पाँचथरमा करीब नौ सयलाई कोभिड–१९ विरुद्धको खोप



पाँचथर । पाँचथरमा करीब नौ सय जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइदैछ ।

स्वास्थ्य कार्यालय पाँचथरका अनुसार सरकारले तय गरेको मापदण्डअनुसार पहिलो चरणमा खोप दिने प्राथमिकतामा रहेका यहाँका करीब नौ सय जनालाई खोप दिन थालिएको हो । पाँचथरमा २०५० डोज खोप आइपुगेको छ ।

२८ दिनको अन्तरमा दुई पटक लगाउनुपर्ने कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य आजबाट सुरु भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिनुभयो । पहिलो चरणमा खोप प्राप्त गर्नेहरु ९०० देखि ९५० जनाको संख्यामा हुने सुवेदीको भनाई छ ।

पहिलो चरणमा सबै स्वास्थ्यकर्मीहरु, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सार्वजनिक फोहोरमैला ब्यवस्थापनमा खटिएका ब्यक्तिहरु, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापन गर्ने सुरक्षाकर्मीहरु, शवबाहन चालक र एम्बुलेन्स चालकहरुले खोप प्राप्त गर्नेछन् ।

जिल्लामा जिल्ला अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ । आजबाट सुरु हुने खोप कार्यक्रम भोली चाँडो सम्पन्न गर्ने योजना बनाइएको सुवेदीले वताउनुभयो ।

कार्यालयले गाउँ–गाउँमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई खोप लगाउने कार्यक्रममा सहभागी गराउन स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

“दुर्गम क्षेत्रमा रहेका, सवारी भाडा धेरै ब्यहोर्नुपर्ने स्वयंसेविका उपस्थित हुन कठिन पर्ने बुझेर यसका लागि सहयोग गर्न स्थानीय तहहरुलाई भनेका छौँ”, कार्यालयका प्रमुख सुवेदीले भन्नुभयो, “पहिलो पटक खोप लगाएको २८ दिनमा अर्को खोप लगाउनुपर्ने भएकाले स्वयंसेविकाहरुलाई सवारी भाडा, खाने बस्ने प्रवन्ध गर्न स्थानीय तहहरुलाई आग्रह गरेका हौँ ।”

कोभिड–१९ विरुद्धको खोप ज्वरो आएका ब्यक्तिहरु, कोभिड–१९ का सङ्क्रमितहरु, गर्भवती तथा दूध चुसाउने आमाहरु, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका ब्यक्तिहरुले लगाउन हुदैन् । कोभिड–१९ का सङ्क्रमितहरुले निको भएको चार हप्तापछि खोप लगाउन मिल्छ ।

प्रतिक्रिया दिनुहोस्