

यासोक, ५ फागुन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले महाधिवेशनबाट पार्टी अध्यक्ष र चुनावबाट प्रधानमन्त्री पद छाड्छु भन्ने केपी शर्मा ओली इतिहासकै पहिलो ब्यक्ति भएको वताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुम्मायक गाउँपालिका कमिटीले हिँजो यासोक बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले प्रधानमन्त्री ओलीको जस्तो त्यागको भावना देखाउन नेताहरुलाई चुनौति दिनुभयो ।
“चैतमा हुने भनि तय महाधिवेशनबाट अध्यक्ष र अर्को आवधिक निर्वाचनबाट प्रधानमन्त्री हुन्नँ भनेर प्रधानमन्त्रीले भन्नुभएकै थियो”, मन्त्री नेम्वाङले भन्नुभयो, “पार्टी अध्यक्ष हुन तीन महिना र प्रधानमन्त्री हुन डेढ वर्ष पर्खन नसकेर नेताहरुले षड्यन्त्र गर्दा मध्यावधि निर्वाचनमा जानु प¥यो ।”

७० वर्षको कम्युनिष्ट इतिहासमा ओलीको जस्तो त्याग अरु नेताले देखाउन नसकेको वताउदै मन्त्री नेम्वाङले कम्युनिष्ट आन्दोलन ‘सखाप’ हुन लागेपछि मध्यावधि निर्वाचनबाट रक्षा गर्ने निर्णय लिइएको वताउनुभयो ।
चीनसँगको पारवहन सम्झौता, नाकाबन्दीको सामना, कालापानी–लिपुलेक समेटेर नक्सा प्रकाशन गर्ने कार्यले प्रधानमन्त्री ओली ‘राजनेता’को रुपमा स्थापित भएको मन्त्री नेम्वाङको भनाई छ । “यीनै काम विगतका अन्य प्रधानमन्त्री किन गर्न सक्नुभएन् ?”, नेम्वाङले प्रश्न गर्दै भन्नुभयो, “केपी ओलीले यी सबै काम गर्ने हिम्मत गर्दा जस दिन किन तयार हुनुभएन् ?”
प्रधानमन्त्री ओलीलाई घेराबन्दी र चक्रब्यूहमा पारिएको र संसद्मा सांसद् किनवेचको विकृत खेल खेल्न खोजिएको उहाँले आरोप लगाउनुभयो । नेम्वाङले मुलुकलाई अप्ठ्यारोमा जान दिनुभन्दा नयाँ संसद्बाट निकास दिन खोजिएको वताउनुभयो । नेकपाको पुनर्गठन आवश्यक देखिएको भन्दै नेम्वाङले विकास र समृद्धिका कार्य निर्वाचन वा नयाँ सरकार बन्दैमा नरोकिने वताउनुभयो ।

आफूले प्रतिनिधिसभा सदस्यमा चार पटक सूर्य चिन्हबाट उम्मेद्वार भई तीन पटक विजय हाँसिल गरेको वताउँदै मन्त्री नेम्वाङले अहिले सूर्य चिन्हबाट चुनावै नलडेकाहरुले उक्त चिन्ह दाबी गर्नु हाँस्यास्पद रहेको वताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ, नेकपाका अध्यक्ष राजकुमार भण्डारी, प्रदेशसभा सदस्य आशारत्न जबेगू, भूमिहीन तथा सुकुम्बासी समस्या समाधान आयोगका पाँचथर अध्यक्ष करुणा राई, कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ लगायतले समेत सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा कुम्मायकका तीन जना वडाध्यक्षहरु, गाउँ कार्यपालिकाका सदस्यहरु सहितका जनप्रतिनिधिहरु, स्थानीयवासी तथा नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो । कुम्मायकमा प्रधानमन्त्री पक्षले जनताको उल्लेख्य उपस्थितिमा जनसभा सम्पन्न गरेको हो । यसअघि जिल्लाको तुम्बेवा, फाल्गुनन्द, याङवरक र हिलिहाङमा समेत उक्त पक्षले आमसभा सम्पन्न गरिसकेको छ ।