

पाँचथर, २५ माघ ।
जिल्लाको फालेलुङ–४ मेमेङको ढकालटार पुगेको सडकको ट्र्याक स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि नेपाल–भारत सीमामा पर्ने गोर्खेपानीसम्म पुग्यो । पुनर्संरचनापछि करीब १५ किलोमिटर सडकको ट्र्याक खोलेर सीमासम्म पुर्याइयो । सडक पुगेसँगै सीमामा नेपालीको उपस्थिति बढ्दै गयो । गोर्खेपानीबाट करीब एक घण्टा पैदल दुरीमा रहेको पर्यटकीय क्षेत्र तीनसीमानामा पुग्ने नेपाली पर्यटकको संख्या बढ्न थाल्यो ।
सीमाको नजिकै रहेका गोठहरुमा सञ्चालकहरुले पूर्वाधार थप्न थाले । कसैले चौंरी र गाई थपे त कसैले खाने–बस्ने प्रवन्ध गर्न थाले । सीमाको नजिकै दीप ज्योती युवा क्लबको सहयोगमा गोठबास (गोठस्टे) निर्माणको काम थालियो ।
गोर्खेपानीमा निर्माण गरिएको भवनमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भयो । चार वर्षमा सीमा क्षेत्रको मुहार फेरियो । पहुँच र प्रयोगको सुरुआतपछि प्राकृतिक रुपमा सुन्दर सीमा क्षेत्रको तस्वीर फेरियो ।

कच्ची सडकले जोडिएपनि पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङमा फाट्ट–फुट्ट मात्रै पर्यटक पुग्दथे । यहाँ न कुनै पूर्वाधार थियो, न त सुरक्षा ब्यवस्था नै । ट्र्याक खोलिएको याङवरक गाउँपालिका–४ थर्पूदेखि चिवाभञ्ज्याङसम्मको ५१ किलोमिटर सडक मर्मत र कालोपत्रेको चर्चा समेत हुन छोडेपछि स्थानीयवासी निराश थिए ।
जनप्रतिनिधि सांसद् र मन्त्रीलाई रोइकराई गरिरहेका थिए । एक्कासी चिवाभञ्ज्याङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुने सुनेपछि सबै चकित परे । गाउँपालिकाले निर्माण गरेको भवनमा बीओपी स्थापना भएको दुई महिना नबित्दै सडक कालोपत्रे हुने बोलपत्र आह्वान भयो । चिवाभञ्ज्याङ भर्खरै भारतले समेत सडकले जोडेको छ, नेपाल तर्फ मानवीय गतिविधि बाक्लिएका छन् । सडक कालोपत्रे सुरु हुन लागेपछि स्थानीयवासी दङ्ग छन् ।

याङवरक–१ मै पर्ने लामपोखरी क्षेत्रमा साना–ठूला आधा दर्जन पोखरी छन् । गाउँपालिका निर्माणअघि यहाँ सडक पु¥याउने कसैको कल्पनासमेत थिएन । तर यो वडाका वडाध्यक्ष मोहनकुमार ढुङ्गेलले गाउँपालिकामा एउटै जिद्दी गरिरहे कि – लामपोखरीमा सडक पु¥याउनै पर्छ । सडक ट्र्याक खोलियो ।
लामपोखरी नजिकै सुकेढापमा घरबास (होमस्टे) निर्माण गर्ने उद्देश्यसहित वन्दै गरेको १२ कोठे घरले गाउँपालिकामा जनप्रतिनिधि आएपछि पूर्णता पायो । गत मङ्सिरमा त्यहाँ सशस्त्र प्रहरीको अर्को बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भयो ।
प्रत्येक बीओपीमा २०–२२ जनाको सङ्ख्यामा रहेका सशस्त्र प्रहरी अव सीमासम्म दैनिक गस्ती गर्न थालेका छन् । गोठालाहरु ढुक्क र खुशी छन् । हुन पनि अब न चोरी शिकारीको डर छ न त भारतीयको हप्कीदप्कीकै । सीमामा नेपालको उपस्थिति देख्दा भारतीय सुरक्षाकर्मीहरु समेत चकित छन् ।

पूर्वाधार विकास र सुरक्षा संयन्त्रको उपस्थितिसँगै अहिले सीमा क्षेत्रको तस्वीर फेरिएको छ । “गोर्खेपानीलाई अन्तर्राष्ट्रिय नाका नै बनाउन सकिने सम्भावना भएपनि भारततर्फ सिंहलिला राष्ट्रिय निकुञ्ज रहेकाले अवरोध भएको छ”, फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनले भन्नुभयो, “तर नाका नभएपनि भारतीय सामग्रीमा आत्मनिर्भर स्थानीयले सस्तो मूल्यमा सामग्री खरिद गर्नुका साथै नेपालमा उत्पादित सामग्री विक्री पनि सहज भएको छ ।”
सडक बनेपछि फालोट क्षेत्रबाट घोडा, खच्चड आदीलाई बोकाएर सामग्री आयात–निर्यात हुने गरेको छ । बीओपी स्थापनाले सीमा र मानवीय सुरक्षा मात्रै नभई पूर्वाधार विकासले समेत गति लिने वडाध्यक्ष सावदेनको विश्वास छ । फालेलुङ–४ बाट सीमा जोड्ने सडकको मर्मतका लागि यस वर्ष संघीय सरकारले रु. ५० लाख बजेट छुट्ट्याएको छ ।

