कसले पाउला ‘नेकपा’ ? ऋषि कट्टेल, ओली वा प्रचण्ड–माधव ?



फिदिम । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले विभाजित अवस्थामा छ । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–माधव पक्ष र ओली पक्ष दुवैले पार्टीको आधिकारिकता दाबी गरिरहँदा ऋषि कट्टेलले नयाँ ट्विस्ट ल्याउने सम्भावना देखिएको छ ।

आफूले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा एमाले–माओवादी मिलेर बनेको पार्टीको नाम समेत नेपाल कम्युनिस्ट पार्टी राखेको भन्दै सर्वोच्चमा कट्टेलले निवेदन दिएका थिए । शक्ति र बलमा आफ्नो पार्टीको नाम अर्को पार्टीलाई दिएको भन्दै उनले सुरुमा निर्वाचन आयोगमा उजुरी गरेका थिए ।

कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि अन्डरलाइनमा नेपाल कम्युनिस्ट पार्टी राखेको सत्तारुढ दलको नाममा जेठ १७ मा अन्डरलाइन हटाएर कोष्ठक थपियो । उसले नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ को जानकारी दिँदै निर्वाचन आयोगसमक्ष प्रस्ताव राख्यो । जेठ २३ गते निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेसँगै पार्टीको नामले वैधानिकता पायो ।

आफ्नो पार्टीसँग जुध्ने नाम राखेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध दिएको कट्टेलले दिएको उजुरी निर्वाचन आयोगले ०७५ कात्तिक ९ मा खारेज गर्यो । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको ०७५ जेठ ३ गते एकता भएको पार्टीले आफ्नै पार्टीझैँ नेकपा नै नाम जुधाएपछि उनले विज्ञप्ति निकालेर पनि विरोध जनाएका थिए ।

अहिले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन आई आधिकारिक पार्टीको मान्यता कसको पक्षले पाउने भन्ने विवाद कायम छ । यसै समयमा सर्वोच्च अदालतले ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको विषयमा परेको रिटमाथिको फैसला सुनाउने तयारी गरेपछि नेकपाभित्र नयाँ ट्विस्ट आउने सम्भावना बढेर गएको छ ।

सोही विवादलाई लिएर सर्वोच्च पुगेका कट्टेलको मुद्दामा अन्तिम फैसला फागुन २० गते आउने भएको छ । ०७५ मङ्सिर २१ गते नै अदालतमा दर्ता भएको निवेदनबारे ‘ठूलो’ नेकपाभित्र विवाद चलिरहेकै बेला फैसला आउने भएको हो ।

यस्तो छ विवाद

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गरी एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नाम राखेका थिए । ऋषि कट्टेलको नेतृत्वमा सोही नामको अर्को पार्टी पहिले नै भएका कारण निर्वाचन आयोगले ओली र प्रचण्डको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न अस्वीकार गर्यो ।

कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ०७३ मङ्सिर २३ गते नै निर्वाचनआयोगमा दर्ता भएको देखिन्छ । तर, गठबन्धन बनाएर निर्वाचनमा जानुअघि नै नामको विषयमा सहमति गरेकाले नेपाल कम्युनिस्ट पार्टीबाहेकको नाममा दुवै पक्षको सहमति बन्ने स्थिति थिएन ।

त्यसपछि ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नामको पछाडि (नेकपा) थपेर दल दर्ता गर्यो । जुन नेकपा निर्वाचन आयोगको दल दर्ता सूचीमा ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नाममा ०७५ जेठ २३ गते मात्र दर्ता भएको देखिन्छ । यसमा असन्तुष्ट भएका कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

फैसलाको विषयमा कट्टेल भन्छन्ः

सुनुवाइ सकिएको छ । म पार्टीको काममा अहिलेचाहिँ धनगढी जानुपर्ने भएर हिँडिहालेँ । २० गते फैसला आउँछ भनेको छ ।

मेरो माग के हो भने निर्वाचन आयोगले हाम्रो नामसँग जुधाएर त्यो नेकपा भन्ने नाम राख्यो । नेकपा पहिले नै दर्ता भएको नाममा यिनीहरूको बदनियत भएकाले आयोगले गरेको निर्णय बदर गरिपाऊँ भन्ने हो ।

बहस सकिएको छ, अब फैसला आउन मात्र बाँकी छ । हाम्रो पनि काम सकियो । खै अब उनीहरूको (माओवादी र एमाले मिलेर बनेको नेकपा) तर्फबाट बहस गर्न आएका मुक्ति प्रधानले चाहिँ मलाई ‘लु दाइ बधाई छ’ भनेर हिँडेका थिए । के हो म मेसो नै पाउँदिनँ ।

अहिलेचाहिँ म भोलिको कार्यक्रमका लागि धनगढी जाँदै छु । म मुद्दा जित्छु भन्ने छ । (फरकधार डटकमबाट)

प्रतिक्रिया दिनुहोस्