१६० परिवारलाई सिरक वितरण गरिने



पाँचथर, ११ माघ

जिल्ला विपत ब्यवस्थापन समितिले यहाँका १६० परिवारलाई सिरक, म्याट सहितका न्यानो कपडा वितरण गर्ने भएको छ ।

गृह मन्त्रालयअन्तर्गतको विपत जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको वार्षिक कार्यक्रमअनुसार हिमपात, शितलहर एवं चिसोबाट प्रभावित यहाँका १६० परिवारलाई उक्त सामग्री वितरण गर्न लागिएको हो ।

पाँचथरमा हिमपात, शितलहर एवं चिसोबाट प्रभावित उक्त संख्याका लाभग्राही नभएकाले अतिविपन्न, विपन्न, न्यून आय भएका परिवारका सुत्केरी महिला, जेष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएकाका परिवारलाई उक्त सामग्री वितरण गरिने भएको छ ।

जिल्ला विपत ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालका अनुसार पाँचथरमा फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका ३० परिवार, याङवरक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाका २०–२० परिवार, कुम्मायक र तुम्बेवा गाउँपालिकाका ११–११ परिवार र हिलिहाङ गाउँपालिकाका १० परिवारलाई उक्त सामग्री वितरण गर्न लागिएको हो ।

बाँकी ८ थान सिरक र म्याट जिल्ला विपत ब्यवस्थापन समितिले आवश्यक परेको अवस्थामा वितरण गर्ने भएको छ । यी सामग्री समितिले स्थानीय तहहरुलाई हस्तान्तरण गर्ने र स्थानीय तहले उपयुक्त परिवार छनौट गरी वितरण गर्ने छन् ।

सामग्री हस्तान्तरणको हिँजो जिल्लाको दुर्गम तुम्बेवा गाउँपालिकाबाट आरम्भ गरिएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले गाउँपालिकाका उपाध्यक्ष धनप्रसाद साँवालाई सामग्री हस्तान्तरण गरी उपयुक्त परिवार छनौट गरी वितरण गर्न आग्रह गर्नुभयो ।

प्रजिअ ढकालले सहयोग आवश्यक रहेका लक्षित समुदायका लागि स्थानीय तह स्वयंले समेत लगानी गर्नुपर्नेमा जोड दिनुभयो । समितिले रु. २००० प्रतिगोटाका सिरक तथा रु. ५०० प्रगिगोटाका म्याट खरिद गरी वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्