अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कार नेम्वाङ र प्रा.डा. भट्टराईलाई



पाँचथर, २६ माघ ।

यस वर्षको अमर नेम्वाङ लिम्बू स्मृति साहित्य पुरस्कारबाट लेखक/साहित्यकारद्वय वीर नेम्वाङ र प्रा.डा. गोविन्दराज भट्टराई पुरस्कृत हुनुभएको छ ।

अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले आज फिदिममा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा लेखकद्वय नेम्वाङ र भट्टराईलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य भीष्मराज आङदेम्बेले सम्मानपत्र, खादा र नगद पुरस्कार सहित सम्मान गर्नुभयो ।

पुरस्कारको राशी जनही रु. ५० हजार रहेको छ । उक्त पुरस्कार दुई वर्षअघि निधन हुनुभएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष एवं साहित्यकार अमरकुमार नेम्वाङको स्मृतिमा स्थापना भएको हो ।

पुरस्कार वितरणपछि बोल्दै संविधानसभाका सदस्य आङदेम्बेले साहित्यले समृद्धिको पाठ सिकाउनुपर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

दशकैपिच्छेका राजनीतिक अस्थिरताले आम जनमानस तथा साहित्यकर्मीहरुमा आक्रोश मात्रै पैदा गराएको भन्दै आङदेम्बेले अब यस्तो अवस्था र चिन्तनको अन्त्य गर्नुपर्ने वताउनुभयो ।

आज पुरस्कृत वीर नेम्वाङ पूर्वी नेपालमा लिम्बुवान पक्षधर राजनीति र लेखनमा सक्रिय हुनुहुन्छ भने प्रा.डा. भट्टराई नेपाली साहित्यमा योगदान दिँदै त्रिभुवन विश्वविद्यालयमा अध्यापनबाट सेवा निवृत्त हुनुभएको हो ।

सम्मानपछि नेम्वाङले पाँचथर आयामेली साहित्य आन्दोलन, रङ्गवादी साहित्य आन्दोलन, उत्तरवर्ती सोच र श्रृजनशील अराजकताजस्ता नेपाली साहित्यमा विशिष्ट योगदान दिने अभियानको अगुवाई गर्ने जिल्ला भएको भन्दै साहित्यमार्फत सामाजिक रुपान्तरणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको वताउनुभयो ।

दार्जिलिङमा सँगै अध्ययन गरेका कारण स्वर्गीय अमरकुमार नेम्वाङलाई स्वर्गीय राजा वीरेन्द्रले अञ्चलाधिश बन्न आग्रह गरेपनि नेम्वाङले अस्वीकार गरी जनताको सेवा गरेको सम्झनुभयो । नेम्वाङले पाँचथर धार्मिक, ऐतिहासिक र आन्दोलनका दृष्टिले महत्वपूर्ण स्थान रहेको वताउनुभयो ।

प्रा.डा. भट्टराईले स्वर्गीय अमरकुमार नेम्वाङको इको राइटिङ (पर्यावरणीय लेखन) अनुकरणीय काम रहेको वताउनुभयो । उहाँले नेम्वाङका रचनाहरुलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने तथा अङ्ग्रेजी भाषामा रुपान्तरण गरी अन्तर्राष्ट्रियकरण गर्नुपर्ने वताउनुभयो ।

स्वर्गीय अमरकुमार नेम्वाङ फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष भएपछि तीन दिवशीय साहित्यिक कार्यक्रम गरेर सरकारले कला साहित्यमा समेत ध्यान दिनुपर्छ भन्ने देशब्यापी सन्देश दिएको प्रा.डा. भट्टराईले वताउनुभयो ।

स्वर्गीय अमरकुमार नेम्वाङले गरेको योगदानलाई राष्ट्रले उचित सम्मान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । राम्रो सेवायुक्त अवसर लिने विकल्प छोडेर गाउँको सेवा गर्ने नेम्वाङको जीवन सबैका लागि अनुकरणीय रहेको प्रा.डा. भट्टराईले वताउनुभयो ।

तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले गाउँपालिका अध्यक्ष रहँदा स्वर्गीय अमरकुमार नेम्वाङले जिल्लाकै अभिभावकको रुपमा भूमिका खेलेको स्मरण गर्नुभयो । समय र काममा अत्यन्तै परिपक्व नेम्वाङले नयाँ संरचनामा काम गर्न जनप्रतिनिधिहरुलाई ठूलो मार्गदर्शन र सहयोग गरेको थापाले वताउनुभयो ।

अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठान सल्लाहकारका धर्मेन्द्र नेम्वाङका अनुसार स्वर्गीय अमरकुमार नेम्वाङको स्मृति दिवसको अवसरमा साहित्य पुरस्कार वितरण तथा अन्य सामाजिक कार्यहरु गर्न थालिएको हो ।

गत वर्षबाट उक्त साहित्यिक पुरस्कार वितरण थालिएको थियो । गत वर्ष उक्त पुरस्कार लेखकद्वय डा. देवी क्षेत्री दुलाल र मुनाराज शेर्माले प्राप्त गर्नुभएको थियो ।

उक्त पुरस्कार वितरण कार्यक्रममा जिल्लाको कुम्मायक गाउँपालिका–१ का आगलागीप्रभावित कृष्णबहादुर थापा र डिकबहादुर थापाको परिवारलाई जनही रु. १२ हजार पाँच सय राहत उपलब्ध गराएको छ ।

यस्तै बावुआमाविहीन सत्यहाङमा माध्यमिक विद्यालय फाल्गुनन्द–२ मा कक्षा १ मा अध्ययनर छ वर्षीय ग्राविल नेम्वाङको पठन–पाठनमा सहयोग गर्न रु. १० हजारको छात्रवृत्ति समेत वितरण गरिएको छ । प्रतिष्ठानले जिल्लाका आठ वटै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री समेत वितरण गरेको छ ।

लिम्बू समुदायबाट दुई विषयमा स्नातकोत्तर गर्ने पहिलो ब्यक्ति स्व. नेम्वाङ जीवनभर समाजको सेवामा समर्पित हुनुभएको थियो । गाउँ पञ्चायतको प्रधानपञ्च, गाविस अध्यक्ष हुँदै उहाँ गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

२०७५ माघ २६ गते गाउँपालिकाको वडा नं. ५ फाक्तेपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बेहोस भई ढल्नुभएका नेम्वाङको अस्पताल पु¥याउन नपाउँदै निधन भएको थियो । उहाँका तीन वटा साहित्यिक कृतिहरु प्रकाशित छन् भने कयौँ रचनाहरु अप्रकाशित अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्