संघीय सरकारले यसै आर्थिक वर्षमा फालेलुङ ४ र ५ हुँदै सीमा क्षेत्र चारराते पुग्ने सडकको स्तरोन्नतिका लागि समेत रु. ५ करोड बजेट विनियोजन गरेको छ । फालेलुङ–४ भैंसेमा समेत बीओपी स्थापना भएको छ । सीमामा भारतीय सुरक्षाकर्मी मात्रै हुँदा विगतमा नेपालीहरुको आत्मबल नै कमजोर हुने गरेको स्थानीयवासी वताउँछन् ।
“अहिले सुरक्षाको प्रत्याभूति त भएको छ नै, आवत–जावतमा पनि सहजता मिलेको छ”, सीमामा आधारित फालेलुङ क्षेत्रको पर्यटन विकास र चौंरी पालनमा सक्रिय फालेलुङ–५ का चन्द्रलाल नेपालले भन्नुभयो, “अहिले हामीले गर्व गर्ने अवस्था बनेको छ ।”
विगतमा सीमा क्षेत्रमा सिमित गोठ सञ्चालक, भरिया, पर्यटक, स्थानीयवासी मात्रै पुग्दथे । सीमासम्मै संरचना बनाएको भारतलाई यो लाभको विषय थियो । यसैकारण भारतले सीमा परिवर्तनको प्रयास पनि गरिरहेको थियो ।

फालेलुङ–४ का अमृतबहादुर राईका अनुसार सीमासम्म सडक पुगेपछि आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य रुपले वृद्धि भएको छ । “सडकमा बाह्रैमास गाडी चल्नसक्ने बनाउन पाए यहाँ कहिल्यै पर्यटकको संख्यामा कमी हुने थिएन्”, राईले भन्नुभयो, “सीमासम्म हाम्रो मानवीय चहल–पहललाई झनै बाक्लो बनाइनुपर्छ ।”
सीमा क्षेत्रमा सरकारको ध्यान पुगेको भन्दै अव पूर्वाधार विकासले पनि गति लिने जनप्रतिनिधिहरुको अपेक्षा छ । “प¥याप्त बजेट नहुँदा निकै दुःखले सीमासम्म सडक पु¥याउने प्रयास गरिरहेका छौँ”, याङवरक–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलले भन्नुभयो, “क्रमशः सीमा क्षेत्रको अवस्थामा परिवर्तन आउँदैछ ।”
याङवरक–२ का मचिन्द्र बेघा गोठाला र स्थानीयवासीले सुरक्षा गरेको सीमा क्षेत्रमा सरकारी उपस्थिति हुँदा खुशी लागेको वताउनुहुन्छ । “विगतमा तीस किलोमिटर टाढा प्रहरीको सीमा सुरक्षा चौकी थियो । सीमासम्म सुरक्षाकर्मी पुग्नै सक्दैनथे”, बेघाले भन्नुभयो, “चोरी शिकारीदेखि हाम्रो भूमिमा भारतीयको मनपरी थियो ।”

च्याङथापूका ब्यवसायी गंगाराम गौतम चिवाभञ्ज्याङसम्म कालोपत्रे सडक पुगे पर्यटकीय गन्तब्य बन्नुका साथै ब्यापारिक नाकाको रुपमा विकास गर्न सकिने वताउनुहुन्छ । नेपाल–भारत सीमा क्षेत्रका स्थानीयवासीवीच पारिवारीक सम्बन्ध समेत रहने गरेको छ । सडक निर्माणले आवत–जावतमा सघाउ पुग्ने भएकाले मध्यपहाडी लोकमार्ग कालोपत्रेको काम चाँडो सम्पन्न गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।
भारतसँग सीमा जोडिएको ४४.८ किलोमिटर भू–भाग पाँचथरमा पर्छ । सन्दकपुरदेखि तिम्बुपोखरीको वीचमा पर्ने यो सबै सीमा क्षेत्र पर्यटकीय दृष्टि निकै आकर्षक छ । सीमा क्षेत्रमा चौंरी पालन फस्टाएको छ ।
यहाँ बहुमूल्य जडिबुटीदेखि लोपोन्मुख जीवजन्तु समेत पाइने भएपनि भारतीय पक्षले सरकारी संयन्त्रको उपयोग गरी चोरी शिकारी गर्ने गरेको स्थानीयवासीको भनाई छ । “सुरक्षाकर्मीको उपस्थितिले सीमा क्षेत्रमा रहने सबैको हौसला बढेको छ”, याङवरक–२ का दीपेन्द्र राईले भन्नुभयो, “अब सरकारले सीमा क्षेत्रको उपयोग गरी लाभ लिनुपर्छ ।”

यीनै क्षेत्रहरु समेट्दै नेपालको पूर्वी सीमालाई पर्यटकीय गन्तब्य बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केचना–कञ्चनजंघा सडकको अवधारणा अघि बढाएको छ । झापाको कचनकवलदेखि ताप्लेजुङ कञ्चनजंघा बेसक्याम्पसम्म सीमा क्षेत्र हुँदै सडक निर्माण गर्ने उद्देश्यसहित सडक विभागले सर्वेको काम गरिरहेको छ ।
प्राविधिकहरुका दुई वटा टोलीले इलाम र पाँचथरबाट सर्वेको काम गरिरहेका छन् । “मन्त्रालयकै प्रस्तावमा यो सडक अगाडि बढाएका हौँ”, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले भन्नुभयो, “चाँडै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाई निर्माण कार्य थाल्छौँ ।”
