एकैसाथ तीन आयोजनाको शिलान्यास



पाँचथर, १ फागुन

पाँचथरको सदरमुकाम फिदिममा आज एकैसाथ तीन वटा आयोजनाको शिलान्यास गरिएको छ ।

फिदिम बजार भित्र निर्माण हुन लागेको फिदिम रङ्गशाला, बजार भित्रका सडकहरुको कालोपत्रे तथा फिदिम माध्यमिक विद्यालयको १२ कोठे भवनको आज आयोजित कार्यक्रममा शिलान्यास गरिएको हो । संघीय सरकारबाट स्वीकृत कार्यक्रमअनुसार निर्माण सुरु भएका आयोजनाहरुको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गर्नुभयो ।

फिदिम बजार भित्र रहेको फिदिम खेलमैदानलाई रङ्गशालाको रुपमा विकास गर्ने कार्यको मन्त्री नेम्वाङले शिलान्यास गर्नुभयो । राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर राजेश श्रेष्ठका अनुसार रु. १५ करोड ६६ लाख कूल लागत रहेको रङ्गशाला निर्माणको ठेक्का पिएस–किरातेश्वर–मैनाचुली जेभीले रु. १० करोड ६३ लाख ७५ हजारमा लिएको हो ।

माघ २५ गते भएको सम्झौताअनुसार नाइन साइजको रङ्गशाला आगामी १७ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रङ्गशालामा प्याराफिट ब्लक, प्रशासकीय भवन, ९३ मिटरमा ब्यवसायिक सटरहरु र शौचालय समेत निर्माण हुनेछ ।

रङ्गशाला शिलान्यास कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद सदस्य एवं नेपाली राष्ट्रिय फुटवल टिमका पूर्वकप्तान हरि खड्काले नेपाली झण्डा विश्वमा फहराउने कार्यका लागि यो शिलान्यास उद्गम कार्य भएको वताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा सरकारी लगानी अझै बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै फिदिममा नयाँ शहर आयोजना कार्यालयबाट बजार भित्रका मुख्य सडकहरुको कालोपत्रे गर्ने कार्यको शिलान्यास गरिएको हो । उक्त कार्यालयबाट सञ्चालन हुने योजनाअनुसार रु. चार करोड १८ लाख कुल लागतमा फिदिम बजार भित्रका मुख्य सडकहरुको कालोपत्रे तथा स्तरोन्नति हुन लागेको हो ।

आगामी छ महिनाभित्र बजार भित्रका मुख्य सडकहरुको कालोपत्रेको ठेक्का रु. ३ करोड ५ लाख ८६ हजारमा भइसकेको नयाँ शहर आयोजना कार्यालयका प्रमुख विश्वराम प्रजापतिले जानकारी दिनुभयो ।

यस्तै झण्डै २२०० जना विद्यार्थी अध्ययनरत फिदिम माध्यमिक विद्यालयमा अत्याधुनिक १२ कोठे भवन निर्माण कार्यको शिलान्यास गरिएको हो । रु. ती करोड पाँच लाख कूल लागत रहेको भवन निर्माणको ठेक्का अधिकारी–खनाल जेभीले रु. दुई करोड तीन लाखमा प्राप्त गरेको हो ।

नमूना विद्यालय निर्माण कार्यक्रमअन्तर्गत यस विद्यालयमा सूचना सञ्चार–प्रविधि प्रयोगशाला सहितका संरचनाहरु निर्माण भइरहेको विद्यालयका प्रधानाध्यापक विनोदकुमार ठाकुरले जानकारी दिनुभयो । ३१ मिटर लम्बाई र ११ मिटर चौडाईको यो भवन एक वर्षभित्र निर्माण पूरा गर्ने सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि दिननाथ अघिकारीले वताउनुभयो ।

तीन वटै आयोजनाको शिलान्यास समारोहमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पूर्वाधार विकास र जनतालाई सहज सेवा दिने कार्य कुनै पनि बाहनामा रोकिन नसक्ने वताउनुभयो ।

फिदिम खेलमैदानलाई रङ्गशालाको रुपमा विकास गर्ने कार्य आफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको वताउँदै मन्त्री नेम्वाङले आफैँले रङ्गशालाको शिलान्यास गर्न पाउँदा खुशी लागेको वताउनुभयो । उहाँले पूर्वाधारहरु निर्माण कार्यलाई घोषित निर्वाचनले कुनै असर नगर्ने वताउनुभयो ।

सबै आयोजनाहरु समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्दै मन्त्री नेम्वाङले विकास निर्माणको अभियानबाट कोही विचलित हुन वा आत्तिन नहुने वताउनुभयो । “पूर्वाधार विकासको गति अगाडि बढ्दा केही मान्छेहरुलाई छटपटि भएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “जनता खुशी भएपछि नेता कार्यकर्तापछि दलीय सोचबाट माथि उठेर खुशी हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्