राप्रपाद्वारा फिदिममा जनप्रदर्शन



फिदिम । राजसंस्था र सनातन हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतवार फिदिममा जनप्रदर्शन गरेको छ ।

ब्यवस्था परिवर्तनमात्रै समस्याको समाधान नभएको वताउँदै राप्रपाले राजा सहितको प्रजातन्त्रका पक्षमा विरोध प्रदर्शन आयोजना गरेको हो । फिदिम स्थित जिल्ला प्रहरी कार्यालय अघिबाट सुरु भएको विरोध जुलुस फिदिम बजार परिक्रमापछि गणतन्त्र चोकछेउ कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राप्रपा केन्द्रीय सम्पादन समितिका सदस्य सगुनसुन्दर लावतीले अहिले उत्पन्न परिस्थिति राजा सहितको प्रजातन्त्र पुनस्र्थापनाका लागि उपयुक्त समय भएको वताउनुभयो ।

“गणतन्त्रले जनताका समस्या हल गर्न सक्दैन, राष्ट्रियता बलियो हुदैन भन्ने पछिल्लो परिस्थितिबाट स्पष्ट भएको छ”, लावतीले भन्नुभयो, “सबैको अभिभावकको रुपमा राजतन्त्र र सनातन हिन्दू राष्ट्र पुनस्र्थापना आवश्यक छ ।” रोजगारी सिर्जना, भ्रष्टाचार निवारण, सुशासन लगायत जनताका प्राथमिकता विषयहरुमा सरकार उदासीन बनेको उहाँले वताउनुभयो ।

राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले अब राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा लिएर चुनावमा जाने वताउनुभयो । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य नरेशभक्त चाम्लिङ, नेताहरु डा. डिल्लीप्रसाद चापागाई, राजकुमार जोशी, कमल चेम्जोङ लगायतले समेत आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्