मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पेश भएन



फिदिम । संसदीय दलका नेताले निलम्बन गरेका प्रदेशसभा सदस्यलाई बैठकमा भाग लिन दिन नहुने मुख्यमन्त्री शेरधन राई पक्षको मागसँगै आज बसेको प्रदेश नं. १ प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रदेश १ को प्रदेशसभा बैठक मुख्यमन्त्री राई पक्षले अवरुद्ध गरेको हो । आइतबार दिउँसो अबेर सुरु भएको बैठक राई पक्षका सांसदहरुले अवरोध गरेका हुन् ।

राई पक्षका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । सत्तारुढ दलका सांसदले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।

यसअघि प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच सहमति जुट्न सकेको थिएन । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका छन् । प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेतृत्व मुख्यमन्त्री शेरधन राईले तथा पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको नेतृत्व भीम आचार्यले गरिरहेका छन् ।

मुख्यमन्त्री पक्षका नेताहरुले आइतबार निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेका थिए । तर, भीम आचार्य पक्षका नेताहरुले कम्तिमा आइतबार बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गरिनुपर्ने अडानमा कायमै रहे ।

आचार्य पक्ष बैठक १८ दिन स्थगित भइसकेकाले अब मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्ताव टेबल गरेर अगाडि बढ्नुपर्ने अडानमै रह्यो । “कम्तिमा आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गरौं भन्ने हो । बरु, त्यसपछि छलफल गर्न सकिन्छ”, वार्तामा सहभागी आचार्य पक्षका नेता राजेन्द्र राईले भने ।

तर, यसमा मुख्यमन्त्री पक्ष तयार भएन । दुवै समूह अडानमा कायमै रहेपछि वार्ता बिना निष्कर्ष सकिएको छ । वार्तामा मुख्यमन्त्री राईको पक्षबाट आन्तरिक मामला मन्त्री रहेका हिक्मत कार्की र बिमल कार्की सहभागी थिए भने आचार्य पक्षबाट राजेन्द्र राई, इन्द्रबहादुर आङ्बो र लक्ष्मण तिवारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्