फिदिममा प्रधानमन्त्रीको पक्षमा वृहत जनसभा, ओली बाहेकले सूर्य चिन्ह दाबी गर्न मिल्दैनः रायमाझी



पाँचथर, ७ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पाँचथरमा (आज) शुक्रवार वृहत जनसभा सम्पन्न गरेको छ ।

नेकपा जिल्ला कमिटीको आयोजनामा फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित जनसभामा सहभागी हुन जिल्लाका आठ वटै स्थानीय तहबाट हजारौँ नेकपा समर्थक, शुभेच्छुक, नेता कार्यकर्ता तथा सर्वसाधारण सहभागी भएका थिए ।

सभामा नेकपाका स्थायी कमिटी सदस्य एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं नेकपाका नेता वसन्तकुमार नेम्वाङ, संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ लगायतले सम्बोधन गर्नुभएको थियो । नेकपा पाँचथरका जिल्ला कार्यालय सदस्य एवं हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य आशारत्न जबेगू, जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा सहितका जनप्रतिनिधिहरु समेत सहभागी हुनुहुन्थ्यो ।

उक्त सभालाई सम्बोधन गर्दै (नेकपा)का स्थायी कमिटी सदस्य एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने वताउनुभयो ।

प्रधानमन्त्री पक्षीय नेकपा पाँचथरले आज पाँचथरको फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले अर्को पक्षका प्रथम अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हालसम्म सूर्य चिन्हबाट चुनाव नलडेकाले उक्त चिन्ह दाहालको नेतृत्वले पाउन नसक्ने वताउनुभयो ।

“पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन् । जुन चिन्ह आफूले प्रयोग गरेको छैन् त्यहि कसरी दाबी गर्न मिल्छ”, रायमाझीले भन्नुभयो “बरु उहाँले हसिया हथौडा चुनाव चिन्ह माग्न सुहाउँछ । सूर्य चिन्हबाट चुनाव लड्ने हो भने केपी ओलीले टिकट दिनुपर्छ ।”

पार्टीको अध्यक्ष र प्रधानमन्त्री पदका लागि धै¥यता गर्न नसकी दाहाल तथा बरिष्ठ नेता माधवकुमार नेपाल पार्टीबाट बाहिरिएको र कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्न खोजेको उहाँले वताउनुभयो । सहमतिबाट केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउन नसक्ने भएपछि चोरबाटो एकता भाड्न खोजेको मन्त्री रायमाझीको भनाई छ ।

केपी ओली विरुद्ध तरवार चलाउन चाहनेहरु ओलीले खुट्टा चलाउँदा सडकमा पुगेको उहाँले वताउनुभयो । निर्वाचनबाट शंका नपाल्न आग्रह गर्दै उहाँले चुनावमा आउन नेपाली काँग्रेस लगायतका पार्टीलाई आव्हान समेत गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले देश समृद्धिको बाटोमा हिँड्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने योजना बनाउने काम भएपनि सफल हुन नसकेको वताउनुभयो । अब ताजा जनादेशका लागि निर्वाचनमा जुट्न उहाँले जिल्लावासीलाई आग्रह समेत गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिने प्रचण्ड–माधवहरु आफैँ असफल भएको वताउनुभयो । प्रधानमन्त्री पक्षीय नेकपाले पाँचथरका सात वटा गाउँपालिकामा गाउँपालिकास्तरीय सभा सम्पन्न गरी आज फिदिममा जिल्ला स्तरीय सभा सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्