गाउँ पुगेर कानूनी ब्यवस्थाको जानकारी दिँदै सुरक्षा अधिकारी



पाँचथर, ११ माघ

जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुले गाउँमा पुगेर विभिन्न कानूनी ब्यवस्थाहरुबारे सर्वसाधारण तथा बालबालिकाहरुलाई जानकारी कार्यक्रम थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका अधिकारीहरु तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले सरकारी कागजात प्राप्त गर्ने तथा प्रयोग गर्ने तरिका, लागू औषधको दुब्र्यसन र बेचविखन नियन्त्रण, अवैध हतियारको प्रयोग, अत्यधिक मादक पदार्थको सेवन नियन्त्रण, शान्ति सुरक्षा लगायतका विषयमा अन्तरक्रिया थालेका हुन् ।

यी विशषयमा शनिवार जिल्लाको दुर्गम मानिने तुम्बेवा गाउँपालिकामा स्थानीय जनप्रतिनिधिहरु, सर्वसाधारण तथा किशोरकिशोरीहरुसँग सुरक्षा अधिकारीहरुले अन्तरक्रिया गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार विशेषत नागरिकताको प्रमाणपत्र लिन आउने सर्वसाधारणले धेरै सास्ती ब्यहोर्ने गरेका छन् । “यति कागजात नभई नागरिकताको प्रमाणपत्र बन्दैन भन्ने कुरा स्पष्ट गरी हामीले स्थानीय तहहरुलाई जानकारी पठाएका छौँ”, न्यौपानेले भन्नुभयो, “तर आवश्यक पर्ने सबै कागजात नहुँदा धेरैले दुःख पाउने गर्नुभएको छ ।”

कागजात पूरा नहुँदा एकै ब्यक्तिले दुई पटकसँग जिल्ला प्रशासन कार्यालय पुगी पुनः गाउँ फर्केर सिफारिस लानुपरेका कयौँ उदाहरण रहेको वताउँदै न्यौपानेले यसबारे पूर्ण ज्ञान राख्न जनप्रतिनिधि तथा सर्वसाधारणहरुलाई आग्रह गर्नुभयो ।

यस्तै बसाईं सरेर गएकाहरुलाई समेत नागरिकताको प्रमाणपत्रका लागि सिफारिस दिने, वैवाहिक अवस्था छलेर सिफारिस दिने, फरक जन्म मिति राख्ने जस्ता समस्या समेत देखिने गरेको न्यौपानेको भनाई छ ।

नागरिकताको प्रमाणपत्र लिने उमेर पूरा भएर पनि लामो समयसम्म नलिएका, जिल्ला बाहिर बसेर नागरिकता लिन गएकाहरुका विषयमा प्रशासनले तथ्यको खोजी र अनुसन्धान गर्नुपर्ने हुँदा समयमै नागरिकताको प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्र निर्माणमा समुदाय नै अग्रसर हुन सके सबैलाई सजिलो पर्ने न्यौपानेले सुझाव दिनुभयो ।

प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले अपराध लुकाउने, विपतको जोखिमलाई न्यूनिकरण नगर्ने, फौजदारी अभियोगका घटनामा समेत मेलमिलाप गराउने जस्ता समस्या हल गर्न समुदायस्तरमा सचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“कोभिड–१९ को महामारीपछि सचेतनाका कुनै पनि कार्यक्रम हुन सकेका थिएनन्”, प्रनाउ थापाले भन्नुभयो, “प्रहरीको विद्यालय सम्पर्क कार्यक्रम तथा नागरिक–प्रहरी साझेदारी कार्यक्रमलाई अब प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ ।”

समुदायका अगुवा भनिनेहरुबाटै जवरजस्ती करणी, बहुविवाह, बालअधिकार हनन लगायतका घटनामा मिलापत्र गर्ने भन्दै सौदाबाजी हुने गरेको भन्दै प्रनाउ थापाले यस्ता घटना मिलाउनेलाई समेत कानूनी दायरामा ल्याउन जिल्ला स्तरमा पहल भइरहेको वताउनुभयो ।

प्रनाउ थापाले मदिरा सेवनले समाजमा धेरै समस्या निम्त्याउने गरेको, बालविवाह फस्टाउँदा अनेक विकृति देखा पर्ने गरेकोतर्फ समाजका सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो । लागू पदार्थको दुब्र्यसन तथा साइबर अपराध नियन्त्रणमा समुदायले आफ्नो भूमिका पूरा गर्नुपर्नेतर्फ उहाँले सचेत तुल्याउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले नागरिक र सुरक्षा निकायवीचको सम्बन्धलाई प्रगाढ बनाउन सकेमात्रै अपराध न्यूनिकरण, विपत जोखिम न्यूनिकरण, शान्ति सुरक्षाको वहालीजस्ता काम सहज हुने भएकाले प्रशासनसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।

उहाँले युवा पुस्तामा धेरै समस्याहरु देखिएको भन्दै त्यसको निवारणमा सामूहिक प्रयास आवश्यक रहेको वताउनुभयो । प्रजिअ ढकालले सचेतनामुलक अन्तरक्रियालाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

तुम्बेवा गाउँपालिकामा आयोजित अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष धनप्रसाद साँवाले गाउँपालिकाका तीन वटा वडा अत्यधित सुक्खाग्रस्त रहेकाले जुनसुकै पनि डढेलोको जोखिममा रहेको वताउनुभयो । उहाँले गाउँपालिकाका कयौँ सर्वसाधारणको आर्थिक अवस्था अत्यन्तै कमजोर हुँदा यसबाट विभिन्न समस्याहरु सिर्जना हुने गरेको उल्लेख गर्नुभयो ।

तुम्बेवा–३ का वडाध्यक्ष कमल थापाले सुरक्षाकर्मी कम हुँदा आपराधिक कृयाकलाप नियन्त्रणमा कठिनाई परेको वताउनुभयो । सुरक्षाकर्मी थप गर्न माग गर्दै थापाले सुरक्षा सहितका सरकारी निकायहरुले आर्थिक विपन्नता झेलिरहेको गाउँपालिकालाई विशेष ध्यान र सहयोग गर्नुपर्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्