

पाँचथर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्प कँडेल नेतृत्वको टोलीले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्वी खण्डको स्थलगत निरीक्षण गरेको छ ।
उपाध्यक्ष प्रा.डा. कँडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलियाको टोलीले काभ्रेदेखि मध्यपहाडी लोकमार्गको उद्गम विन्दू पाँचथरको चिवाभञ्ज्याङसम्मको निर्णाणाधीन सडकको अवलोकन गरेको हो । सरकारले मध्यपहाडी लोकमार्ग आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
उक्त लक्ष्य प्राप्तिका लागि निर्माण अवस्थामा गर्नुपर्ने सुधार, कालोपत्रे हुन बाँकी खण्डमा आवश्यक परिवर्तन, मध्यपहाडी लोकमार्गलाई अन्य मुख्य सडकहरुसँग जोड्ने सहायक सडक निर्माण, लोकमार्गले जनजीवनमा ल्याउने परिवर्तन लगायतका विषयमा उक्त टोलीले निरीक्षण गरेको हो ।
उक्त टोलीले शुक्रवार लोकमार्गको उद्गम विन्दू पाँचथरको याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ पुगेको थियो । शनिवार निर्माणाधीन तमोर कोरिडोर तथा मदन भण्डारी मार्ग हुँदै टोली फर्किएको आयोगका सञ्चार विज्ञ रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

लोकमार्गको उद्गम विन्दू चिवाभञ्ज्याङ पुगेको टोलीले उक्त स्थानलाई ब्यापारिक मार्गका रुपमा विकास गर्ने सम्भाब्यताका सम्बन्धमा स्थानीयवासीसँग अन्तरक्रिया गरेको थियो । पछिल्लो समय आयोगले रुग्ण आयोजनालाई पूर्णता दिन तथा विशेष महत्वका आयोजनाहरु समयमै पूरा गर्न सरकारलाई सुझाव तथा मार्गदर्शन दिँदै आएको छ ।
निरीक्षणले मध्यपहाडी लोकमार्ग समेटेको क्षेत्रमा अन्य पूर्वाधार विकास गर्र्न, घोषित नयाँ शहरहरुमा थप पूर्वाधार तयार पार्न, ब्यवसायिक कृषि तथा फलफूल उत्पादन गर्ने क्षेत्रको पहिचान गर्न, उद्योग धन्दा स्थापना गर्ने क्षेत्रको पहिचान गर्न मद्दत मिलेको आयोगका उपाध्यक्ष प्रा.डा. कँडेलले वताउनुभयो ।
“यो सडक पहाडको ‘लाइफ लाइन’का रुपमा रहेकाले यसको शीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक नीति निर्माण र सुझाव दिन निरीक्षण फलदायी रह्यो”, उपाध्यक्ष प्रा.डा. कँडेलले भन्नुभयो, “राष्ट्रिय योजना आयोगले आगामी योजनाहरु निर्माण गर्दा निरीक्षणमा प्राप्त विषयहरुलाई समेत समेट्ने छौँ ।”

प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलियाले सरकारी प्राथमिकताअनुसार यो सडकको निर्माणलाई पूर्णता दिन स्थलगत निरीक्षण र अन्तरक्रिया गरिएको वताउनुभयो ।
“काभ्रेदेखि चिवाभञ्ज्याङसम्मका प्राकृतिक सुन्दरता तथा समृद्धिका सम्भावनाहरुलाई नजिकबाट नियाल्ने अवसर प्राप्त भयो”, थपलियाले भन्नुभयो, “पहाडको विकासमार्फत कृषि, पर्यटन, पूर्वाधारको विकास तथा अब्यवस्थित बसोबासलाई ब्यवस्थित गर्ने र नागरिकलाई सहज सेवा प्रदान गर्नेतर्फ आगामी योजनाहरुलाई अगाडि बढाइने छ ।”
लोकमार्गको निर्माणाधीन पूर्वी खण्ड ३८६ किलोमिटरको छ । जसमा अन्य राजमार्ग समेत समेटिएकाले २८० किलोमिटर नयाँ सडक निर्माणको कार्य अगाडि बढाइएको छ । ठेक्का लागेर पनि कालोपत्रे गर्न ढिलाई भएको तेह्रथुमको केही खण्डलाई चाँडो सम्पन्न गर्न आयोगका उपाध्यक्ष तथा प्रधानमन्त्रीका विकास विज्ञले सुझाव दिनुभएको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेले वताउनुभयो ।
“सडक निर्माण चाँडो सम्पन्न गरेर अन्य पूर्वाधार विकासमा लाग्नेतर्फ उहाँहरुको जोड थियो”, न्यौपानेले भन्नुभयो, “लोकमार्गमा आधारित अर्थतन्त्र सवलिकरणका योजना बनाउन स्थानीयस्तरबाट सुझाव आएका छन् ।”