ताप्लेजुङमा भेडापालन नासिँदै, किसानहरू अन्य पेशातर्फ



फिदिम । १० वर्ष अघिसम्म फुङलिङ नगरपालिका–११ फावाखोलाका हरेकजसो घरमा भेडा पाल्ने गरिन्थ्यो। पर्याप्त जनशक्ति र आफ्नै खर्क हुनेले अनिवार्य जस्तै भेडी गोठ राख्ने चलन थियो। एउटै गोठमा ५ सय वटासम्म भेडा हुन्थे। भेडी गोठबाटै किसानले मनग्य आम्दानी गर्थे।

स्थानीय मानबहादुर विष्टका अनुसार एउटै गोठबाट वार्षिक १ सय ५० धार्नीसम्म ऊन, ३ सय किलो घ्यू र १ सय ५० बढि बिक्रीका लागि बलेख्रा (पाठो) उत्पादन हुन्थ्यो। तर, अहिले भेडी गोठ लोप हुने अवस्थामा पुगेका छन् भने भेडाजन्य उत्पादन पनि बजारमा पाउन मुस्किल छ।

चरन अभाव, जंगली जनावरको आक्रमण तथा जनशक्तिको अभाव हुँदा ताप्लेजुङमा भेडा पालन व्यावसाय घट्दै गएको छ। भेडा पालनलाई नै आम्दानीको मुख्य स्रोत बनाउँदै आएका जिल्लाका किसानहरू पलायन हुन थालेपछि भेडापालन लोप हुने अवस्थामा पुगेको हो।

बहुउपयोगी र आम्दानीको निकै राम्रो स्रोतका रूपमा भेडालाई लिने गरिन्छ। तर, आजकल भेडा पाल्नेहरू अन्य पेशामा पलायन हुन थालपछि न्यानो ऊनदेखि पोसिलो दूध दिएर गुन लगाउने भेडापालन व्यवसाय संकटमा पर्न थालेको स्थानीयवासी बताउँछन्।

“उच्च क्षेत्रका खर्कमा वन कुकुर, भालु, हिउँ चितुवाले आक्रमण गरेर धेरै भेडा मर्छन्, कति रोगले मर्छन्, अर्कातिर खर्कहरू मासिँदै गएका छन्, सामुदायिक वन क्षेत्रमा धेरै शुल्क तिर्नुपर्छ, जनशक्ति नपुग्दा स्याहार गर्न पनि गाह्रो छ”, फुङ्लिङ नगरपालिका–.११ फावाखोलाका भेडापालक गोपाल विष्टले भने।

गएको भदौमा मात्रै ३२ वटा भेडा वन्यजन्तुको शिकार बनेको विष्टको भनाइ छ। दर्जनौँ भेडा जङ्गलमै हराएको समेत विष्टले बताए। उनले थपे, “भेडीगोठ लोप हुँदै गएको अवस्थामा यसको महत्व पनि थपिँदै गएको छ तर अनेकौँ समस्याले कतिपय भेडापालक किसान अन्य पेशा व्यवसायतर्फ आकर्षित भएका छन्।”

“पहिले पहिले खर्क नै ढाकिने गरि भेडाका चोकहरू हुन्थे। अहिले त खोज्दा पनि भेट्न गाह्रो छ”, अर्का भेडापालक ठाकुरसिंङ विष्टले भने। खर्कहरू मासिँदै गएको र भएका कतिपय ठाउँमा खर्चरी धेरै तिर्नुपर्ने, जंगली जनावरको आक्रमण लगायतले भेडा पालनतर्फ किसान निरुत्साहित छन्।

सरकारी निकायबाट भेडा पाल्नेहरूका लागि पछिल्लो पटक अनुदानलगायतका केही योजनाहरू पनि ल्याएको छ। तर, अनुदान वास्तविक किसानको हातमा नपर्ने तथा केही पाएको राहत पनि पर्याप्त नभएको उनीहरूको गुनासो छ। अर्कातिर भेडा पालन निक्कै झन्झटिलो पेशा भएकाले पनि अहिलेको पुस्ता अन्य पेशा र व्यवसायमा पलायन भइरहेका छन्।

जिल्लामा भेडापालक किसानको संख्या यकिन नभएपनि पछिल्लो समय एक दर्जनभन्दा बढी भेडागोठ नभएको भेडापालक कमल विष्टले बताए। उनका अनुसार हाल रहेका गोठहरूमा पनि पहिलेको तुलनामा भेडाको संख्या घट्दै गएको छ। “भेडाका बलेख्रा तथा घ्यू लगायतका सामग्रीहरूको बजारमा माग अत्यन्तै धेरै छ”, बिष्टले भने “तर माग धान्न सकिएको छैन।”

विशेषगरी पछिल्लो समय भारतको सिक्किम क्षेत्रमा गोठ नै निर्यात हुन थालेपछि स्थानिय बजारमा भने माग धान्न कठिन भएको छ। सिक्किमका व्यावसायीहरूले गोठमै आएर चलनचल्तीको भाऊभन्दा दोब्बर मूल्य दिएर खरिद गर्ने गरेका छन्।

जिल्लाको थिङ्लाबू, पापुङ, थुकिमा, साँघु, खेवाङ, आङ्खोप, कालिखोला, याम्फुदिन, लेलेप, खेजेनिम, ईखाबू, थेचम्बू लगायतका क्षेत्रमा भेडा पाल्ने गरिएको छ। (थाहाखवर डटकमबाट साभार)

प्रतिक्रिया दिनुहोस्