पाँच वटा पर्यटकीय स्थल विकास साझेदारीका लागि संघीय सरकारको रु. १३ करोड ५१ लाख बजेट



पाँचथर, ३ फागुन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको विशेष पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचथरका पाँच वटा पर्यटकीय स्थलहरुमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारीका लागि रु. १३ करोड ५१ लाख बजेट छुट्ट्याएको छ ।

मन्त्रालयले जारी गरेको ‘पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारीसम्बन्धी सूचना’ अनुसार यहाँका पाँच वटा पर्यटकीय स्थलहरुमा स्थानीय तहसँगको साझेदारीमा पूर्वाधार निर्माण हुन लागेका हुन् । पाँच वटा स्थलहरुमा पूर्वाधार विकासका लागि कूल लागत रु. १९ करोड ६८ लाख रहेको छ ।

जसमध्ये रु. १३ करोड ५१ लाख रकम मन्त्रालयबाट छुट्ट्याएको हो । लागत साझेदारीअनुसार बाँकी रकम सम्बन्धित स्थानीय तहले विनियोजन गर्नुपर्ने छ । चालु आर्थिक वर्षमा सुरु हुने पूर्वाधार विकासका योजना आगामी तीन वर्षमा सम्पन्न हुने मन्त्रालयले जनाएको छ ।

जारी सूचनाअनुसार जिल्लाको याङवरक गाउँपालिका स्थित निशान कालिका धाम तथा याङवरक पोखरी संरक्षण आयोजनाका लागि मन्त्रालयले रु. तीन करोड ५० लाख बजेट छुट्ट्याएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने तय भएको यस आयोजनाको कूल लागत रु. पाँच करोड छ । रु. एक करोड ५० लाख लागत गाउँपालिकाले ब्यहोर्नु पर्ने छ ।

यस्तै कुम्मायक गाउँपालिका स्थित कुम्मायक–कुस्सायक क्षेत्रको पर्यटन विकासका लागि मन्त्रालयले रु. दुई करोड ३७ लाख बजेट छुट्ट्याएको छ । रु. तीन करोड ४० लाख कूल लागतको आयोजना दुई तीन वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ । गाउँपालिकाले रु. एक करोड तीन लाख लागत ब्यहोर्नु पर्ने छ ।

यस्तै हिलिहाङ गाउँपालिका स्थित ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रमा प्यागोडा शैलीको दरबार निर्माणका लागि मन्त्रालयबाट रु. तीन करोड ५० लाख बजेट विनियोजन हुने भएको छ भने रु. एक करोड ५० लाख रकम गाउँपालिकाले छुट्ट्याउनु पर्ने छ । रु. पाँच करोड कूल लागतको आयोजना आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यस्तै फिदिम नगरपालिकामा फाल्गुनन्द सर्किटअन्तर्गत शिवालय–देउराली सिंढीमार्ग तथा सर्पेडाँडा महादेवपोखरी लब्रेकुटी–सिलौटी साइकल ट्र्याक निर्माणमा समेत लागत साझेदारी हुने भएको छ । कूल रु. चार करोड ८७ लाखको यस आयोजनाका लागि मन्त्रालयको रु. तीन करोड १७ लाख तथा नगरपालिकाको एक करोड ७० लाख बजेट छुट्ट्याउने भएका छन् । यो आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यस्तै जिल्लाको फालेलुङ गाउँपालिका स्थित सीमावर्ती क्षेत्र तीनसीमानामा पर्यटक आवाश गृह निर्माण तथा गोर्खेपानीदेखि तीनसीमानासम्म पदमार्ग निर्माणका लागि साझेदारी भएको छ । कूल रु. एक करोड ४१ लाखको यस आयोजनामा मन्त्रालयको रु. ९७ लाख तथा गाउँपालिकाको ४३ लाख लागत रहने छ । यो आयोजना समेत दुई वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

देशभरीका २०० वटा पर्यटकीय स्थलहरुमा पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकासका लागि मन्त्रालयले स्थानीय तहहरुसँग साझेदारी गरेको हो । पाँचथरमा लागत साझेदारीमा पूर्वाधार निर्माण हुने भएका स्थानहरु पर्यटकको उल्लेख्य उपस्थिति हुने स्थलहरुमा पर्दछन् । संघीय सरकारसँगको साझेदारीले पर्यटकीय पूर्वाधार निर्माणमा सहजता मिल्ने जनप्रतिनिधिहरुको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्