बरामद गरिएको हो। मे१ज १८२१, प्र–१–०१००१ ज ३४७६ र मे१ज २२१८ नम्बरका मालबाहक सवारीसाधनबाट मोबाइलमा प्रयोग हुने ठूलो परिमाणको टेम्पर ग्लास बरामद भएको हो।

भट्टराईका अनुसार पक्राउ पर्नेमा चालकहरू बुद्धिनाथ पौडेल, ऋषि कामत, मोहन राजवंशी र सामान धनी मनोजकुमार श्रेष्ठ छन्। यी तिनै वटा मालबाहक ट्रक भद्रपुर भन्सार कार्यालयबाट जाँचपास भइसकेका थिए। तीमध्ये आधा सामग्रीको मात्र भन्सार कागजात देखिएको छ, बाँकीको छैन।

पक्राउ परेका चालकले ती सामग्री भद्रपुर-१० का मनोजकुमार श्रेष्ठको रहेको बताएपछि श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा राखिएको प्रहरी उपरीक्षक भट्टराईले बताए। “सामान क–कसका लागि ल्याइएको थियो र भन्सार कर्मचारीले कसरी जाँचपास गराए भन्ने विषय अनुसन्धानको क्रममा छ”, प्रहरी उपरीक्षक भट्टराईले भने।

उनका अनुसार ती सामान जाँचपास हुनुअघि नै प्रहरीलाई सूचना आएको थियो। ती सामग्री भन्सारबाट कसरी छुट्लान् भनेर प्रहरी कुरिरहेको थियो। तर, सामग्री छुटेर अगाडि बढेपछि प्रहरीले रोक्यो।

“भन्सारबाट निस्केर पाँच सय मिटर टाढा पुगेपछि हाम्रो टोलीले ट्रक समातेको हो”, भट्टराईले भने। भद्रपुर भन्सार कार्यालयले ती सामग्री के कसरी छोड्यो भन्ने विषयमा प्रहरी र राजश्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले त्यसरी भन्सार जाँचपास भएका गाडीलाई सिधै राजश्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाएको छ। साधारणतयाः त्यसरी पक्राउ परेका सामग्री भन्सार कार्यालय बुझाउनुपर्ने नियम छ।

“तर, भन्सार कर्मचारीको मिलेमतो भएको हुनसक्ने भएकाले हामीले भन्सार नबुझाइ ती सामग्री र ट्रक राजश्व अनुसन्धान कार्यालय बुझायौं” झापा प्रहरीले भन्यो। भन्सार कार्यालयबाटै तस्करी हुने गरेको घटना यो प्रकरणले सार्वजनिक गरेको पनि छ।

उल्लेखित सवारीसाधन र चालकलाई राजश्व अनुसन्धान कार्यालयले भन्सार चोरी पैठारी मुद्दा दायर गरेको छ। उच्च अदालत इलामले पक्राउ सबैलाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइसकेको छ।

भन्सार कार्यालयबाट यसरी ठूलो परिमाणको सामग्री कसरी जाँचपास भयो भन्नेबारे राजश्व अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ। पक्राउ परेकालाई हिरासतमा राखेर सोधपुछ भइरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए। (सेतोपाटी डटकमबाट)

प्रतिक्रिया दिनुहोस्