

पाँचथर, १३ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको भन्दै चुनाव चिन्ह सूर्य समेत आफूहरुसँगै रहने वताउनुभएको छ ।
उक्त पक्षको पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिकताको प्रश्न टुङ्गिएको वताउनुभएको हो ।
“निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ”, नेपालले भन्नुभयो “सूर्य चिन्ह त्यता रहन्छ जता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुन्छ ।
निर्वाचन आयोगको निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सबै नियुक्तिहरु बदर हुने उहाँले दाबी गर्नुभयो । ४४१ जनाको केन्द्रीय कमिटी र ४५ जनाका स्थायी समिति आधिकारिक भएको र त्यसमा आफूहरुसँग बहुमत रहेको नेता नेपालको भनाई थियो ।
४४१ जनाको केन्द्रीय कमिटीले प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष चुनेकाले उक्त कमिटीले बहुमतले निर्वाचित ब्यक्तिलाई निस्कासित समेत गर्न सक्ने उहाँको भनाई छ ।
“राज्यका सबै निकायलाई हेक्का हुनुपर्छ, केन्द्रीय कमिटीको वैधानिक बैठकले ओलीलाई अध्यक्षबाट हटाई मलाई चयन गरेको हो”, नेपालले भन्नुभयो, “निर्वाचित गर्न सक्ने पार्टीले निस्कासित गर्न पनि सक्छ । हामीले उहाँलाई निस्कासन गरिसकेका छन् । उहाँ नेकपाको अध्यक्ष हुनुहुन्न । गुटको अध्यक्ष लेखेहुन्छ । नेकपाको नाम लिन पाउनुहुन्न ।”
नेपालले संविधानको कुनै धारामा नटेकी भएकाले प्रतिनिधिसभा विघटन गर्ने मन्त्रीपरिषदको निर्णय भएकाले उक्त निर्णय अवैधानिक भएको र उक्त निर्णय राजपत्रमा विधिसम्मत रुपमा प्रकाशन नभएको दाबी गर्नुभयो ।
सबैको असन्तुष्टि भएपछि प्रधानमन्त्रीले त्यसको कारण खोज्नुपर्ने वताउँदै नेता नेपालले देशका सबै दल प्रधानमन्त्रीका विरुद्ध रहेको र सबैले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको दाबी समेत गर्नुभयो । जनताको बहुदलीय जनवाद मदन भण्डारी र आफूले विकास गरेका दाबी गर्दै नेपालले नेकपा बनिसकेपछि पूर्व पार्टी ब्युतन नसक्ने वताउनुभयो ।
नेता नेपालले तत्कालीन नेकपा (एमाले)को महाधिवेशनबाट जाल, झेल, टिकडम गरेर प्रधानमन्त्री ओली अध्यक्ष चुनिएको आरोप समेत लगाउनुभयो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री ओलीले धुरुधुरु रुहाएको भन्दै दाहाल ‘हत्तु हैरान भएको’ दाबी गर्नुभयो ।

प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता र सहकार्य जारी हुन सक्ने वताउँदै नेता नेपालले आफू कुनै पदको लोभ नगर्ने र समस्या नबन्ने वताउनुभयो । प्रधानमन्त्री ओली नेतृत्वको समूह चोइटिएर जाने दाबी गर्दै नेता नेपालले ‘भीरबाट लड्ने गोरुलाई काँध हाल्न नसकिने’ भन्दै कटाक्ष गर्नुभयो ।
१५ वर्षसम्म आफूले पार्टीको नेतृत्व गरेको, पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग ४० वर्षअघिदेखि सहकार्य गरेको वताउँदै नेता नेपालले प्रधानमन्त्री ओलीले दाहाललाई २०६३ सालमा मात्रै देखेको र आफूले भेट गराएको दाबी गर्नुभयो ।

कार्यक्रममा उक्त समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री ओलीका कारण देशको अग्रगमन र समृद्धिमा बाधा परेको आरोप लगाउनुभयो ।
उहाँले विगतदेखि नै एमाले र माओवादीवीच भएका सहमति र सहकार्यका आधारमा पार्टी एकता भएको वताउनुभयो । उहाँले नयाँ ढङ्गले पार्टी संगठन निर्माण गरिने वताउनुभयो ।