सहायक संरचनामा करोडौं लगानी, तर उठेन ढलेको मन्दिर



पाँचथर । जीर्णोद्धार नहुँदा पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाको सीमानामा अवस्थित साझा धार्मिक स्थल ‘बुढीथाम’ पहिचान मासिने अवस्थामा पुगेको छ ।

फिदिम नगरपालिका वडा नं. १२ र १३ तथा फालेलुङ गाउँपालिका वडा नं. ६ को सीमामा अवस्थित बुढीथाम मन्दिर भत्किएको वर्षौँ भइसक्दा समेत जीर्णोद्धार नहुँदा मन्दिरको अस्तित्व नै सङ्कटमा परेको हो । दुई स्थानीय तहको सीमानामा पर्नाले बुढीथाम मन्दिरको संरक्षण र जीर्णोद्धारमा स्थानीय सरकारको प¥याप्त चासो पुगेको छैन ।

संरक्षणमा सक्रिय हुनुपर्ने स्थानीय सरकारहरु सहकार्यको अभाव तथा परम्परागत रुपमा मन्दिरको मर्मत र रेखदेख गर्ने स्थानीयवासीले समेत प¥याप्त चासो नदिँदा भत्किएको मन्दिरको जीर्णोद्धार हुन नसकेको हो । यो मन्दिर हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको साझा धार्मिक स्थलको रुपमा रहेको छ ।

तर उठेन ढलेको मन्दिर

बुढीथाम पुग्न फालेलुङ गाउँपालिका–६ तालखर्कबाट थुम्का–थुम्का परेको डाँडातर्फ जङ्गलै–जङ्गल सिंढी मार्ग बनाइएको । हरियो झारले बेरिएका रुखहरुको सुन्दरताभित्र झण्डै १७ सय मिटर लामो सिंढीमार्गले यो ठाउँ निकै आकर्षक देखिन्छ । ढलान नगरिएको सिंढीमार्गमा आकर्षक ढङ्गले ढुङ्गाहरु विच्छ्याइएका छन् ।

सिंढीमार्ग ढुङ्गिएपछि गोरेटो बाटो हुँदै बुढीथाम मन्दिर रहेको स्थानमा पुगिन्छ । यो सिंढीमार्गको पल्लोपट्टि फिदिम नगरपालिका–१३ बाघखोर भञ्ज्याङबाट पनि ढलान सहितको सिंढीमार्ग निर्माण थालिएको छ । मन्दिर रहेको डाँडाको शीरमा समथर परेको स्थानमा भ्यू–टावर निर्माण भइरहेको छ । भ्यू–टावरको एक तला ढलान भइसकेको छ ।

यतिका संरचना निर्माण भइरहेपनि निर्माणाधीन भ्यू–टावरको अघिल्तिर लथालिङ्ग अवस्थामा रहेको मन्दिर र मन्दिरको कुण्ड बेवारिसे छ । बुढीथाममा सहायक संरचनाका लागि लाखौं लगानी भएपनि मुख्य संरचना भग्नावशेषमा परिणत हुन लागेको हो ।

सरकारी निकायले मन्दिर लक्षित सहायक संरचना निर्माणमा लाखौँ रुपैयाँ लगानी गरिसकेका छन् । तर सीमानामा परेका कारण जीर्णोद्धार र संरक्षण नहुँदा धार्मिक महत्व बोकेको बुढीथाम पहिचान मेटिने अवस्थामा पुगेको हो ।

जीर्णोद्धार र संरक्षण गर्ने विषयमा दुई स्थानीय तहवीच प्रभावकारी समन्वय नहुँदा यस्तो अवस्थामा पुगेको स्थानीयवासी वताउँछन् । विगतमा यहाँ धार्मिक अनुष्ठानहरु हुँदै आएकामा पछिल्लो समय त्यस्ता गतिविधि नभएपछि यो स्थानको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक पहिचान मेटिने अवस्था आएको हो ।

वि.सं. २०७२ सालको भूकम्पले भत्किएको मन्दिरको संरचना त्यसपछि संरक्षण र जीर्णोद्वार नहुँदा लथालिङ्ग अवस्थामा पुगेको फालेलुङ गाउँ कार्यपालिकाका सदस्य पनिता राईको भनाई छ । जीर्णोद्धार र संरक्षणको अभावले मन्दिरका संरचनाहरु मासिने र मन्दिरको धार्मिक महत्व समेत ओझेलमा पर्दै जाने स्थानीयवासीको चिन्ता छ ।

संरचना निर्माणमा क्षेत्रगत विवाद

फालेलुङ–६ की तारावती राईका अनुसार फालेलुङ र फिदिमको सीमानामा परेकाले संरचना निर्माणमा विवाद भएको थियो । तर निर्माण उपभोक्ता समितिमा दुवै तर्फबाट प्रतिनिधित्व गराई संरचना निर्माण थालियो । अन्य संरचनाहरु निर्माणको कामले गति लिएपनि मन्दिरमा ध्यान नपुगेको उहाँको गुनासो छ ।

