निर्वाचनमा जुट्न आव्हान गर्दै, विकासका प्रगतिहरु सुनाउँदै जनतामा नेकपा प्रधानमन्त्री पक्ष



पाँचथर, ३ फागुन

पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निर्वाचनमा जुट्न आव्हान गर्दै हालसम्म विकासमा भएका प्रगति र आगामी योजना लिएर जनतामा गएको छ ।

यस क्रममा नेकपाका नेता एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहितका नेताहरुको उपस्थितिमा उक्त पक्षले पाँचथरका गाउँपालिका स्तरमा जनसभाहरु आयोजना गरेको छ । जसअनुसार मन्त्री नेम्वाङ, संविधानसभाका सदस्य अइन्द्रसुन्दर नेम्वाङ, नेकपा जिल्ला अध्यक्ष राजकुमार भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा लगायतको उपस्थितिमा पाँचथरको याङवरक, हिलिहाङ, फाल्गुनन्द र तुम्बेवा गाउँपालिकामा गाउँपालिकास्तरीय जनसभा सम्पन्न भएका छन् ।

प्रधानमन्त्री पक्षले आयोजना गरेको जनसभामा जनप्रतिनिधिहरु सहित नेकपाका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने गरेको छ । नयाँ विकसित राजनीतिक घटना क्रमपछि हालसम्म आइतवारसम्ममा चार हजार भन्दा बढी अगुवा नेता, कार्यकर्ता, पार्टी समर्थक, शुभेच्छुक तथा सर्वसाधारणसँग अन्तरक्रिया गरिएको नेकपाका अध्यक्ष राजकुमार भण्डारीले वताउनुभयो ।

जिल्लाको तुम्बेवा, फाल्गुनन्द र हिलिहाङमा आयोजित आमसभाहरुमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायत दलबाट उक्त पक्षमा करीब ४० जना प्रवेश समेत गरेका छन् । गत शनिवार आयोजित जनसभामा हिलिहाङ–६ बाट मात्रै २५ जना नेकपामा प्रवेश गरे । कार्यकर्ता र नेताहरुको उपस्थितिले नेताहरु समेत उत्साहित देखिएका छन् ।

उक्त पक्षले कार्यक्रम गर्न बाँकी तीन वटा गाउँपालिकाहरु कुम्मायक, मिक्लाजुङ र फालेलुङमा समेत जनसभा तथा पार्टी कार्यकर्तासँग अन्तरक्रिया गर्ने तयारी गरेको छ । जनसभाहरुमा मध्यावधि निर्वाचनमा जानुपर्ने बाध्यताका विषयमा नेताहरु स्पष्ट पार्ने गरेका छन् भने अब निर्वाचनमा जुट्न पार्टी पङ्ती र सर्वसाधारणहरुलाई आग्रह गर्दै आएका छन् ।

“संघीय सरकारबाट तीन वर्षमा आठ हजार किलोमिटर सडक विस्तार भयो । जसमध्ये कालोपत्रे मात्रै तीन हजार किलोमिटर हो”, याङवरकमा आयोजित जनसभालाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले भन्नुभयो, “एकै पटक ३०६ स्थानीय तहमा अस्पताल शिलान्यास भए, ४० जिल्ला अध्याँरोमुक्त हुँदैछन्, सबै सर्वसाधारणको घरमा जस्तापाता सरकारले लगाइदिँदै छ । तर यी कामको विगतमा हाम्रो पार्टी कमिटीले किन प्रचार गर्न सकेन ?”

सरकारले सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास जस्ता क्षेत्रमा फड्को मार्ने गरी गरेको काम नदेख्ने तर स–साना कमजोरी प्रचार गर्ने प्रवृत्तिले पार्टीलाई भावनात्मक रुपमा एक हुन नदिएको उहाँले वताउनुभयो । “रेलमार्ग, सुरुङमार्ग, काठमाण्डौँ बाहिर अन्तर्राष्ट्रिय विमानस्थल विस्तार जस्ता काम नदेख्नेहरुलाई जनताले निर्वाचनबाट जवाफ दिनुपर्छ”, नेम्वाङले भन्नुभयो ।

पार्टी पुनर्गठन गरेर चुस्त, बलियो र जनताको प्यारो संगठन बनाउनुपर्नेमा जोड दिँदै मन्त्री नेम्वाङले चुनावी तयारी भन्दा अर्को विकल्प नरहेको कार्यकर्ताहरुलाई प्रष्ट्याउनुभयो । पाँचथरमा पुरानादेखि नयाँ अधिकांश कार्यकर्तालाई भेट्न पाएको भन्दै उहाँले जनमतका आधारमा समेत नेकपाको आधिकारिता र चुनाव चिन्ह सूर्य आफ्नो पक्षमा हुने वताउनुभयो ।

संविधानसभाका सदस्य समेत रहनुभएका नेकपा केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङले मध्यावधि निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई नै बलियो बनाउने भन्दै निर्वाचनबाट कोही पनि भाग्न नहुने वताउनुभयो । उहाँले संसारभरीको अभ्यासअनुसार नै प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै निर्वाचनको विकल्प नरहेको वताउनुभयो ।

नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले विगतमा भेटिएका अधिकांश नेता कार्यकर्ताहरुसँग भेटघाट भएको भन्दै केही सिमित नेताहरु बाहिरिएको प्रतिक्रिया दिनुभयो । उहाँले विकास, सुशासन, समृद्धि र राजनीतिक स्थिरताका लागि जनमत प्रकट हुने वताउनुभयो ।

नेकपाका कार्यक्रमहरुमा हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेन, कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ, तुम्बेवा गाउँपालिकाका उपाध्यक्ष धनप्रसाद साँवा, याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङ सहित वडाध्यक्षहरु, गाउँ कार्यपालिकाका सदस्यहरु लगायत जनप्रतिनिधिहरु समेत सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्