“अलपत्र अवस्थामा पुगेको संरचनाको जीर्णोद्धार र संरक्षणका लागि अब माथिल्ला सरकारहरुले अनुगमन र बजेट विनियोजन गर्नुपर्छ”, राईले भन्नुभयो “बुढीथाम आफैँमा रमणीय त छ नै यसको धार्मिक महत्व समेत विशिष्ट छ ।”

मन्दिरको जीर्णोद्धारमा प्रभावकारी पहल हुन नसकेको राईको भनाई छ । फालेलुङ–६ तालखर्कका कमल गुरुङ बुढीथामलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने लक्ष्य राखेर काम गर्दै आएपनि पुराना संरचनाको जीर्णोद्वार र संरक्षण गर्न समस्या भएको बताउनुहुन्छ ।

फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवा यहाँ संरचना निर्माणका लागि उपभोक्ता समिति गठनका क्रममा क्षेत्रगत विवाद हुने गरेको वताउनुहुन्छ । “धेरै मेहनत गरेर सहजिकरण गरी दुवै स्थानीय तहबाट निर्माणका काम अगाडि बढाएका छौँ”, वडाध्यक्ष बान्तवाले भनिन्, “फालेलुङ–६ ले चाहीँ सबैभन्दा बढी महत्व दिएर काम गर्दै आएको छ । यद्यपि मन्दिरको जीर्णोद्धार नहुँदा अस्तित्व नै सङ्कटमा पर्ने र पहिचान मासिने हो कि भन्ने लागेको छ ।”

डाँडासम्म निर्माण सामग्री पु¥याउन ढुवानीको समस्याले भ्यू–टार सहितका संरचना निर्माण कार्यले गति लिन सकेको छैन् । सिंढी निर्माणमा करीब १५ लाख रुपैयाँ तथा टावर निर्माणमा करीब १८ लाख रुपैयाँ खर्च भइसकेको छ । विगतमै प्रख्यात भएको ठाउँको प्रवद्र्धनले धार्मिक पर्यटन विकासमा धेरै काम हुनसक्ने विश्वास राखिएको र मन्दिरको मर्मत नै मुख्य कुरा आवश्यकता रहेको वडाध्यक्ष बान्तवा वताउनुहुन्छ ।

बहुधार्मिक गन्तब्य

फालेलुङ–६ का कमल गुरुङका अनुसार सेतै फूलेकी एक बुढी महिला सिक्का सुकाएर बसेको अवस्थामा भेडा गोठालाहरुले देखेको किम्बदन्तीका आधारमा आधारमा यस स्थानको नाम बुढीथाम रहन गएको हो । यद्यपी अहिले यस स्थानलाई बुढीथान र बुढीधाम समेत भन्ने गरिएको छ । विगतमा यहाँ दुई वटा पोखरी रहेको स्थानीयवासी विश्वास गर्ने गर्छन् ।

घना जङ्गल रहेको यस स्थानमा विगतमा अजिङ्गर समेत देखिने गरेकाले प्रत्येक वर्ष उधौलीको समयमा यहाँ पूजापाठ गर्ने गरिएको थियो । यहाँ राई, लिम्बू, गुरुङ, व्राम्हण, क्षेत्री लगायत जात–जातिले समान आस्था र विश्वासले पूजा पाठ गर्ने गरेका छन् । यस स्थानमा महागुरु फाल्गुनन्दले तपस्या गरेको तथा यो स्थानमा भगवानको बास रहेको भनि सन्देश दिएको स्थानीयवासी वताउँछन् ।

फालेलुङ–६ का ठिमकुमार गुरुङ बुढीथामलाई सबै धर्मावलम्बीहरुले समान आस्था र विश्वास गर्ने हुँदा यसलाई नमूना धार्मिक गन्तब्यको रुपमा विकास गर्नसके राम्रो सन्देश प्रवाह हुनसक्ने वताउनुहुन्छ । “सबैले समान आस्था राख्ने विरलै स्थानहरु मध्येमा बुढीथाम समेत रहेकाले यसलाई माथिल्ला सरकारहरुले विशेष ध्यान दिनुपर्छ”, गुरुङले भन्नुभयो ।

जीर्ण बनेको मन्दिर भित्र गाई आकृतिको ढुङ्गा रहेको छ । फिदिम–१३ का स्थायी बासिन्दा समेत रहनुभएका जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख डिल्लीराम दुलालका अनुसार विभिन्न किम्बदन्तीमा कुनै भगवानले उक्त ढुङ्गा छेलो हानेको विश्वास गर्ने गरिएको छ ।

ढुङ्गालाई मानिसहरुले गाईका अतिरिक्त अन्य आकृतिमा समेत देख्ने हुँदा यसलाई विशिष्ट धार्मिक गन्तब्य मान्ने गरिएको छ । मन्दिरको जीर्णोद्धार गरी प्रचार–प्रसार गर्न सके धेरै संख्यामा पर्यटक भित्रने उपप्रमुख दुलालको भनाई छ ।

निर्माणाधीन संरचना तथा अन्य आवश्यकीय संरचना निर्माणमा सबै तहले सहकार्य गर्नुपर्नेमा उपप्रमुख दुलालको जोड छ । यहाँ भ्यू–टावर निर्माणपछि पाँचथरका उत्तरी भेग सहित इलाम र ताप्लेजुङका धेरै स्थान तथा हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्